Edukhabar
आइतबार, १० चैत्र २०८१
विचार / विमर्श

कक्षाकोठामा समावेशीकरण

समावेशी शिक्षाका क्षेत्रमा स्थानीय तथा राष्ट्रिय स्तरमा अनुसन्धान गरेर आफ्नै खालका नमूनाहरु विकास गरी कार्यान्वयन गर्नु पर्छ ।

शनिबार, ०९ चैत्र २०८१

शिक्षालाई विश्वव्यापी मानव अधिकारको रुपमा सन् १९४८ देखि स्वीकार गरिएको हो । समावेशी शिक्षाको अवधारणा सन् १९९४ मा स्पेनको सालामांका सम्मेलनदेखि व्यापक भएको हो ।

नेपालको संविधान २०७२ मा शिक्षालाई नागरिकको मौलिक हक अन्तर्गत समावेश गरिएको छ । वर्तमान संविधानले प्रत्येक नेपाली नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ । शिक्षालाई अधिकारका रुपमा संस्थागत विकास गर्न शिक्षण सिकाइमा समावेशी (Inclusive) र समन्यायिक (Equitable) उपागमहरुको अवलम्बन गर्नु आज अपरिहार्य बनेको छ ।

दृष्टिविहिन, बहिरा, सुस्त श्रवण, आदि शारीरिक अपाङ्गता र अटिज्म, सुस्त मनस्थिति, आदि मानसिक तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई नियमित शैक्षिक पद्दतिमा दिइने शिक्षा नै समावेशी शिक्षा हो । यसैगरी, आर्थिक, सामाजिक तथा भौगोलिक कारणले पछाडि पारिएका व्यक्तिहरुलाई बिना भेदभाव शिक्षा दिनु राज्यको दायित्व हो । 

शैक्षिक संस्थाहरुमा समावेशीकरण एक विश्वव्यापी मुद्दा बनेको छ । यस्ता शैक्षिक संस्थाहरुले सबै समूहहरुका सिकारुहरु, जो ऐतिहासिक रुपमै सीमान्तीकृत छन्, तिनीहरुको सहभागिता र व्यापक शैक्षिक उपलब्धिहरु बढाउने नीति र कार्यक्रमलाई अभ्यास गर्नुपर्दछ  (Ainscow, Booth and Dyson,2006, P. 295)  शिक्षामा समावेशी (Inclusive), समावेशीकरण (Inclusion ), समावेशिता (Inclusivity) वा समावेशीपना (Inclusiveness) आदि पदहरु समानार्थी रुपमा उपयोग गरिन्छन्न् ।

जस्तैः समावेशी शिक्षा, समावेशी पाठ्यक्रम, आदि । समावेशीकरणको अवधारणालाई यदाकदा फरक पदावलीमा पनि व्यक्त गरिन्छ । जस्तो कि शिक्षामा विविधता (Diversity in Education), पहुँचगम्य शिक्षा (Accessible education), समतामूलक शिक्षा (Equitable Education) आदि ।

हकिङ्गसको भनाइ अनुसार समावेशी शिक्षण सिकाइ अन्तर्गत शिक्षण विधि, पाठ्यक्रम र मूल्याङ्कन यसरी निर्माण गरिएका हुन्छन् कि जुन सबै विद्यार्थीको सिकाइमा सार्थक, सान्दर्भिक र पहुँचगम्य हुन्छन्  - “Inclusive learning and teaching … refers to the ways in which pedagogy, curricula and assessment are designed to engage students in learning that is meaningful, relevant, and  accessible to all” -Hockings, 2010, P.1. 

कक्षाकोठा व्यवस्थापनमा समावेशीकरण

विद्यालयको कक्षाकोठा शिक्षण सिकाइ क्रियाकलापको प्रमुख र प्राथमिक स्थल हो । कक्षाकोठाको व्यवस्थापन गर्दा समावेशी नीति र रणनीतिहरु अपनाउनुपर्छ । विद्यालयको कक्षाकोठामा सबै क्षेत्र, वर्ग, धर्म, लिङ्ग भाषाभाषी र समुदायका बालबालिकाहरुलाई भय र विभेद रहित वातावरणमा समानताका आधारमा शिक्षा प्रदान गर्ने व्यवस्थापन गर्नुलाई कक्षाकोठामा समावेशीकरण भनिन्छ । यसरी, विद्यालयको कक्षाकोठामा सबैका लागि अपनत्व कायम हुने गरी रोचक र सहज वातावरणमा शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्नु पनि समावेशीकरणको महत्त्वपूर्ण पक्ष हो ।

