काठमाडौं - मकवानपुरको मनहरी गाउँपालिकाले लामो समय शिक्षण पेसामा आवद्ध भई अवकाश लिन चाहने शिक्षकलाई लक्षित गरी शिक्षक स्वर्णिम अवकाश कार्यक्रम ल्याएको समाचार छ । लामो समयदेखि शिक्षण पेसामा आवद्ध रहेका शिक्षकलाई अवकाशको लागि प्रोत्साहित गर्न पालिकाले यो कार्यक्रम ल्याएको गोरखापत्रमा समाचार छ । यो कार्यक्रममा सहभागी हुने शिक्षक, कर्मचारीले दुई लाख ५० हजार रुपियाँसम्म प्रोत्साहन रकम पाउने समाचारमा उल्लेख छ ।
शिक्षण पेशामा लामो समय रहँदा नयाँपन नरहने जाँगर घट्ने, शिक्षणका नयाँ शैली र नवीन प्रविधिसंग एकाकार हुन गाह्रो पर्ने हुन्छ । यसले बालबालिकाको सिकाइलाई कमजोर बनाउने हुन्छ । त्यसैले शिक्षणमा थकाइ लागेका शिक्षकलाई यस्ता कार्यक्रम मार्फत अवकाश लिने अवसर दिनु वाञ्छनीय हुन्छ । यसले नयाँ जोसजाँगर र ज्ञानसीप भएका शिक्षक ल्याएर बालबालिकाको सिकाइस्तर उकास्ने अवसर दिन्छ । संविधानले नै विद्यालय शिक्षा स्थानीय सरकारको जिम्मा दिए पछि आफ्नो पालिकामा विद्यालय तहको शिक्षा सुधारका लागि के समस्या छन् र कस्तो कार्यक्रम ल्याउनु पर्छ भनेर मनहरीले पालिकाले अग्रसरता लिएको देखिन्छ । यस कार्यले अन्य पालिका पनि उत्प्रेरित हुन सक्ने देखिन्छ । यसको अर्को महत्वपूर्ण पक्ष भनेको सङ्घीयताको विशेषता उजागर हुनु हो । सरकारले यस्तो निर्णय लिन निकै विचार गर्नुपर्ने हुन्छ । तर एउटा पालिकाले पालिका तहमा निर्णय लिँदा त्यति ठूलो असर पनि पर्देन ।
मकवानपुरको कैलाश गाउँपालिकाले भौगोलिक रुपमा विकट स्थानका एसईईका परीक्षार्थीलाई निःशुल्क आवास र खानाको व्यवस्था गर्न लागेको समाचार छ । त्यस्तै एसइईमा काभ्रेपलाञ्चोकमा १५ प्रतिशत विद्यालयबाट १० जना भन्दा कम विद्यार्थी मात्र सहभागी हुने समाचार छ । सामुदायिक र संस्थागत गरी दुई सय १६ वटा मध्ये ३२ वटा विद्यालयबाट नियमिततर्फ १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुने समाचारमा उल्लेख छ ।
विद्यालय शिक्षा विधेयकबारे प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत पुसमा ७ वटै प्रदेश पुगेर सुझाव लिए पनि समितिमा विधेयकको दफावार छलफल अझै अगाडि नबढेको समाचार छ ।
विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले गर्दै आएको चरणबद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको समाचार छ । महासंघले दबाब दिन मुख्य राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिएको समाचार छ । साथै धर्ना कार्यक्रम पछि रिले अनसनमा जाने र चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी महासंघले दिएको समाचार छ । शिक्षक महासंघको आन्दोलनका बारेमा प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरुले कुरो उठाएको समाचार छ ।
नेहा केसीले अनलाइन खबरमा एसईई परीक्षाका बेला विद्यार्थीले कसरी राम्रो अंक हासिल गर्ने भन्ने ध्याउन्नमा खान र सुत्न पनि छाडेर तनाव लिने र तनाव सही ढंगले व्यवस्थापन गर्न नसक्दा जटिल अवस्था आउन सक्ने हुनाले परीक्षाको बेला तनाव लिनु ठीक नभएको लेखेकी छन् ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका बालबालिका जोखिम मोलेर ट्युबबाट सुनकोशी नदी तरेर सुनकोशी माध्यमिक विद्यालय, फिक्कल गाउँपालिका, सिन्धुलीमा अध्ययन गर्न जान वाध्य भएको समाचार यो साता पनि दोहोरिएको छ ।
हुम्लाका केही गाउँपालिकाले तय गरेको स्थानीय सन्दर्भका पाठहरुको पुस्तक छपाइ हुन नसक्दा ती पाठहरुको आधारमा पढाइ भइरहेको समाचार छ ।
ताप्लेजुङमा भने यस वर्ष शैक्षिक सत्र सुरु हुनु भन्दा अघि नै सामुदायिक विद्यालयको पाठ्यपुस्तक आउन थालेको समाचार छ ।
ओखलढुङगाको सिद्धिचरण नगरपालिकाका वडाध्यक्ष विनोदकुमार ताम्राकारले आफ्नो तलबभत्ताबाट विद्यार्थीलाई पोशाक वितरण गरेको समाचार छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयका मुद्दालाई, विद्यालय शिक्षा ऐनमा निजी विद्यालयका विषय समावेश गर्ने, निजी विद्यालयको सम्पत्तिको सुरक्षा लगायतका मुद्दालाई प्रभावकारी ढंगले उठाउने बताएको समाचार छ ।
उता, बुढानीलकण्ठ स्कुलले सामुदायिक विद्यालय पढेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको लागि छात्रवृत्तिमा पढ्ने अवसर प्रदान गर्न दरखास्त आह्वान गरेको समाचार छ । कम्तीमा ३ र ४ कक्षामा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमति रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८१ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र तथा छात्राले बुढानीलकण्ठ स्कुलमा अध्ययनको अवसर पाउने समाचारमा उल्लेख छ ।
