Edukhabar
सोमबार, १९ फागुन २०८१
खबर/फिचर

नियुक्तिको सिफारिस टुङ्गोमा पुर्‍याउन 'अल्टिमेटम'

सात दिन भित्र पनि सिफारिस समितिले  छनोट प्रक्रिया टुङ्गोमा पुर्‍याउन नसकेमा आवश्यक पहल गरी उपयुक्त निर्णय लिन प्रधानमन्त्री एवम् शिक्षा मन्त्रीलाई अपिल ।

सोमबार, १९ फागुन २०८१

काठमाडौं - प्रकृया पुरा भएर पनि सिफारिस समितिका सदस्यहरु बिच मै मतभेद भएर नयाँ उपकुलपतिको नियुक्तिको सिफारिस गर्न भईरहेको ढिलाई प्रति काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । अबको सात दिन भित्र पनि विश्वविद्यालयको नयाँ उपकुलपति खोज तथा सिफारिस समितिले  छनोट प्रक्रिया टुङ्गोमा पुर्‍याउन नसकेमा आवश्यक पहल गरी उपयुक्त निर्णय लिन संघले कुलपति एवम् प्रधानमन्त्री तथा सहकुलपति एवम् शिक्षा मन्त्रीलाई अपिल समेत गरेको छ ।

संघका अध्यक्ष डा. विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले आईतबार जारी गरेको विज्ञप्तिमा पहिलो चरणमा सात दिने दबाब कार्यक्रम सहित आन्दोलन घोषणा गरेको उल्लेख छ । अल्टिमेटम दिएको अवधि भित्र पनि उपकुलपति नियुक्ति नभएमा अर्को चरणको दबाबमुलक आन्दोलन घोषणा गर्न संघ बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । 

विश्वविद्यालयका पदाधिकारीको कार्यकाल सकिएपछि समयमै नयाँ नियुक्ति नहुँदा शिक्षक कर्मचारीको वृत्ति विकास रोकिने, तलब बृद्धि, नियमित शैक्षिक कार्यका लागि आवश्यक पर्ने खरीद प्रकृयामा असर पर्ने जस्ता समस्या स्मरण गराउँदै विज्ञप्तिमा विश्वविद्यालयलाई दिगो रुपमा सञ्चालन गर्न क्षमतावान् नेतृत्व अपरिहार्य भएको समेत उल्लेख गरिएको छ । 

'विश्वविद्यालयको दिगो सञ्चालनका लागि अन्य आवश्यक कार्यहरु निमित्त उपकुलपतिबाछ गर्न कानूनी रुपमा सम्भव छैन' विज्ञप्तिमा भनिएको छ, 'यसले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक विकासमा दूरगामी असर पार्ने निश्चित छ ।' 

गत माघ ६ गते देखि काठमाडौं विश्वविद्यालय उपकुलपति  विहीन छ । मेरिटका आधारमा नाम सिफारिस गर्दा आफ्ना उम्मेद्वार तीन जना भित्र नपर्ने भएपछि छनोट समितिका तीन सदस्य विचको मतभेदले नियुक्ति प्रकृया नै प्रभावित बन्दै आएको छ । एक  नयाँ उपकुलपतिको नाम सिफारिस गर्न पूर्व उपकुलपति सुरेशराज शर्माको  संयोजकत्वमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. अर्जुन कार्की र पूर्व सचिव जनार्दन नेपाल सहितको उपकुलपति खोज तथा सिफारिस समिति गठन गरिएको छ । 

समितिले शुरु गरेको प्रकृयाका आधारमा सर्टलिष्टमा परेका उपकुलपतिका उम्मदेवारसँग समितिले फागुन २ गते बिजनेश प्लान प्रस्तुत गराएर फागुन ३ मा अन्तर्वार्ता समेत लिईसकेको छ । अन्तरर्वार्तामा समितिका तीन जना र मदन भण्डारी विश्वविद्यालय अफ साइन्स एण्ड टेक्नोलोजीका अध्यक्ष राजेन्द्रध्वज जोशी सहभागि थिए । सामान्यता अन्तरर्वार्ता सकिएकै दिन कथं त्यो दिन नभ्याएमा भोलीपल्ट मेरिटको आधारमा अगाडि भएका तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिस गरिसक्नु पथ्र्यो । 

तर, यसपटक उपकुलपति छनोट प्रकरणले केयूको शाखमा नै दाग लागेको छ । अर्को तर्फ उम्मेद्वारहरू एकले अर्कोलाई हिलो छ्यापाछ्प गरिरहेका छन् । यसले समग्र ‘केयू ब्राण्ड’ मा नै नोक्सान भएको छ । केयूले कहिले उपकुलपति पाउने हो अनिश्चत छ । किन यसपटक केयूको उपकुलपति छनोट पेचिलो भयो  ? छनोट प्रक्रियामा के–के भए ? 

यो पढ्नुहोस् : मिडियाबाजीमा उपकुलपतिका उम्मेद्वार, बिबादमा सिफारिस समिति
 

प्रतिक्रिया