हिजोआज चलिरहेका शिक्षा सम्बन्धि बहस सुन्दा व्यक्तिगत रुपमा कुनै व्यक्तिलाई सरकारी विद्यालयको शिक्षक भएर यो जुनि वर्बाद गर्दैछु की जस्तो लाग्न सक्छ । आधारभुत रुपमा एउटा कुरा के स्विकार गर्नुपर्छ भने आजको मानव सभ्यताको जस वा अपजस समग्रतामा शिक्षालाई नै जान्छ । हिजो भन्दा आज मानव खत्तम भएको मान्नेहरुले शिक्षा प्रणाली नै दोषी मान्न सक्छन् । आजको वैज्ञानिक युगको उपलब्धिको श्रेय पनि शिक्षालाई नै जान्छ । नेपालको परिप्रेक्ष्यमा हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, र राजनीतिक गति लाई झन्झन् नराम्रो भैरहेको देख्नेहरुले सोचबिचार गरी बुझ्नु पर्ने कुरा नेपालको शिक्षा ब्यबस्थामा छ । यो कुरा स्पष्ट नभई गरिएका हरेक बहस पाखण्डी मात्रै हुन् ।
पहिलो प्रश्न संस्थागत विद्यालय (निजी) का अधिकाँश विद्यार्थीको जस्तै कक्षा १० र १२ को परीक्षामा ए प्लस ल्याउँदैमा सामाजिक सांस्कृतिक विकृति हटछ ? देशको आर्थिक अवस्था सुध्रिन्छ ? बेरोजगारी सिद्धिन्छ गरीबी सिद्धिन्छ ? राजनीतिक बेथिती र भ्रष्टाचार निर्मुल हुन्छ ? हुँदैन बरु यथार्थमा यि सबै समस्याको मुल कारण नै शिक्षाको यहि यान्त्रिक सोच हो ।
निजी लगानीमा चलिरहेको विद्यालय शिक्षाको प्रवृत्ति र अनुभव विश्लेषण गरौं । बैशाख देखी फागुनसम्म सुगा रटाइ गराएर केबल तीन घण्टा त्यहि ओकल्न लगाएर आएको नतिजा हैन ? त्यो विद्यार्थीले के पढदैछु र किन पढदैछु ? भन्ने पनि अनुभुत गर्न पाउँदैन । उसलाई केबल परीक्षामा १०० मा १०० नम्बर ल्याउनु पर्ने मात्र याद रहन्छ । न उसले कुनै सिप तथा ज्ञानको जिवन्तता बोध गर्छ न उसलाई जिवन बाँच्नु कुनै उत्सवमय अहोभाव लाग्दछ । क्षण प्रतिक्षण मानिस मेसीन बनिरहेको हुन्छ ।
अब प्रश्न उठछ यो कसरी र किन चलिरहेछ ? भबिष्यमा योग्य मान्छे बनोस्, शिक्षा आर्जन गरेर आफ्नो र उसको जीवन सहज बिताउने होस् भनेर एउटा अभिभावकले आफ्नो सन्तान पढाउँछ । जति धेरै मौद्रिक लगानी त्यति नै भबिष्यमा मौद्रिक प्रतिफलको आशा !
पेशा छनौट मानसिकता हेर्ने हो भने अधिकाँश अभिभावकको रोजाई भनेको डाक्टर, इञ्जिनियर, सरकारी प्रशासक वा व्यवसायी यस्तै यस्तै मात्रै हुन् । ती सबैका लागी निजी विद्यालय पास गरेको प्रमाणपत्रमा उल्लेख अंक नै चाहियो । यसकै उपज वृत्ति क्षेत्रमा पनि उसले मेसीन माइण्ड बनेर प्रमाणपत्रमा अब्बल निस्कनु पर्नेछ । लोक सेवा आयोग रटेर केहि शब्द ज्ञान तथा भाषिक क्षमता देखाउन सकेमा उ देशको सफल विद्यार्थी कहलिने ेछ । केबल पैसा, पद र प्रतिष्ठाका लागी अन्धो दौडमा उसलाई कुदाईएको छ । जसले न भ्रष्टाचार गरेको महशुस हुन्छ, न समाज र देशको परिस्थितीको चिन्ता नै । उसले केबल अमेरिका र युरोपको रंगीन सपना मात्रै बुझेको हुन्छ ।
अंक केन्द्रित उपलब्धि प्राप्त भएन भने नेपालमा जरा गाडेको अर्को प्रवृत्ति ः त्यस्ता विद्यार्थीको संलग्नता दलगत राजनीति । उल्लेखित जीवन वृत्तिमा लाग्न नसकेकाहरु दलगत राजनीतिक गतिविधिमा संलग्न हुन पुग्छन् । परिवर्तनको संवाहकको रुपमा आफूलाई उभ्याउँछन् । न हातमा कुनै सीप छ, न कुनै काममा संलग्न छ !
दोश्रो प्रश्न, के नेपालको शिक्षाको उद्देश्य यस्तै जनशक्ति उत्पादन गर्नु मात्रै हो त ? हैन भने कहाँ चुकिरहेको छ नेपालको शिक्षा प्रणाली ?
व्यवहारिक र रोजगारमुलक शिक्षा नारामा जबरजस्त उठिरहन्छ । विद्यार्थीको मार्कसिटमा सबै बिषयमा उच्चतम् अंक भएमा मात्रै भनिन्छः गुणस्तरीय शिक्षा तथा सफल शिक्षा ब्यवस्था । के त्यो विद्यार्थीलाई कुनै व्यवहारिक सिप आउँछ ? उसले कमाउन सक्छ वा भविष्यमा डाक्टर इञ्जिनियर बनेर मात्र त्यो सब हुन्छ ?
यस्तै वकवासले नेपाली युवाहरुको यो जुनि नै वर्बाद गरिरहेछ ।
तेश्रो प्रश्न, नेपालको शिक्षा क्षेत्र अन्तर्राष्ट्रिय प्रयोगशाला मात्र हो ? केहि समय अघि सम्म शिक्षाको एउटा अवधारणाले भन्यो कुनै पनि विद्यार्थीलाई फेल भन्न पाँईदैन । उसले जे जति गरेको छ त्यो मात्र देखाइ दिने हो, उसको आयु र समयलाई मास्न पाँईदैन । उसले भविष्यमा कँहि पनि केहि पनि गरेर सफल हुन सक्छ । वास्तवमा उत्तर आधुनिक चिन्तनको यो पक्ष राम्रै थियो । तर आफ्नो छोरा छोरीको क्षमतालाई अरुका छोरा छोरीसँग दाजेर मात्र हेर्ने नेपाली अभिभावकले विद्यार्थीले पढ्नै नपर्ने र शिक्षकले पढाउनै नपर्ने देख्न थाल्यो । अनि सरकारले कुनै न कुनै तरिकाले पास प्रतिशत त खोज्नै पर्यो । नत्र राजनीतिक दलका नेताहरुको अप्रत्यक्ष संलग्नतामा जारी विद्यालय शिक्षाको निजी लगानी त डुब्छ । निजी विद्यालय राम्रो कसरी देखाउने ? समस्या देखियो । फेरी प्रश्न उठ्यो होइन पास फेल त हुन्छ हुन्छ ।
वैज्ञानिकहरु भन्छन् हरेक मानिसको रुचि क्षमता सम्भावनाका क्षेत्रहरु भिन्न हुन्छन् । उनीहरुले सिक्ने, ग्रहण गर्ने, व्यवहार गर्ने सबै तौर तरिका फरक फरक हुन्छन् । त्यसो भए एउटा कक्षामा सबै विद्यार्थीलाई एउटा शिक्षकले एउटै तरिकाले सिकाएर सबै बिषयमा सबैले उत्तिकै अब्बल हुनु पर्ने कसरी हुन्छ ? त्यो पनि ३ घण्टामा कुनै छानिएका प्रश्नको उत्तर लेखेर कसरी थाहा हुन्छ ?
दश बर्ष पछिको समाजमा त्यसको कुनै पनि उत्कृष्ट अपेक्षीत फल आउनेवाला छैन । यो बेतुकको बेसुरा बाँसुरी बजाउन छोडेर अमेरिका युरोपमा अनस्कुलिङ, होमस्कुलिङको अवधारणामा लाखौँ मानिसहरु आई सकेका छन् । नेपालमा भने एउटा थोत्रे राग अलापिन्छः निजी स्कुलमा गुणस्तर उच्च, सरकारीमा किन कम भएको ?
सरकारी विद्यालयको तथाकथित गुणस्तर घट्नुको एउटै कारण शिक्षक हो भनि मानिएको छ । त्यो पनि निजी क्षेत्रको लगानीको प्रोपोगण्डा नै हो ।
विद्यार्थीलाई रटाउने मामलालाई गुणस्तर मान्दा पनि सरकारीले किन रटाउन सकेनन् भन्ने होला ? त्यसो भए एकचोटी सरकारी र निजी विद्यालयका पुरै शिक्षक साटेर हेरौँ न त ? के हुन्छ । वास्तवमा कुरा के हो भने सरकारी विद्यालयमा ति मानिसहरुले पढाउँछन् जसले महंगो फी तिर्न सक्दैनन् । शिक्षामा लगानी गर्दैनन् । अतः मार्कसिटमा नम्बर पाउँदैनन् ! सरकारी शिक्षकले पनि आफ्ना सन्तान निजी मै पढाइरहेका हुन्छन् । साँझ घर गएर आफ्ना छोरा छोरीलाई होमवर्क रटाउँछ भोलीपल्ट आफ्ना कक्षाका बालबालिकाको होमवर्क हेर्दैनन् । किन की उसको विद्यार्थी त्यो अवधारणाबाट नै मुक्त छ । अभिभावक भन्छ होमवर्क गराउन सक्ने भए त बोर्डिङ पढाउँथे नि !
यो सारा खेल उदारपुँजीवाद र समाजवाद नामको जाँतोका दुइ ढुंगाको पिसाइको हो । सरकार एकातिर निःशुल्क शिक्षा भन्छ अर्कोतिर सरकारमा रहेका राजनीतिकदलका नेताहरु निजी लगानिकर्ताको मुनाफा संरक्षणको जिम्मा लिन्छन् । निजी विद्यालय भन्दा सरकारी विद्यालय राम्रा भएमा के पुँजीपतीहरुले राजनिति चल्न दिन्छन त ? नेताहरुको रोटी के ले सेक्नु ?
सार्वजनिक शिक्षाको यो दुरावस्था यस्तै गुणस्तरको फोस्रो पाखण्डले गर्दा भएको हो । एउटा फरकधारको विचार त के हो भने सिकाइको प्राकृतिक सिद्धान्त अनुसार हरेकले जहाँ जसरी जे सिक्न चाहन्छ जे गर्न चाहन्छ पुर्ण स्वतन्त्रता दिनु पर्छ । उसले गरेको कामको आधारमा उसको अव्बलता आँफै देखिन्छ । एउटा कागजको पानामा शिक्षाको गुणस्तर नहेरौँ ।
बुढाऐर, श्री पदम पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालय सिलगढी, डोटीका शिक्षक हुन् ।
प्रतिक्रिया