Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

भक्तपुर साक्षर घोषणा सँगै २० जिल्ला भए साक्षर

सोमबार, २८ मंसिर २०७२

काठमाडौं २८ मंसिर / भक्तपुर पूर्ण साक्षर जिल्ला भएको छ। आइतबार दरवार स्क्वायरमा विशेष कार्यक्रम गरी जिल्लालाइ पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ। शिक्षामन्त्री गिरीराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी भएको कार्यक्रमले साक्षर जिल्ला घोषणा गरिएको हो। देशका ७५ जिल्लामध्येमा २० औं साक्षर जिल्लाको रुपमा भक्तपुरलाई घोषणा गरिएको छ।

अन्तर्राष्ट्रिय प्रचलन तथा राष्ट्रिय मानकअनुसार १५ देखि ६० वर्ष उमेरको जनसंख्यामा भक्तपुर जिल्लाको साक्षरता प्रतिशत ९६ दशमलव ७४ प्रतिशत पुगेपछि भक्तपुरलाई साक्षर जिल्ला घोषणा गरिएको हो।

जिल्ला अनौपचारिक शिक्षा समितिले आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा शिक्षामन्त्री पोखरेलले भक्तपुरलाई साक्षर जिल्ला घोषणा गरे।

सो अवसरमा उनले भक्तपुरको इतिहासमा साक्षर घोषणाले अझ थप विशेषता थपेको चर्चा गर्दै अझ चुनौती पनि थप भएकाले सोहीअनुसार काम गर्न पनि अनुरोध गरे। 'भक्तपुरलाई साक्षर घोषणासँगै नयाँ यात्राको थालनी भएको छ, योसँगै नयाँ चुनौती पनि थपिएको छ,' शिक्षामन्त्री पोखरेलले भने, 'एकपटक साक्षर बनाएर मात्र हुन्न, साक्षरलाई पनि निरन्तर शिक्षाको लागि पहल गर्नुपर्छ।'

कार्यक्रममा उनले भक्तपुरले लिएको एक घर एक स्नातकको योजनाको प्रशंसा गर्दै बहुमत जनता किसान भएको सिङ्गो नेपाललाई नै बुद्धिजीवीकरण गर्नु अबको आवश्यकता रहेकोमा जोड दिए।

शिक्षा मन्त्री पोखरेलले सरकारले लिएको सन् २०१५ सम्ममा 'सबैका लागि शिक्षाको अवधारणा'अनुसार काम नभएको विषयमा मूल्यांकन गरी पढाइबाट वञ्चित भइरहेका देशभरका ३ लाख बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सबैले पहल गर्नुपर्ने पनि बताए।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीको सदस्य एवं सांसद प्रेम सुवालले नयाँ पुस्तालाई सांस्कृतिक रुपले नै बुद्धिजीवी बनाउने अभियानमा भक्तपुर केन्द्रीत भइरहेको चर्चा गर्दै समाजलाई बुद्धिजीवीकरणको बाटोमा लग्न ख्वपः विश्वविद्यालयको अवधारणालाई अघि बढाएको बताए।

कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डित, शिक्षा विभागमा महानिर्देशक खगराज बराल, अनौपचारिक शिक्षा केन्›का निर्देशक दिवाकर ढुंगेलले भक्तपुर साक्षर भएकोमा बधाइ दिँदै भक्तपुरले निरन्तर शिक्षा र साक्षरोत्तरलाई सीपको बन्दोबस्त गर्न सुझाव दिएका थिए। प्रमुख जिल्ला अधिकारी तोयम राया, नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष रमेश थापाश्रेष्ठ, सांसद रामेश्वरप्रसाद ढुंगेल, जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठ, सहायक जिल्ला शिक्षा अधिकारी गोविन्द सेढाइँले पनि भक्तपुरलाई साक्षर बनाउनका लागि भएका गतिविधिहरुबारे चर्चा गरेका थिए।

जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक एवं स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमा जिशिका भक्तपुरलाई अनौपचारिक शिक्षा केन्›को तर्फबाट कदर पत्र र रु.पाँच लाखको चेकसहित सम्मान गरेको थियो। सोही अवसरमा जिल्लाका २२ वटा सामुदायिक अध्ययन केन्›, ६ वटा नगरपालिकालाई पनि सम्मान गरिएको थियो।

जिल्ला शिक्षा कार्यालयका अुनसार भक्तपुरमा भक्तपुर जिल्लाको कुल जनसंख्यामध्ये ९६.७४ प्रतिशत अर्थात् २ लाख ९८ हजार ७ सय ४ नागरिक पूर्ण साक्षर छन्। भक्तपुरमा साक्षर हुन बाँकी रहेका ९ हजार ७ सय ४१ जना निरक्षरलाई भने निरन्तर कक्षाबाट साक्षर बनाइने जिशिअ श्रेष्ठले बताए।

जिल्लामा रहेका ६ नगरपालिकाहरुमध्ये मध्यपुरथिमि नगरपालिकामा ९७.१५ प्रतिशत, भक्तपुर नगरपालिकामा ९६.०८ प्रतिशत, अनन्तलिङ्गेश्वर नगरपालिकामा ९६.८६ प्रतिशत, नगरकोट नगरपालिकामा ९५.४३, सूर्यविनायक नगरपालिकामा ९६.३० प्रतिशत र चाँगुनारायण नगरपालिकामा ९७.०५ प्रतिशत नागरिक साक्षर भएका छन्।

नागरिकमा खबर छ ।

प्रतिक्रिया