काठमाडौं - वार्ता र सम्वाद द्वारा आन्दोलनरत शिक्षकसँग सहमतीको वातावरण निर्माण गर्न संसदमा आवाज उठेको छ । मंगलबारको संदद बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक महासंघसँग राज्यले गरेको सम्झौता पालना नगर्नुलाई शिक्षक प्रति गरिएको अनादरको संज्ञा दिएका छन् ।
'लाखौं लाख शिक्षकहरुको प्रतिनिधित्व गर्ने नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ । सरकार निरन्तर रुपबाट सम्झैता गर्ने अनी त्यो सम्झौतालाई निरन्तर अपहेलना गर्ने जुन प्रकृया छ त्यो खेदजनक मात्रै हैन निन्दनीय पनि हो' उनले भने 'सरकारले पटक पटक गरेको प्रतिवद्धतालाई पालना गर्दै तत्कालै शिक्षकसँग वार्ता र सम्वाद द्वारा सहमतीको वातावरण निर्माण गरोस् ।'
राज्यले कसैलाई वचन दिए पछि त्यसमा ईमान्दार हुनु पर्ने बताउँदै उनले विद्यालय शिक्षा ऐन जारी गर्न र १८ प्रकारका शिक्षक व्यवस्थापन गर्ने काममा सरकार तुरुन्तै लाग्न ध्यानाकर्षण गराएका छन् ।
यस्तै अर्की सांसद मुक्ता कुमारी यादवले एसईई परीक्षा शुरु हुन लाग्दा शिक्षकहरु आन्दोलनमा रहेकोले यथाशिघ्र समस्या समाधान गर्न सरकारसँग माग गरिन् ।
आफूहरुसँग भएको सहमती पालना नभएको आरोप लगाउँदै नेपाल शिक्षक महासंघले शनिबारदेखि काठमाडौं कन्द्रित आन्दोलन शुरु गरेको छ । २०८० भदौ २७ मा संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक अघि नबढे पछि महासंघले २०८० असोज ३ मा काठमाडौँ केन्द्रित सडक प्रर्दशन गरेको थियो । महासंघले राजनीतिक दलका कार्यालयमा धर्ना र रिले अनसन केन्द्रित गरेको जनाएको छ ।
विद्यालय शिक्षा विधेयक १८ महिनादेखि प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमा विचाराधीन छ । विधेयकमाथि सैद्धान्तिक र प्रदेश स्तरमा छलफल भए पनि समितिले दफावार छलफल गर्न सकेको छैन । संविधानमा विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था प्रति दलगत आवद्धताका शिक्षकहरुको आपत्ति छ । विधेयकमा भएको संविधान अनुकुलको प्रावधान शिक्षकको स्वार्थ अनुकूल नभएको भन्दै महासंघले १७ महिना पछि फेरी काठमाडौँ केन्द्रित सडक प्रर्दशन गरेको हो ।
सरकार र शिक्षक महासंघ बिच सात बुँदे सहमती भए पछि उक्त आन्दोलन स्थगित गरिएको थियो । ती माग पुरा नभएको भन्दै महासंघ फेरी सडक प्रदर्शनमा उत्रिएको हो ।
यसैगरी शिक्षकको माग पुरा गर्न सांसद गंगाराम चौधरीले पनि सरकारको ध्यानाकर्षण गरे ।
यसै बिच सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन निष्पक्ष बनाउन माग गरेका छन् ।
सांसद प्रेम सुवालले पाँच बर्ष नाघेका ६ लाख बालबालिका विद्यालय बाहिर रहेको एवं १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई अभिभावकको घर जग्गा बेच्न लगाएर सरकारले विदेश पढ्न पठाएको आरोप लगाए । पाँच सय बढि कलेज बन्द हुँदै गएको बताउँदै उनले विद्यालय शिक्षा निशुल्क र अनिवार्य गर्नु जरुरी रहेको उल्लेख गरे ।
सांसद चित्र बहादुर केसीले पनि शिक्षा प्रणााली ध्वस्त पारिएको बताउँदै आन्दोलनरत शिक्षकको माग पुरा गर्न माग गरे ।संसदमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि शिक्षक आन्दोलनको विषय उप्काएका छन् । राजतन्त्रका पक्षमा भएको प्रर्दशनका विषयमा बोल्दै उनले सरकारसँग सबै क्षेत्र असन्तुष्ट रहेको प्रसंगमा आन्दोलनरत शिक्षकको विषय उठाएका हुन् ।
सरकारको कार्यशैली प्रति प्रश्न उठाउँदै उनले चक र डष्टर छाडेर शिक्षक पनि प्रर्दशनमा उत्रिएको दावि गरे । विचौलियाका पक्षमा भएका विधेयक अघि बढाउने तर शिक्षा विधेयक अघि नबढाएको भन्दै उनले कटाक्ष पनि गरे ।
पछिल्लो समय सरकारको कार्यशैलीका कारण व्यवस्था प्रति वितृष्णा बढाएको उनले तर्क गरे । लोकतन्त्रलाई सत्तारुढले नै उपेक्षा गरेका कारण आम रुपमा वितृष्णा बढेको उनको तर्क छ ।
प्रतिक्रिया