Edukhabar
शुक्रबार, १६ फागुन २०८१
खबर/फिचर

विद्यालय शिक्षाको स्तरोन्नतिका लागि शैक्षिक मेला

शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकास लगायत विद्यालयमा जारी कार्यक्रमहरुका बारेमा मेलाबाट जानकारी लिन सकिने

विहीबार, १५ फागुन २०८१

काठमाडौं - विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि काठमाडौँ महानगरपालिकाले शैक्षिक मेला गर्ने भएको छ । शुक्रबार र शनिबार राष्ट्रिय सभा गृह परिसरमा हुने ‘काठमाडौँ शैक्षिक मेला २०८१’ मा विद्यालयहरुमा भएको शैक्षिक सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरुबाट विद्यार्थीमा परेको प्रभावका बारेमा प्रस्तुती एवं प्रदर्शनी हुने जनाईएको छ । उक्त कार्यबाट विद्यार्थीले सिकेका ज्ञान र सिपहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी हुने महानगरका प्रवक्ता नविन मानन्धरले बताए । महानगरका शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र संघसंस्थाहरुसँगको सहकार्यमा मेला हुने बताउँदै उनले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेला कोशेढुङ्गा हुने दावि गरे । 

महागरका शहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, शैक्षिक सत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यवहारिक र प्रयोगात्मक कक्षाहरुको नतिजा हेर्न यस्ता मेला र प्रर्दशनीले सघाउने दावी गरे । 

विद्यालय शिक्षा सुधारका लागि महानगरले सामुदायिक विद्यालयहरुमा विभिन्न कार्यक्रम लागू गरेको छ । शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकास लगायत विद्यालयमा जारी कार्यक्रमहरुका बारेमा मेलाबाट जानकारी लिन सकिने निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए । 

मेलामा विद्यार्थी नमूना संसद अभ्यास सहित विद्यार्थीले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल सहित बुक फ्री फ्राइडे अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टल मार्फत रुचि र नतिजा प्रर्दशन हुने छन् । नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक वादन तथा गायन प्रस्तुति पनि मेलामा समावेश गरिनेछ । 

पानीको गुण जाँच तथा प्रविधि मार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी, टिचर कलेज प्रोग्राम सम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदान प्रदान सहित मेलामा महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारी प्राप्त हुने जनाईएको छ । 

कार्यक्रमका ३ चरण मध्ये मेला पहिलो चरणको कार्यक्रम भएको महानगरले जनाएको छ । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन फागुन २३ गते साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ । यस्तै तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तक्र्रिया आयोजना गरिनेछ । 

महानगरपालिका भित्र ८७ वटा सामुदायिक विद्यालय छन् । त्यहाँ  ६१ हजार तीन सय २९ जना विद्यार्थी र पाँच सय २४ वटा निजी विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ जना गरी दुई लाख ७२ हजार दुई सय ६३ जना विद्यार्थी अध्ययनरत रहेको महानगरसँग तथ्याँङ छ । 

फोटो : metronews.kathmandu.gov.np

प्रतिक्रिया