सबै विद्यार्थीको विविधताको सम्बोधन र कदर गरी कक्षाकोठालाई समावेशी बनाउन विद्यालय तथा शिक्षकले निम्न लिखित पक्षमा ध्यान दिनुपर्छः

१। कक्षाकोठालाई पूर्ण बालमैत्री बनाउने,

२। सबै बालबालिकालाई सिकाइ क्रियाकलापमा सहभागी हुन सक्ने बसाई व्यवस्थापन गर्ने,

३। कक्षाका कार्यहरुमा सबै बालबालिकाहरुलाई समान रुपमा भाग लिन पाउने प्रबन्ध गर्ने,

४। कक्षाकोठाका नियमहरु सबैलाई समान र एकनासले लागू गर्ने,

५। शैक्षणिक सामग्रीहरु सबै विद्यार्थीको रुचि, क्षमता अनुसार निर्माण र प्रयोग गर्ने,

६। कक्षाकोठामा प्रकाश, हावा, बिजुलीबत्ती, रंगरोगनको उचित व्यवस्था गर्ने,

७। विद्यालयका सबै गतिविधिहरुमा सबै बालबालिकाहरुलाई समान अवसर प्रदान गर्ने,

८। विद्यालयमा उपलब्ध सेवा सुविधाहरु सबै बालबालिकाहरुलाई समान र पारदर्शी ढंगले वितरण गर्ने,

९। बालबालिकाहरुको शारीरिक, बौद्दिक तथा मानसिक अवस्था अनुसार विविध क्रियाकलापहरु सञ्चालन गर्ने,

१०। विद्यालयका विविध कार्यहरुमा सबै बालबालिकाहरुको समान प्रतिनिधित्व गराउने, आदि।

शिक्षण सिकाइमा समावेशीकरण

विद्यालय समाज र समुदायको प्रतिबिम्ब हो । समुदायको विविधता विद्यालयको कक्षाकोठामा झल्किनु स्वभाविक हो । तसर्थ, विद्यार्थीको विविधताको सम्मान गर्दै शिक्षण सिकाइ सहजीकरण प्रक्रियामा  समावेशीकरण अवलम्वन गर्नु अत्यावश्यक छ ।
सी. हकिङ्गसका अनुसार समावेशी शिक्षण सिकाइका चार प्रमुख अवयव वा पक्षहरु हुन्छन् :

१। समावेशी पाठ्यक्रम ढाँचा (Inclusive  Curriculum Design)

२। समावेशी पाठ्यक्रम कार्यान्वयन (Inclusive Curriculum Delivery)

३। समावेशी मूल्यांकन (Inclusive Assessment) र

४। संस्थागत प्रतिवद्धता र व्यवस्थापन (Institutional Commitment and Management)

समावेशी पाठ्यक्रमको विकासका निम्ति सिकाइको विश्वव्यापी ढाँचा अपनाउनु उचित हुन्छ । यो ढाँचा अनुसार विद्यार्थीको विविधताको सम्मान गर्दै सिकाइमा लचकता र सिकाइका  अवसरहरुको विशेष व्यवस्थापन कार्य पर्दछ । शिक्षकको पेशागत विकासमा समावेशीकरण सम्बन्धी तालिम, शिक्षकको अनुभव, विद्यार्थी क्रियाकलापमा संलग्नता, आदिले यस प्रक्रियामा भूमिका खेल्दछन् । साथै, पाठ्यक्रमको विधाहरु र तिनका विषयवस्तुहरु (Content) र मिमांसा (Epistemologies) ले पनि समावेशीकरणको औचित्यता र समता (Justice and Equity) लाई मलजल गर्दछ ।

छात्रा, अपाङ्ग बालबालिका, विभिन्न वर्ग, समुदाय र फरक क्षमता भएका बालबालिकाहरुलाई समान व्यवहार र उनीहरुको सिकाइ क्षमताका आधारमा विविध क्रियाकलाप सहित शिक्षण गर्नु शिक्षण सिकाइ प्रक्रियामा समावेशीकरण हो । सबै बालबालिकाहरुलाई सिकाइ प्रक्रियामा समावेशीकरण गर्ने केही उपायहरु निम्न लिखित छन् :

१। सबै बालबालिकाहरुको मष्तिष्क खाली हुन्छ र उपयुक्त वातावरणमा सबै बालबालिकाहरुले समान ढंगले सिकाइ हासिल गर्न सक्छन् भन्ने मान्यता अनुसरण गर्ने,

