Edukhabar
बुधबार, १३ चैत्र २०८१
गतिविधि

दुई विद्यालय र एक पत्रकारलाई १० लाख रुपैंयाको पुरस्कार प्रदान

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं - मोरङ र सिन्धुलीका दुई सामुदायिक विद्यालय र एक पत्रकारलाई १० लाख रुपैंयाको पुरस्कार प्रदान गरिएको छ । पुरस्कार पाउनेहरु मध्ये पहिलो विधाको सामुदायिक विद्यालय मध्येबाट मोरङ विराटनगरको पोखरिया स्थित पोखरीया माध्यमिक विद्यालयले पाँच लाख, दोस्रो विधा तर्फ  कृषि प्राविधिक धार अन्तर्गतको सामुदायिक विद्यालय मध्ये सिन्धुलीको कमलामाई स्थित फुस्रेटारको जनज्योती माध्यमिक विद्यालयले तीन लाख र तेस्रो विधा अन्तरगत गोरखापत्रका पत्रकार प्रकृति अधिकारीलाई दुई लाख रुपैंयाको पुरस्कार प्रदान गरिएको हो ।  

मोरङको कटहरी स्थित जीवन विकास समाजले हरेक दुई बर्षमा प्रदान गर्ने दिगो विकासका लागि जीवन विकास पुरस्कार - २०८१ मंगलबार एक कार्यक्रमका बिच पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरिन् । 

यस अघि पुरस्कारका लागि आवेदन हाल्न  समाजले सार्वजनिक विज्ञापन गरेको थियो । प्राप्त आवेदनहरु र स्थलगत अवलोकनबाट प्राप्त अँङ्कका आधारमा तीन विधाका संस्था र व्यक्ति छनोट गरिएको पुरस्कार निर्देशक समितिका सदस्य सचिव ओम शर्मा चापागाईले जानकारी दिए । पुरस्कृत संस्था र व्यक्ति छनोटका लागि संस्थाले काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको जनाईएको छ । प्राप्त आवेदनहरुलाई उक्त समितिले मापदण्ड तय गरि मुल्याँकन गरेको शर्माले दावी गरे । 

समाजले सन् २०१७ मा प्राप्त गरेको ३ लाख अमेरिकि डलरको पुरस्कार राशीमा अपुग रकम आन्तरिक रुपमा थपी छ करोड रुपैंया बराबरको दिगो विकास कोष २०७६ स्थापना गरेको छ ।  दि अरब गल्फ प्रोग्राम फर डेभलपमेण्ट एजीफण्डले नेपालमा गुणस्तरीय शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै समाजलाई पुरस्कृत गरेको थियो । तत्कालीन शिक्षा मन्त्री गिरीराजमणी पोखरेलबाट कोषको घोषणा गरी समाजले हरेक दुई बर्षमा पुरस्कार वितरण गर्दै आएको छ । 

झण्डै तीन दशक अघि स्थापना भएको समाजले शिक्षा क्षेत्रमा सरकारसँगको सहकार्यमा विभिन्न कार्य गर्दै आएको छ । शिक्षा सहित स्वास्थ्य र कृषि क्षेत्रमा पनि समाजले विभिन्न कार्य गर्दै आएको छ । 

पुरस्कार वितरण कार्यक्रम संघीय सांसद एवम् जीवन विकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र मण्डलको अध्यक्षतामा भएको थियो । 

प्रतिक्रिया