काठमाडौं - केन्द्रले तोकेको पाठ्यपुस्तक मात्रै पढाई भएको भए फरक मात्रृ भाषाकी आयुसा खातुनले नेपाल भाषा सिक्ने र बोल्ने कुरा कल्पना बाहिरको विषय हुन्थ्यो ! तर, विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था कार्यान्वयन गर्दै निर्माण गरिएको स्थानीय पाठ्यक्रम विद्यालयमा प्रयोग गरिन थाले सँगै बालबालिकाले आफ्नो मात्रृ भाषा बाहेकका भाषामा समेत ज्ञान हासिल गरिरहेका छन् । यसकै उदाहरण हो काठमाडौंको बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालयकी छात्रा आयुसा खातुनले शुक्रबार शुरु शैक्षिक मेलामा नेपाल भाषामा गरेको स्वागत मन्तव्य ।
विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिको लक्ष्य सहित काठमाडौँ महानगरपालिकाले शुरु गरेको दुई दिने शैक्षिक मेलाको उद्घाटन सत्रमा खातुनले स्वागत मन्तव्य सकेपछि राष्ट्रिय सभा गृहको हलमा निकै बेर सम्म तालि बजिरह्यो ।
देशका हरेक भाषाको आफ्नै गरिमा छ, महत्व छ, सभ्यता छ । तर चलनचल्तीमै कम गर्न थाले पछि मुख्यतया काठमाडौं उपत्यका भित्रको नेपाल भाषा पनि क्रमशः हराउँदै गईरहेको छ । यस्तो अवस्थामा महानगरले पाठ्यक्रम नै निर्माण गरि पठनपाठन शुरु गरेको छ । पछिल्लो समय अँग्रेजीको बढ्दो प्रभावले नेपाल भाषा नै मात्रृ भाषा भएको समुदायमा समेत लेख्ने बोल्ने क्रम क्रमशः हराउँदै गए पछि नेपाल भाषाको संरक्षण र सम्बर्धन गर्न महानगरपालिकाले शुरु गरेको यो अभ्यासले फरक मात्रृ भाषा भएका आयुसा जस्ता नयाँ पुस्ताका बालबालिकाले पनि नेपाल भाषा सिक्ने मौका पाएका छन् ।
शिक्षा मन्त्रालयमा लामो समय कार्य गरेका भाषा आयोगका पुर्व अध्यक्ष डा. लवदेव अवस्थी बालबालिकालाई स्थानीय भाषा सिकाउने महानगरको अभ्यासलाई सकारात्मक रुपमा लिन्छन् ।
'यसले भाषा संरक्षणका लागि राम्रो शन्देश दिएको छ, फरक समुदायका बालबालिकाले पनि स्थानीय भाषा सिक्दा भाषाको क्षेत्र विस्तार मात्रै हैन पछि गएर उनीहरुको रोजगारीमा सम्पर्क र सम्वाद विस्तारका लागि सहयोगी हुन्छ' उनले भने 'समावेशिताका हिसावले पनि यो कार्य राम्रो हो ।'
दुई दिने मेलाको उद्घाटन सत्रमा प्रयोग गरिएको शैलीले महानगरले अमलम्बन गरेको बालबालिकाको सिकाइ सुधार कार्यक्रमले नतिजा दिन थालेको देखिन्छ । शिक्षालाई सीपसँग जोड्ने उद्देश्यका साथ महानगरपालिकाले गत शैक्षिक सत्र देखि सामुदायिक विद्यालयहरूमा हरेक शुक्रबार ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त दिन बालबालिका विना पाठ्यपुस्तक विद्यालय जान्छन् र विभिन्न सीप सिक्छन् । यही अभ्यासलाई मेला उद्घाटनको मञ्चमा विद्यार्थीले प्रस्तुत गरेका थिए ।
विभिन्न आठ वटा प्रस्तुतीको शुरुमा विश्व निकेतनका विद्यार्थीले विहानको शुरुवात योगबाट गर्ने अभ्यासलाई प्रस्तुत गरेका थिए । यसैगरी नवजागृती विद्यालयका विद्यार्थीले प्रकोप जोखिम न्युनिकरणका बारेमा सचेतनामूलक प्रस्तुती दिएका थिए । घर, कोठा एवं वातावरणीय सरसफाई र बोटविरुवाको हेरचाहका बारेमा गीतामाता विद्यालयका विद्यार्थीले प्रस्तुती दिएका थिए । जनजागृती ज्ञान रश्मीका बालबालिकाले सडकमा हिँड्दा अपनाउनु पर्ने ट्राफिक नियकका बारेमा र बाँसवारीका विद्यार्थीले दुर्घटनामा स्काउटले गर्ने आपतकालिन उद्दारको अभ्यास देखाएका थिए । केन्द्रीय बहिरा विद्यालयका छात्राहरुने नेपाली गीतमा नृत्य देखाएका थिए । यसैगरी विद्यार्थीले फेसन डिजाईन, पाककला, सुन्दरता, चित्रकला जस्ता विषयमा आफ्ना सीप र क्षमता देखाएका थिए । मेलामा महानगरका विद्यालयका बालवालिकालाई खुवाउने ३० रुपैंयामा खाजाको स्टल पनि राखिएका छन् ।
