ललितपुर - प्रधानाध्यापक छनोटको प्रकृया शुरु नगरेका सामुदायिक विद्यालयलाई ललितपुर महानगरपालिकाले अविलम्ब प्रकृया शुरु गर्न ताकेता गरको छ । यस अघि नै प्रधानाध्यापक नियुक्ति गर्न भने पनि कतिपय विद्यालयले हालसम्म छनोटको प्रकृया नै अगाडि नबढाएको भन्दै महानगरले २१ दिन भित्र काम शुरु गर्न म्याद सहित ताकेता गरेको हो ।
विद्यमान कानून अनुसार सामुदायिक विद्यालयहरुमा योग्यतम् शिक्षकलाई प्रधानाध्यापक बनाउन प्रकृया शुरु गरेको महानगर शिक्षा महाशाखाका निर्देशक देवीप्रसाद उपाध्यायले बताए ।
'प्रधानाध्यापक छनोटका लागि यस अघि २०७९ सालमा सर्कुलर भएको रहेछ, त्यसलाई नै एक्टिभ गराईएको हो, २१ दिन भित्र काम शुरु गर्न भनिएको छ' उनले भने 'तोकिएको मापदण्ड र औपचारिक प्रकृया पुरा गरी शिक्षकको छनोट सहित विद्यालयबाट नाम प्राप्त भएपछि आवश्यक मूल्याँकन गरी अन्तिम रुप दिने काम बैशाख मसान्त भित्र सकिन्छ भन्ने अँकलन गरेका छौँ ।'
प्रधानाध्यापक हुन आवश्यक योग्यताका बारेमा विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमनका सम्वन्धमा बनेको शिक्षा कार्यविधि, २०७६ मा व्यवस्था गरिएको छ । उक्त कार्यविधिमा उल्लेख व्यवस्था अनुसार पालिका भित्र योग्य शिक्षकहरुको पर्याप्त संख्या रहेको उपाध्यायले बताए ।
कार्यविधिको परिच्छेद– ११ मा सामुदायिक विद्यालयका प्रधानाध्यापकको नियुक्ति तथा काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । प्रधानाध्यापक नियुक्तिका लागि सम्बन्धित तहमा कम्तीमा पाँच वर्ष स्थायी शिक्षकको रुपमा शिक्षण अनुभव भएको मध्येबाट विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेको शिक्षकलाई शिक्षा शाखाको सिफारिसमा महानगरीय शिक्षा समितिको निर्णय वमोजिम पाँच वर्षको लागि प्रधानाध्यापक नियुक्त गर्न सकिने व्यवस्था छ । यस अघि प्रधानाध्यापकले विद्यालय विकासको प्रस्ताव पेश गर्नु पर्नेछ र त्यसकै आधारमा पालिकाले कार्य सम्पादन सम्झौता गर्ने व्यवस्था छ ।
आधारभूत तहको कक्षा पाँचसम्मको विद्यालय भए कम्तीमा १२ कक्षा वा सो सरह उत्तीर्ण गरेको, आधारभूत तहको अन्य विद्यालय भए कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको शिक्षक प्रधानाध्यापक हुन पाउने व्यवस्था छ । यस्तै माध्यमिक तहको विद्यालय भए कम्तीमा स्नात्तकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको शिक्षक प्रधानाध्यापक हुन पाउँछ ।
यसरी नियुक्त हुने प्रधानाध्यापकले महानगरीय शिक्षा प्रमुखसँग पाँच बर्षे कार्य सम्पादन करार सम्झौता गर्नु पर्ने व्यवस्था छ । यसरी नियुक्त भएका प्रधानाध्यापकको आचरण खराब रहेमा, शिक्षा कार्यविधि विपरीतको कुनै काम गरेमा, कार्यसम्पादन सम्झौता बमोजिम काम गर्न नसकेमा वा उसको काम सन्तोषजनक नभएमा शिक्षा समितिको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले जुनसुकै बखत हटाउन सक्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।
विद्यालयमा शैक्षिक वातावरण, गुणस्तर र अनुशासन कायम राख्ने, विद्यालयका शिक्षक तथा कर्मचारीहरूसँग समन्वय गरी शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरू बिच पारस्परिक सहयोगको वातावरण सिर्जना गर्ने लगायतको जिम्मेवारी प्रधानाध्यापकको हुने कार्यविधिमा व्यवस्था छ ।
ललितपुर महानगरपालिका भित्र ४० सामुदायिक विद्यालय छन् । ती मध्ये २५ वटा माध्यमिक, १० वटा १ - ८ का आधारभूत र बाँकी पाँच वटा १ - ५ का आधारभूत विद्यालय छन् । महानगरभित्र दुई सय ५१ निजी विद्यालय छन् ।
प्रतिक्रिया