Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

त्रिविमा नयाँ क्याम्पसहरूको सम्बन्धन रोक्‍का

आइतबार, २७ मंसिर २०७२

काठमाडौं, २७ मंसिर । त्रिभुवन विश्वविद्यालयले नयाँ क्याम्पसहरूको सम्बन्धन रोक्का गरेको छ।  हाल सम्बन्धन पाएर सञ्चालनमा रहेका क्याम्पसहरूको स्थान तथा पुरानो सम्बन्धन प्रणाली वैज्ञानिक नभएको निष्कर्ष निकाल्दै त्रिवि प्रशासनले तत्कालका लागि सम्बन्धन रोकेको हो।   

त्रिविका अनुसार नयाँ सम्बन्धन नीति बनेपछि मात्र क्याम्पसहरूलाई सम्बन्धन प्रदान गरिनेछ।   यसअघि सम्बन्धन प्रदान गर्दा क्याम्पसहरूको भौतिक संरचना तथा जनशक्तिका बारेमा सामान्य अध्ययन गर्ने गरिएको भए पनि क्याम्पस सञ्चालन गरिने स्थानका विषयमा भने स्पष्ट मापदण्ड थिएन।  

स्थानका विषयमा स्पष्ट मापदण्ड नहुँदा कुनै क्षेत्रमा अत्यधिक मात्रा क्याम्पस खुल्ने र कुनै क्षेत्रमा क्याम्पस नै सञ्चालन नहुने अवस्था आएको थियो।  नयाँ सम्बन्धन नीति निर्माणका लागि अध्ययन गरेर सुझाव दिन त्रिविले प्राध्यापक प्रह्लादराज पन्तको संयोजकत्वमा समिति बनाएर अध्ययन गरिरहेको छ।  

पन्त यसअघि त्रिवि योजना महाशाखाका प्रमुख थिए।पन्त नेतृत्वको नौ सदस्यीय टोलीले अहिले त्रिविअन्तर्गत रहेको अध्ययन संस्थान तथा चारवटा संकायको सम्बन्धन कसरी दिने भन्ने विषयमा नीति बनाउनेछ। 

समितिले एक महिनादेखि अध्ययन गरिरहेको छ। समितिले यसअघि सम्बन्धन दिने प्रक्रिया तथा त्रिविसँग सम्बन्धित व्यक्तिहरूसँग छलफल गरेर सुझाव संकलन गरिरहेको छ।  पन्तले भने, ‘विभिन्न दल निकटका प्राध्यापकसँग सम्बन्धित संगठनसँग छलफल भयो। यसबीचमा विभिन्न संकायका डिनसँग पनि परामर्श गरिसकेका छौं। 

शिक्षाविद् उच्चशिक्षासँग सरोकार राख्ने व्यक्ति तथा संस्थाका प्रतिनिधिबाट पनि सुझाव संकलन गर्छौं।ु सुरुमा एक महिनाभित्रमा सुझाव पेस गर्न भनिए पनि समितिले काम सम्पन्न गर्न नसकेपछि समय थपिएको छ।

 त्रिविमा अहिले सम्बन्धनका लागि सम्बन्धित संकायका डिन कार्यालयले सिफारिस गर्ने र उपकुलपतिको अध्यक्षतामा बस्ने कार्यकारी परिषद्ले स्वीकृति दिने चलन छ।  यसरी सम्बन्धन दिँदा आवश्यक मापदण्ड बनाउने र नियन्त्रणका लागि त्रिवि केन्द्रीय कार्यालयको स्पष्ट भूमिका छैन।   

ुसम्बन्धनका लागि कुनै केन्दीय नीति छैन। सम्बन्धका लागि क्याम्पससँग कति शुल्क लिने भन्नेमा निर्णय गर्नेदेखि सम्बन्धन दिने कि नदिने भनेर सिफारिस गर्ने अधिकार डिन कार्यालयलाई मात्र छु, मानविकी संकायका डिन चिन्तामणि पोखरेलले भने।  

सम्बन्धन नीति बनाउन गठन गरिएको समितिलाई पनि आफूहरूले सम्बन्धनका लागि विश्वविद्यालयको केन्द्रीय स्तरमा रहने गरी एउटै नीति बनाउनुपर्ने सुझाव दिइएको पोखरेलले बताए।  

उनका अनुसार अहिले सम्बन्धन लिएर कक्षा सञ्चालन गरिरहेका क्याम्पसहरूले प्राध्यापकहरूको विवरण पेस गर्दा पनि अन्य क्याम्पसहरूमा पढाइरहेको प्राध्यापकको विवरण देखाउने र वास्तविक पढाउने जनशक्ति भने अन्य हुने गरेको छ।   

त्रिविअन्तर्गत अहिले मुलुकभर ६० वटा आंगिक तथा एक हजार ५३ वटा सम्बन्धन क्याम्पस सञ्चालनमा छन्। ती सबै क्याम्पसमा चार लाखभन्दा धेरै विद्यार्थी अध्ययनरत छन्।  

(आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुर्यप्रसाद पाण्डेले समाचार लेखेका छन्।)

प्रतिक्रिया