२। सबै बालबालिकाहरुलाई विषयवस्तु सम्बन्धी जिज्ञासा राख्ने, छलफलमा सहभागी हुने र प्रतिक्रिया व्यक्त गर्ने समान अवसर दिने,

३। बालबालिकाहरुको वैयक्तिक क्षमताको कदर गर्दै सबैलाई क्षमता अनुरुप सिकाइ प्रक्रियामा समावेश गराउने,

४। व्यक्तिगत शिक्षण, समूहगत शिक्षण र उपचारात्मक शिक्षण आदि विधिको अवलम्बन गर्ने,

५। कक्षा कार्य, गृहकार्य तथा अन्य क्रियाकलापहरु सबै बालबालिकाहरुको क्षमता, अवस्था र रुचि अनुसार गराउने,

६। विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन तथा आत्म विश्वास, परिश्रम, लगनशीलता, आदि गुणहरुको विकास गराउने गतिविधिहरु सञ्चालन गर्ने आदि।

शिक्षण सिकाइमा समावेशीकरण र समता (Inclusion and Equity) का सवालमा हालैका वर्षहरुमा विश्वका धेरै विद्वानहरु र शिक्षाविद्हरुले खोज अनुसन्धान गरेका छन् । उनीहरुले शिक्षामा सहभागिता अभिवृद्धि गर्ने, अपांगता भएका विद्यार्थीको सापेक्षित पहुँच बढाउने, समावेशी शिक्षण रणनीतिहरुको प्रयोग गर्ने विषयमा आफ्ना अभिमत व्यक्त गरेका छन् ।  

विद्यार्थी मूल्यांकनमा समावेशीकरण

गुणस्तरीय शिक्षा तथा प्रभावकारी शिक्षणको मापन वा लेखाजोखाको एक सूचक विद्यार्थी मूल्याङ्कन पनि हो । शिक्षण सिकाइ प्रक्रियासँगै विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन निरन्तर रुपमा निर्माणात्मक मूल्याङ्कन पद्दति अपनाउनु पर्दछ । सबै परीक्षा र मूल्याङ्कनमा सबै खालका विद्यार्थी सहज र समान ढंगले समावेश हुने वातावरण तयार गर्नु पर्दछ ।

अनुसन्धानबाट के पुष्टि भएको छ भने सबै विद्यार्थीका लागि यथार्थ र निष्पक्ष मूल्याङ्कन गर्नु एक चुनौतीपूर्ण कार्य हो । परम्परागत वर्तमान मूल्याङ्कन प्रणाली अपाङ्गता भएका र शैक्षिक रुपमा कमजोर सपाङ्ग विद्यार्थीका लागि उस्तै प्रकृतिको छ । समावेशी मूल्याङ्कनका लागि विद्यमान मूल्याङ्कन प्रक्रियामा लचकता र वैकल्पिक विधिहरु अपनाई सुधार गर्नु पर्दछ । यसैगरी, पर्याप्त निर्माणात्मक अभ्यासहरु तथा सामयिक पृष्ठपोषण प्रदान आदि विद्यार्थी सहायता प्रणालीबाट समेत समावेशी मूल्याङ्कनलाई व्यवहारिक बनाउन सकिन्छ । 

विद्यालयमा समावेशी मूल्याङ्कन प्रणाली अवलम्बन गर्न नसक्दा शैक्षिक क्षति बढ्न गई शैक्षिक गुणस्तरमा असर पर्न गएको छ । मूल्याङ्कनमा समावेशिकरणलाई सफलीभूत बनाउन निम्न लिखित पक्षमा ध्यान दिनु उपयुक्त हुन्छ :

१। विद्यार्थीको वैयक्तिक विभिन्नता र विविधताका आधारमा प्रश्नपत्र निर्माण गर्ने,

२। सबै विद्यार्थीको कमी कमजोरी पत्ता लगाई उपचारात्मक शिक्षण गर्ने,

३। सबै विद्यार्थी समान सहभागी हुन सक्ने मूल्यांकन कार्य सञ्चालन गर्ने,

४। विद्यार्थीलाई भेदभावरहित, न्यायपूर्ण र निष्पक्ष ढंगले मूल्यांकन गर्ने,

५। उच्च क्षमताका विद्यार्थीलाई प्रोत्साहन र कमजोर विद्यार्थीलाई उत्प्रेरित गर्ने,

