Edukhabar
आइतबार, ३१ चैत्र २०८१
गतिविधि

शिक्षक नेताहरु छलफलमा, वार्ताको वातावरण बनाउँदै

वार्तामा नबसि माग पुरा गराउने अड्डि कसेका शिक्षक नेताहरु माथि त्यतिखेर वार्ताको दबाब पर्यो जतिखेर प्रधानमन्त्रीले मन्त्री र सचिवहरुसँग छलफल गरे

मंगलबार, २६ चैत्र २०८१

काठमाडौं - शिक्षा मन्त्रालयले दोश्रो पटक वार्ताका लागि आह्वान गरेपछि शिक्षक नेताहरु छलफलमा जुटेका छन् । आन्दोलन शुरु भएको दोश्रो दिनमै गत चैत २१ गते मन्त्रालयले गरेको वार्ता आह्वानलाई वास्ता नगरेका शिक्षक नेताहरु अब भने वार्ताको पक्षमा देखिएका छन् । 

मन्त्रालयको आह्वानका विषयमा नेपाल शिक्षक महासंघको औपचारिक धारणा सार्वजनिक नभए पनि शिक्षक नेताहरु वार्ताको वातावरण बनाउन अनौपचारिक रुपमा सकृय भएका श्रोतले जनाएको छ । 

यस अघि शिक्षक नेताहरु वार्ताको औचित्य नभएको भन्दै सडक केन्द्रित भईरहेका थिए । वार्तामा नबसि माग पुरा गराउने उनीहरुको अड्डि थियो । तर,  शिक्षक नेताहरु माथि वार्ताको दबाब त्यतिखेर पर्यो जतिखेर प्रधानमन्त्री केपी ओलीले गरेको छलफलमा विना वार्ता माग पुरा गर्न नसक्ने मत व्यक्त भयो । सोमबार बेलुका प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिव छलफलमा जुटेका थिए । उक्त छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको थियो । 

त्यसको भोलीपल्ट शिक्षा मन्त्रालयले बुधबारका लागि वार्ता गर्न आमन्त्रण गरेको हो । उक्त वार्तामा शिक्षक कर्मचारीका विभिन्न घटकहरुको प्रतिनिधित्व गरी आउन भनिएको छ । त्यसैले शिक्षक नेताहरु छलफलमा जुटेका हुन् । 

'वार्ताका लागि सबैको प्रतिनिधित्व हुने गरी छरितो टोली बनाउने गृहकार्य भईरहेको छ' एक जना शिक्षक नेताले भने 'सडकमा वार्ताको औचित्य छैन भन्ने आवाज बलियो छ, त्यसलाई कसरी ट्याकल गर्ने भन्ने पनि यतिखेरको गम्भिर विषय बनेको छ ।' 

वार्ताको आह्वान भएपछि शिक्षक नेताहरुले आआफ्ना निकटका कार्यकर्तालाई सामाजिक सञ्जाल मार्फत् वार्ताको वातावरण बनाउन निर्देशन दिएका अर्का शिक्षक नेताले बताए । 

'विना वार्ता माग पुरा नहुने पक्का हो, तर सडकमा वार्ताको बोली सुन्नै नचाहने समूह बढेको छ त्यसैले आफ्ना माग लिपीवद्ध गर्न पनि वार्ता गर्नु जरुरी रहेको कुरा प्रचार गर्न भनिएको छ' उनले भने । 

प्रतिक्रिया