Edukhabar
शुक्रबार, १५ चैत्र २०८१
गतिविधि

हाम्रो पढाइ दुनियाँमा प्रतिष्पर्धा गर्नै नसक्ने खालको छैन : प्रधानमन्त्री

यहाँ केही हुँदैन भन्ने हिनताबोध र नकारात्मक सोचको प्रभावमा नपर्न आग्रह

विहीबार, ०७ चैत्र २०८१
फाईल फोटो

काठमाडौं - नेपालको पढाईको स्तर दुनियाँमा प्रतिस्पर्धा गर्न नसक्ने खालको नभएको प्रधानमन्त्री केपी ओलीले दावी गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सांसद भगवती चौधरीले सोधेको प्रश्नको उत्तर दिदैं उनले  यहाँ केही हुँदैन भन्ने हिनताबोध र नकारात्मक सोचको प्रभावमा नपर्न आग्रह गर्दै विदेशमा हुने पढाई सहुलियत शुल्कमा नेपालमै पढ्न पाईने दावी गरे । यहीँ अवसर छ भने पनि बाहिर जाने प्रवृत्ति राम्रो हैन भन्ने कुरा नयाँ पुस्तालाई सिकाउनु पर्ने बताउँदै उनले नेपालको पढाईको स्तर दुनियाँमा प्रतिस्पर्धा गर्न नसक्ने खालको नभएको दावी गरे । 

'हाम्रो देशको पढाइ त्यस्तो नराम्रो अथवा दुनियाँमा प्रतिष्पर्धा गर्नै नसक्ने खालको छैन । फि स्टक्चर अन्त कहीं भन्दा सस्तो छ । बाहिर गएर यहाँको भन्दा ठूलो शुल्क तिरेर खर्च गरेर पढ्नुु पर्ने हुन्छ' उनले भने 'यहाँ त्यही शिक्षा, त्यसै लेवलको, त्यही कोर्ष पढ्न बाहिर जानुु हुँदैन । त्यही कुरा हामीले नयाँ पिँढीलाई सुशिक्षित गर्न जरुरी छ ।'

नेपालमा कलेज पढेका विद्यार्थीहरुले दुनियाँका कलेजहरुमा प्रतिष्पर्धा गरेका स्मरण गर्दै उनले राम्रो नतिजा पनि ल्याएको पनि बताए । 

'पढाइ अत्यन्तै कमजोर छ भन्ने मात्रै होइन, हामीले आफूलाई जसरी पनि एउटा हिनताबोधी ग्रन्थीमा राखिरहनुु पर्ने अथवा आफ्नो उपलब्धिलाई न्युन देखाउनुु पर्ने पनि आवश्यकता पनि हुँदैन' उनले भने 'बाहिर जाने प्रवृत्ति अथवा बाध्यता र परिस्थितिलाई रोक्नका लागि सरकार गम्भीर छ । विभिन्न प्रकारका कार्यक्रमहरु ल्याइराखेको छ ।' 

देशमा बस्नु गौरवको विषय हैन विदेश जानु गौरव हो भन्ने भाष्यले कलिलो मस्तिष्कमा देश प्रति नैराश्यता फैल्याईएको उनको तर्क छ । अहिले युवाहरुलाई रोजगारीको मात्रै होइन, उद्यमशीलताको कुरा गरिरहेको बताउँदै उद्यमशील हुन सिकाइरहेको, उद्यमशील हुन मद्दत गरिरहेको दावी गरे । 

'अहिले संसार साँघुरो बनेको छ व्यवसाय रोजगारीका लागि विदेश जाने शिलशिला हुन्छ त्यसलाई बलजफ्ति रोक्न सक्दैनौं उनले भने बाहिर अध्ययनका लागि जाने कुराले युवाको प्रतिष्पर्धि क्षमता पनि बढाएको छ' उनले भने 'अध्ययनका लागि बाहिर जानु नपर्ने परिस्थिती सृजना गर्ने काममा सरकार लागि राखेको छ ।' 

बजेट बनाउने क्रम शुरु भएको बताउँदै उनले कुनै पनि क्षेत्र पछाडी नपर्ने गरी सरकारले काम गरिरहेको उनले बताए । युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई व्यवसायलाई प्रोत्साहन गरिएको बताउँदै उनले सहुलियत व्याजदरमा यसै वर्ष कम्तिमा पाँचसय जना उद्यमीलाई स्टार्टअप कर्जा प्रवाह गर्ने कार्यक्रम रहेको बताए । 

यस अघि ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम औचित्यहीन भएको जिकिर गर्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले कार्यसूचीबाट हटाउन आग्रह गरेका थिए । सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआउनुले सिंगो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको उनको तर्क थियो ।

प्रतिक्रिया