६। निरन्तर मूल्यांकन र सिकाइका लागि मूल्यांकन प्रक्रिया अपनाउने,

७। सम्पूर्ण विद्यार्थीलाई समान ढंगले पृष्ठपोषण र मार्गदर्शन प्रदान गर्ने,

८। परीक्षा बाहेक मूल्यांकनका विविध साधनहरुको उपयोग गर्ने,

९। अपांगता भएका विद्यार्थीलाई परीक्षामा थप समय उपलब्ध गराउने आदि।

समावेशी मूल्याङ्कनका पक्ष र विपक्षमा उत्तिकै तर्क वितर्क प्रस्तुत भएको पाइन्छ । यसका पक्षधर विद्वानहरुले समावेशी मूल्याङ्कन अभ्यासलाई शैक्षिक गुणस्तरको द्योतकका रुपमा लिन्छन । जुन सबै खालका विद्यार्थीका लागि प्रभावोत्पादक छ । यस्तो मूल्याङ्कन अभ्यासले शिक्षामा पहुँचगम्यता (Accessibility) र प्राज्ञिक मानकहरु (Academic standards) कायम राख्दै बर्षौं देखि सबैको चासो र चिन्ता बनेको समावेशीकरणलाई सवल बनाउने आशाप्रद सम्भाव्यता व्यक्त गर्दछन् ।

यसको विपरीत, समावेशी मूल्याङ्कन अभ्यासहरुले प्राज्ञिक मापदण्ड र शैक्षिक गुणस्तर एवम् मूल्यमा ह्रास ल्याउने चिन्ता गरिएका छन् । समावेशीकरणको मूल्य र महत्त्वलाई यथोचित ध्यान दिदैं विद्यमान मानक स्तर र अभ्यासहरु सँगसँगै समावेशी शिक्षण सिकाइ तथा मू्ल्याङ्कन विधि र प्रविधिको अवलम्बन गर्नुपर्ने मान्यता पनि बढ्दैछ ।   

निष्कर्ष

शैक्षिक समावेशीकरणको लक्ष्य सफलता पूर्वक प्राप्तिको निम्ति विद्यार्थी, शिक्षक, शिक्षाविद् तथा  प्रशासकहरुबीच सहकार्य र समन्वय गर्नु आवश्यक छ । समावेशी शिक्षा एक बहुपक्षीय वा बहुआयामिक चुनौतीका रुपमा देखापरेको छ । हकिङ्गसद्वारा प्रतिपादित शिक्षामा समावेशीकरणका चार आधारभूत अवयवहरुलाई हृदयङ्गम गरी व्यवहारमा उतार्न सके यो चुनौतीलाई सामना गर्न सकिन्छ । 

अर्को तिर, समावेशी शिक्षण सिकाइ, समावेशी मूल्याङ्कन र व्यवस्थापनका बीचमा प्रणालीगत रुपमा (नीतिगत र अभ्यास दुबैमा) समन्वयको अभाव देखिन्छ ।

समावेशी शिक्षाका क्षेत्रमा स्थानीय तथा राष्ट्रिय स्तरमा अनुसन्धान गरेर आफ्नै खालका नमूनाहरु विकास गरी कार्यान्वयन गर्नु पनि अत्यावश्यक छ ।

समावेशी शिक्षा एक विश्वव्यापी अभियान हो, जसको लक्ष्य विभिन्न प्रकृतिका अवरोधहरुलाई पन्छाउँदै शैक्षिक सहभागिता र सफलता अभिवृद्धि गर्नु हो । राष्ट्रको विकास र समृद्धिको अवस्था अनुसार समावेशीकरणको परिभाषा र प्रभावकारिता व्यापक मात्रामा फरक पर्न सक्छ । तसर्थ गोस्र्कीको तर्क छ कि कुनै राष्ट्रको आर्थिक, सामाजिक तथा राजनीतिक स्थितिले गर्दा त्यहाँ शिक्षा पूर्णतः समान (Equal) र समावेशी (Inclusive) हुनै सक्दैन । किनकि संरचनात्मक तथा परम्परागत शक्तिले सामाजिक असन्तुलन पैदा गर्दछ ।
शैक्षिक समावेशिकरण नै सामाजिक, शैक्षिक तथा राजनीतिक विकासको संवाहक हो । जसले यथास्थितिबाट फड्को मार्न अद्भूत रुपमा भूमिका खेल्दछ । यसको निम्ति संस्थागत प्रतिवद्धता र कुशल व्यवस्थापन (नीति र कानूनको निर्माण तथा अभ्यास) को जरूरत पर्दछ । 

राउत ,आदर्श माध्यमिक विद्यामन्दिर, खाँदबारी ८, संखुवासभाका शिक्षक हुन् । 

प्रतिक्रिया