Edukhabar
बुधबार, १३ चैत्र २०८१
गतिविधि

शिक्षाका तीन विधामा १० लाखको पुरस्कार वितरण गरिदैं

उत्कृष्ट सामुदायिक विद्यालयलाई पाँच लाख रुपैंया, कृषि व्यवसायिक धारमा सञ्चालित सामुदायिक विद्यालयलाई तीन लाख रुपैंया र शिक्षा क्षेत्रमा कृयाशिल पत्रकारलाई दुई लाख रुपैंयाको पुरस्कार

सोमबार, ११ चैत्र २०८१

काठमाडौं - उत्कृष्ट सामुदायिक विद्यालय, कृषि व्यवसायिक धारमा सञ्चालित सामुदायिक विद्यालय र शिक्षा क्षेत्रमा कृयाशिल पत्रकार गरी तीन विधामा १० लाख रुपैंया बराबरको पुरस्कार वितरणको मिति तय गरिएको छ । मोरङको कटहरी स्थित जीवन विकास समाजले प्रदान गर्ने उक्त पुरस्कार मंगलबार काठमाडौमा एक कार्यक्रमका बिच वितरण गरिने समाजले जनाएको छ । 

उत्कृष्ट सामुदायिक विद्यालयलाई पाँच लाख रुपैंया, कृषि व्यवसायिक धारमा सञ्चालित सामुदायिक विद्यालयलाई तीन लाख रुपैंया र शिक्षा क्षेत्रमा कृयाशिल पत्रकारलाई दुई लाख रुपैंयाको पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । 

यस अघि पुरस्कारका लागि आवेदन हाल्न  समाजले सार्वजनिक विज्ञापन गरेको थियो । प्राप्त आवेदनहरु र स्थलगत अवलोकनबाट प्राप्त अँङ्कका आधारमा तीन विधाका संस्था र व्यक्ति छनोट गरिएको पुरस्कार निर्देशक समितिका सदस्य सचिव ओम शर्मा चापागाईले जानकारी दिए ।

पुरस्कृत संस्था र व्यक्ति छनोटका लागि संस्थाले काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको जनाईएको छ । प्राप्त आवेदनहरुलाई उक्त समितिले मापदण्ड तय गरि निष्पक्ष मुल्याँकन गरेको शर्माले दावी गरे । 

समाजले सन् २०१७ मा प्राप्त गरेको ३ लाख अमेरिकि डलरको पुरस्कार राशीमा अपुग रकम आन्तरिक रुपमा थपी छ करोड रुपैंया बराबरको दिगो विकास कोष २०७६ स्थापना गरेको छ ।  दि अरब गल्फ प्रोग्राम फर डेभलपमेण्ट एजीफण्डले नेपालमा गुणस्तरीय शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै समाजलाई पुरस्कृत गरेको थियो । तत्कालीन शिक्षा मन्त्री गिरीराजमणी पोखरेलबाट कोषको घोषणा गरी समाजले हरेक दुई बर्षमा पुरस्कार वितरण गर्दै आएको छ । 

झण्डै तीन दशक अघि स्थापना भएको समाजले शिक्षा क्षेत्रमा सरकारसँगको सहकार्यमा विभिन्न कार्य गर्दै आएको छ । शिक्षा सहित स्वास्थ्य र कृषि क्षेत्रमा पनि समाजले विभिन्न कार्य गर्दै आएको छ । यस बर्षको पुरस्कार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वितरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया