Edukhabar
विहीबार, ०७ चैत्र २०८१
गतिविधि

खाली भएको दुई महिना पछि बल्ल नियुक्ति, प्रधानमन्त्री भन्छन् : सजगताका साथ काम गर्नु

मंगलबार, ०५ चैत्र २०८१

काठमाडौँ - उपकुलपति विहीन भएको दुई महिना एवं नयाँ नियुक्तिको प्रकृया पुरा भएको एक महिना पछि बल्ल काठमाडौं विश्वविद्यालयले नयाँ उपकुलपति पाएको छ । काँग्रेस पृष्ठभूमीका प्रा. डा. अच्युुतप्रसाद वाग्लेले मंगलबार प्रधानमन्त्री एवं कुलपति केपी ओली समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । 

उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जना मध्येबाट वलीले वाग्लेलाई सोमबार नियुक्त गरेका थिए । गत माघ ६ गते देखि उपकुलपति विहीन बनेको विश्वविद्यालयमा नयाँ उपकुलपति सिफारिस गर्न विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. अर्जुन कार्की र पूर्व सचिव जर्नादन नेपालको समिति गठन गरिएको थियो । 

सर्टलिष्टमा परेका उपकुलपतिका उम्मेद्वारसँग समितिले फागुन २ गते बिजनेश प्लान प्रस्तुत गराएर फागुन ३ मा अन्तर्वार्ता लिएको थियो । अन्तरर्वार्तामा समितिका तीन जना सहित मदन भण्डारी विश्वविद्यालय अफ साइन्स एण्ड टेक्नोलोजीका अध्यक्ष राजेन्द्रध्वज जोशी सहभागि थिए । सामान्यता अन्तरर्वार्ता सकिएकै दिन कथं त्यो दिन नभ्याएमा भोलीपल्ट मेरिटको आधारमा अगाडि भएका तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिस गरिसक्नु पथ्र्योे । तर, मेरिटका आधारमा नाम सिफारिस गर्दा आफ्ना उम्मेद्वार तीन जना भित्र नपर्ने भएपछि छनोट समितिका तीन सदस्य तीन तिर भएको खबर सार्वजनिक भएको थियो । 

पढ्नुहोस् : मिडियाबाजीमा उपकुलपतिका उम्मेद्वार, बिबादमा सिफारिस समिति

उपकुलपति छनोट प्रकरणले केयूको शाखमा दाग लागेको भन्दै आलोचना भईरहेका बेला वलीले वाग्लेलाई नियुक्त गरेका हुन् । सपथ ग्रहण पछि वलीले नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भ समेतलाई ध्यान दिएर सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाउन वाग्लेलाई शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वाग्ले सहित तीन जनाको नाम सिफारिस गरिएको भनिए पनि बाँकी दुई जना को को थिए भन्ने बारे प्रधानमन्त्री कार्यालयले खुलाएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित सपथ ग्रहण कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, मुख्य सचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले लगायत सहभागी थिए । 

नवनियुक्त उपकुलपति वाग्ले यस अघि विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए । काभ्रेको बनेपामा २०२५ सालमा जन्मिएका उनी यस अघि नै विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, विज्ञान विभागको प्रमुख र एड्जंकट प्रोफेसर रहेर काम गरिसकेका छन् ।

इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका छन् । नेपाली काँग्रेसको सरकारका पालामा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार समेत रहेर वाग्लेले काम गरेका थिए । सत्ता साझेदार दलहरु बिचको सहमतीमा यसपटक काठमाडौं विश्वविद्यालय काँग्रेसको भागमा परेको थियो । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।

फोटो : प्रधानमन्त्रीको सचिवालय 
 

प्रतिक्रिया