शिक्षा विभागका तत्कालिन महानिर्देशक समेत रहेका अवस्थी कक्षा कोठा र पाठ्पुस्तक मात्रै सिकाइका थलो नहुने कुरालाई महानगरले अभ्यास गरेर पुष्टि गरेको बताउँछन् । मेलामा विद्यार्थीले बनाएका एक हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी पनि गरिएको छ ।
उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उपमेयर सुनीता डंगोलले महानगरको प्राथमिकतामा गुणस्तरीय शिक्षा रहेको त्यो गुणस्तर गरिखान सक्ने शिक्षाबाट मात्रै सम्भव भएको बताईन् । बालबालिकालाई सानै देखि दिने सीपबाटै उनीहरुले पछि गएर गरिखान सक्ने बताउँदै उनले किताबी ज्ञानले मात्रै हुँदैन भन्ने कुरा काठमाडौंका विद्यार्थीले प्रमाणित गरेको बताईन् ।
'गरिखाने शिक्षा महानगरको ईच्छा भनेर हामीले शुरु गर्यों, तर शुरुमा यो काम लाग्दैन भन्ने आलोचना पनि भयो' उनले भनिन् 'तर सीप सिक्न बालबालिकाको उत्सुकता र उनीहरुमा बढ्दो सीपले गुणस्तरीय शिक्षा दिने महानगरको योजना सफल भएको प्रमाणित भयो ।'
शिक्षाबाटै देशलाई सही दिशामा लैजान सकिने बताउँदै उनले त्यसैले महानगरले शिक्षामा पर्याप्त बजेट छुट्याएको बताईन् । विद्यार्थीले सिकेका सीप आआफ्ना विद्यालयमा मात्रै देखाउनु भन्दा सबै विद्यालयलाई एकैठाउँमा भेला गराएर देखाउँदा उनीहरुमा थप उत्साह आउने अपेक्षाका साथ मेला आयोजना गरेको उनले बताईन् ।
विद्यालयहरुमा भएको शैक्षिक सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरुबाट विद्यार्थीमा परेको प्रभावका बारेमा मेलाबाट जानकारी हासिल गर्न सकिने महानगर शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताए ।
विद्यालय शिक्षा सुधारका लागि महानगरले सामुदायिक विद्यालयहरुमा विभिन्न कार्यक्रम लागू गरेको छ । शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकास लगायतका कार्यक्रमहरुका बारेमा पनि मेलाबाट जानकारी लिन सकिने निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए ।
पानीको गुण जाँच तथा प्रविधि मार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका , टिचर कलेज प्रोग्राम सम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदान प्रदान सहित मेलामा महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारी प्राप्त हुने जनाईएको छ ।
कार्यक्रमका ३ चरण मध्ये मेला पहिलो चरणको कार्यक्रम भएको महानगरले जनाएको छ । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन फागुन २३ गते साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ । यस्तै तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तक्र्रिया आयोजना गरिनेछ
महानगरपालिका भित्र ८७ वटा सामुदायिक विद्यालय छन् । त्यहाँ ६१ हजार तीन सय २९ जना विद्यार्थी र पाँच सय २४ वटा निजी विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ जना गरी दुई लाख ७२ हजार दुई सय ६३ जना विद्यार्थी अध्ययनरत रहेको महानगरसँग तथ्याँङ छ ।
प्रतिक्रिया