दाङको घोराहीको शुभप्रभात माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनका विषयमा विवाद हुँदा विद्यालयका प्रधानाध्यापक रुद्र बुढा सहित नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) दाङ जिल्लाका अध्यक्ष नरेन्द्र विक र विद्यार्थी नेता पवन विकमाथि कुटपिट भएको समाचार छ । गणपूरक सङ्ख्या नपुगेका कारण माइन्युट उठाउन नमान्दा घोराही उपमहानगरपालिकाका वडाध्यक्ष भानसिंह बुढा लगायतका व्यक्तिबाट कुटपिट भएको समाचारमा उल्लेख छ । प्रधानाध्यापक माथि कुटपिट गर्ने वडा अध्यक्षको समूहलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अघि नबढाएको सेतोपाटीमा समाचार छ ।
अष्ट्रेलियामा जन्मिएर हुर्किएका करिब दुई हजार नेपाली मूलका बालबालिकाले उनीहरु वसोवास गर्ने शहरमा सञ्चालित नेपाली भाषा पाठशालाबाट नेपालको इतिहास र चालचलनलाई नजिकबाट चिन्ने कोशिस गरिरहेको समाचार छ ।
यी थिए विद्यालय शिक्षा सम्बन्धी समाचार र टिप्पणी । अब विश्वविद्यालय सम्बन्धी समाचार
त्रिवि शिक्षाध्यक्ष र विज्ञान संकायको डिन कार्यालयमा तोडफोड गर्ने समूहलाई त्रिविले कारबाही गर्ने माग गरेको समाचार छ । सो कार्य स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न हुन नदिन गरिएको त्रिविको भनाइ रहेको समाचारमा उल्लेख छ । त्यस्तै विद्यार्थी संगठनका नाममा हुने तोडफोड, तालाबन्दीको घटना बढेको भन्दै हिमालयन टिभीले विद्यार्र्थी संगठन कि अराजकताको झुण्ड ? भन्दै प्रश्न सहितको समाचार प्रसारित गरेको छ ।
त्रिविमा खोज अनुसन्धान गर्ने चार वटै अनुसन्धान केन्द्रहरु आर्थिक विकास र प्रशासन केन्द्र (सेडा), व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) तथा नेपाल र एसिया केन्द्र (सिनास) अनुसन्धानमा सक्रिय नभएको समाचार छ । अनुसन्धान केन्द्रहरू अनुसन्धानको क्षेत्रमा प्रभावकारी हुन नसकेपछि गत मंसिर २७ गते बसेको त्रिवि साधारण सभामा ती अनुसन्धान केन्द्रहरुलाई एउटैमा गाभ्ने प्रस्ताव समेत पेस भएकोमा प्रधानमन्त्री कुलपति केपी ओलीले यसमा थप छलफलको आवश्यकता रहेको भनेर सो प्रस्ताव स्थगन गरेको समाचारमा जनाइएको छ ।
यसै प्रसङ्गमा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट) का केही लेक्चरर बिहान अफिस आउने अनि हाजिर गरेर जाने वा, घाम तापेर तलब–भत्ता खाने थलो बन्दैै गएको रातोपाटीमा समाचार छ । समाचार अनुसार १३ जना सदस्य रहेको रिकाष्टमा ६ जना वर्षाैंदेखि एउटै अनुसन्धान नगरीकनै बसेको पाइएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएको समाचार छ । पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहमा आठ हजार एक ५० विद्यार्थी दीक्षित भएको समाचार छ । यसै अवसरमा प्रधानमन्त्री सुदुरपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयहरूले समयानुकूल विषयलाई प्राथमिकता दिएर विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न सुझाव दिएको समाचार छ ।
बागमती प्रदेश विश्वविद्यालयमा आबद्ध हुन प्रदेशका भित्रका विभिन्न क्याम्पसहरूलाई सार्वजनिक सूचना आह्वान गरिएको छ । नेपालका कुनै विश्वविद्यालयबाट सम्बन्धन लिई प्रदेशभित्र सञ्चालनमा रहेका क्याम्पसहरूले बागमती विश्वविद्यालयको आंगिक क्यापसको रूपमा संचालन हुनेगरी आवेदन दिन सक्ने समाचार छ ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं स्कुल अफ ल’ का संस्थापक युवराज संग्रौलामाथि विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको समाचार छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक विद्यार्थीले पूर्वमहान्यायाधिवक्ता संग्रौलाले कलेजमा छात्राहरुसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने आरोप लागाएको समाचारमा उल्लेख छ ।
शिक्षा मन्त्रालयले शैक्षिक परामर्शदाता कम्पनीलाई फ्रि–भिसा, रोजगारी सुनिश्चित हुने तथा आश्रित भिसा उपलब्ध गराइने लगायतका प्रलोभन नदिन आठ बुँदे निर्देशन दिएको समाचार छ ।
चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक वर्षको लागि शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको समाचार छ । क्यालेन्डर अनुसार स्नातक तहको प्रवेश परीक्षका लागि आयोगले २०८२ साउन दोस्रो साता आवेदन खोल्ने समाचारमा उल्लेख छ ।
कर्णाली प्रदेशले आफ्नो शिक्षा नीतिको मस्यौदाबारे सरोकारवालासंग छलफल अघि बढाएको समाचार छ ।
साताभरीका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई समेटिएको छ । यस पटक २०८१ साल फागुन २४ गते देखि चैत १ गते सम्मका विषयवस्तु समेटेका छौं – सम्पादक ।
गत साताका समग्री पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया