काठमाडौं - शिक्षक सेवा आयोगको रिक्त दुई सदस्यमा शिक्षक पवित्रा सुवेदी र शिक्षा मन्त्रालयका पूर्व सहसचिव रामशरण सापकोटालाई नियुक्ति गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । सुवेदी रत्नराज्य माध्यमिक विद्यालय काठमाडौंकी शिक्षक हुन् । उनी शिक्षा मन्त्री विद्या भट्टराई निकट मानिन्छन् । यस्तै सापकोटा पनि सत्ताधारी दल एमाले निकटका पूर्व कर्मचारी हुन् ।
पूर्व सदस्यहरु नन्दकुमारी महर्जन र डा. डिल्लिराम रिमालको अवधि सकिए पछि आयोगमा दुई सदस्य खाली रहेको थियो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दिपक काफ्ले सदस्य रहेको छनोट समितिले गत फागुन ६ गते उनीहरुको नाम सिफारिस गरेको थियो ।
यस बिचमा मन्त्री भट्टराई विरामी परेका कारण मन्त्रीपरिषद्मा प्रस्ताव पठाउन ढिलो भएको र सोमबारको बैठकले बल्ल निर्णय गरेको उक्त श्रोतले बतायो ।
'हिजोको मन्त्री परिषद्ले निर्णय गरेको हो' उक्त श्रोतले भन्यो ।
रेग्मी संयोजकत्वको छनोट समितिले माघ १ मा दर्खास्त आव्हान गरेको थियो । सो अनुसार आवेदन हालेका ३१ मध्ये समितिले ११ जनाको नाम सर्टलिष्ट गरेको थियो । सर्टलिष्टमा पर्ने मध्ये शिक्षा सेवाका तीन जना पूर्व सहसचिव सहित ७ जना पूर्व कर्मचारी थिए । शिक्षाका पूर्व सहसचिव सापकोटा सहित केशवप्रसाद दाहाल र डा.भोजराज शर्मा काफ्ले सर्टलिष्टमा परेका थिए । यस्तै अन्य सेवाका पूर्व सहसचिवहरु हिरामणी शर्मा, थानेश्वर गौतम र नवराज सापकोटा पनि सर्टलिष्टमा परेका थिए । शिक्षा मन्त्रालयका पूर्व उपसचिव खेमनाथ पोखरेल र सुवेदी सहित, ज्ञानोदय मावि काठमाडौंकी प्रधानाध्यापक विष्णु घिमिरे रिमाल पनि सर्टलिष्टमा परेका थिए । आयोगको सदस्य हुन आवेदन हालेका शिक्षकहरु मध्येबाट सुवेदी, डा. लाक्पा शेर्पा र बबिता लाभ कायस्थ पनि सर्टलिष्टमा परेका थिए । शेर्पा किर्तिपुरको ल्याबरोटरी स्कुलका प्रिन्सिपल हुन भने कायस्थ पनि निजी विद्यालय सञ्चालक हुन् ।
शुरुमा आवेदन हाल्नेहरुमा सामुदायिक र निजी विद्यालयका शिक्षकहरुको संख्या धेरै थियो ।
दर्खास्त स्वीकृत भएका उम्मेदवारको अवधारणा पत्र र व्यवसायिक कार्ययोजनाको प्रस्तुती सहित अन्तरवार्ता लिईएको थियो ।
आयोगका दुई सदस्य मध्ये महर्जन असोजमा र रिमालको अवधि माघमा सकिए पछि नयाँ नियुक्तिको प्रकृया शुरु गरिएको थियो । यस अघि २०७७ पुषमा नियुक्त भएका अध्यक्ष मधुप्रसाद रेग्मी सहित महर्जन र रिमालको नियुक्तिमा तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले ढिलाई गरेका थिए । सिफारिस भएको सात महिना पछि बल्ल उनीहरुको नियुक्ति गरिएको थियो ।
पढ्नुहोस् : शिक्षक आयोगका पदाधिकारी नियुक्तिमा शिक्षा मन्त्रीको 'रहस्यमय' ढिलाई !
प्रतिक्रिया