काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कक्षा १० को अन्तिम परीक्षा एसईईलाई मर्यादित बनाउन निर्देशन दिने क्रममा व्यक्त भाषा बिबादमा परेको छ । मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूसँगको सोमबारको अनलाइन बैठकमा भट्टराईले 'निजी प्रति 'अनुत्तरदायी' हुन दिएको निर्देशनको भाषा प्रति निजी विद्यालयका सञ्चालकहरुले आपत्ती जनाएका छन् । मन्त्रीले बोलेको भिडियोको सानो टुक्रा सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
‘आफुलाई जनता प्रति उत्तरदायी बनाउनुहोस् । कुनै प्राइभेट विद्यालय प्रति र एउटा व्यक्ति प्रति अनुत्तरदायी बनाउनुहोस् । मेरो निर्देशन यही हो ।’ उक्त भिडियोमा मन्त्री भट्टराईले यस्तो भनेको देखिन्छ ।
मन्त्रीको उक्त भाषा प्रति प्याब्सनका निवर्तमान अध्यक्ष डिके ढुङ्गानाले आपत्ति जनाएका छन् । मन्त्रीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा उनले सरकारले सामुदायिक र निजीमा विभेद गरेको भन्दै बिरोध जनाएका छन् ।
‘माननीय मन्त्रीज्यू प्राइभेट राज्यको दायित्व भित्र पर्दैन ? सरकारले निश्चित समुदायका लागि मात्रै काम गर्ने हो र ? निजी क्षेत्रप्रति अनुत्तरदायी हुनु भन्नाले आम जनमानसले के बुझ्ने हो ?’ उनले सञ्जालमा लेखेका छन् ‘अभिभावकीय भूमिकामा रहनुपर्ने माननीय मन्त्रीज्यूबाट यस प्रकारको अभिव्यक्ति आउनु नागरिक प्रति सोझै गरिएको विभेद हो । ३० प्रतिशत विद्यार्थी अध्ययन गर्ने क्षेत्र पनि यहाँ कै मातहतमा छ भन्ने बिर्सनु त भएको होइन नि । यस प्रकारको विचार प्रति खेद छ ।’
यस्तै निजी विद्यालय सञ्चालकहरुको अर्को संगठन एन प्याव्सनका अध्यक्ष सुवास न्यौपानेले पनि मन्त्री भट्टराईको अभिव्यक्तिको विरोध गरेका छन् ।
‘माननीय मन्त्री ज्युबाट शिक्षा विकास समन्वय एकाइलाई दिएको निर्देशनात्मक अभिव्यक्तिमा प्राइभेट विद्यालय प्रति अनुत्तरदायी बन्नुहोस् भन्ने अभिव्यक्ति लज्जास्पद र विभेदकारी हुनुका साथै शिक्षा जस्तो संवेदनशील क्षेत्रको जिम्मेवार तहबाट यस्ता गैरजिम्मेवारपुर्ण अभिव्यक्ति आँफैमा अशोभनीय र भर्त्सनायोग्य भएको कुरा ठहर गर्दछौँ ।’
निजी विद्यालयको मिलामतोमा परीक्षा केन्द्र निर्धारण गरेको विषय मिडियामा आएको भन्दै मन्त्री भट्टराईले कर्मचारीलाई गुनासो नआउने गरी परीक्षा व्यवस्थित गर्न निर्देशन दिएकी थिइन् ।
एकाईका कर्मचारीलाई मन्त्री भट्टराईले स्थानीय र प्रदेशसँग समन्वय गरेर काम गर्न निर्देशन दिएकी छिन् । एकाइ एक्लै हिँडेर काँही नपुग्ने भन्दै भट्टराईले विगतको जस्तो शिक्षा कार्यालयको धङ्धङी छाड्न समेत आग्रह गरिन् ।
‘एकाइलाई हिजोको शिक्षा कार्यालयको रुपमा बुझ्नु भयो भने गलत हुन्छ’ उनले भनिन् ।
मधेस प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले पनि एसईई परीक्षाका सन्दर्भमा एकाइको व्यवहार ठिक नभएको भन्दै आपत्ति जनाएका थिए ।
आगामी बिहीबारबाट शुरु भई चैत १९ गतेसम्म देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा परीक्षा हुँदैछ । पाँच लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा दिँदै छन् । बाल सुधार गृह र कारागारमा समेत गरी तीन वटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा बोर्डले जनाएको छ ।
प्रतिक्रिया