Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

चिसोले विद्यालय जाने बालबालिका समस्यामा

आइतबार, २७ मंसिर २०७२

काठमाडौँ, २७ मङ्सिर । केही दिनयता एकाएक बढेको चिसो र हुस्सुका कारण धनुषामा बालबालिका प्रभावित भएका छन् ।  एकाबिहानै स्कुल कलेज सञ्चालन भएपछि अध्ययनका लागि विद्यालय तथा क्याम्पस जाने विद्यार्थी प्रभावित भएका हुन् । 

अत्यधिक चिसो र हुस्सुका कारण दैनिक ज्यालादारी गर्ने, मजदुर खेतमा काम गर्ने खेताला, गाईभैँसी चराउने बालबालिका प्रभावित भएका छन् ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको आमहडतालको करिब चार महिना वित्तिसक्दासमेत कुनै राजनीतिक निकास निस्किन सकेको छैन । 

अर्कोतर्फ मोर्चाले विद्यालयलाई बिहानपखमात्र सञ्चालन गर्न दिने निर्णय गरेपछि अहिले एक्कासि बढेको चिसोका कारण बालबालिका प्रभावित बन्न थालेका छन् । बिहानपख विद्यालय जाँदा चिसोका कारणले बालबालिका बिरामी पर्न थालेका छन् । 

अभिभावक सुशील सिंहका अनुसार चिसोमा विद्यालय जाँदा बालबालिकालाई समस्या भइरहेको छ । बालबालिकामा निकै समस्या देखिएको उनको कथन रहेको छ ।  विद्यालयलाई शान्ति क्षेत्रका रुपमा पटक पटक राजनीतिक दलहरुले समेत प्रतिबद्धता जनाएको भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । 

कार्यान्वयन नभएका कारणले गर्दा राजनीतिक दल आफ्ना राजनीतिक हतियारको रुपमा बालबालिकालाई प्रयोग गर्ने गरेका छन् ।   तराईमा चिसो र शीतलहरका कारण बालबालिकामाथि परिरहेको प्रभावको विषयमा आन्दोलनकारी दलहरु गम्भीर हुनुपर्ने आवश्यकता रहेको छ । 

(रासस)

 

प्रतिक्रिया