शिक्षा व्यक्ति, समाज एवं सिङ्गो देश विकासकोे जग हो । अहिले देशमा शिक्षित व्यक्तिहरुको संख्यामा बढोत्तरी भएको छ । हरेक पालिकाहरुमा विद्यालय खुलेका छन् । देशमा डेढ दर्जनको संख्यामा विश्वविद्यालयहरु छन् । राज्यले शिक्षामा ठुलो लगानी पनि गरेको छ । तथापि शिक्षाले व्यक्ति, समाज र देशको समृद्धिको आधार निर्माण गर्न सकेको छैन । देशको शैक्षिक प्रणाली नै जीवन उपयोगी, व्यवसायिक तथा गरीखाने मोडलको नभएकोे विज्ञहरुको ठहर छ । आजको वास्तविता के छ भने शिक्षा रोजगारमूलक छैन । व्यवसायिक छैन । विश्वविद्यालयसम्म अध्ययन गरेर पनि शिक्षित जनशक्ति बेरोजगार छ । रोजगारीको लागि विदेश पलायन हुनु पर्ने स्थिति छ । यस कोणबाट हेर्दा अहिलेको शिक्षालाई बदलेर उत्पादन र रोजगारसँग जोड्नु पर्दछ ।
बेरोजगारी र गरिवी एक अर्काका परिपुरक हुन् । रोजगारीले आयआर्जन गर्ने अवसर दिन्छ । आर्थिक आयआर्जनको अभावमा व्यक्ति सम्पन्न हुन सक्दैन । व्यक्ति सम्पन्न नहुनु भनेको समाज र देश नै गरिब हुनु हो । आयआर्जन गर्नको लागि व्यवसायिक ज्ञान तथा सीपको खाँचो हुन्छ । शिक्षित युवापस्ता उच्चशिक्षासम्मको अध्ययन गर्दा पनि आफ्नो खुट्टामा उभिन सक्ने, उद्यमी बन्नसक्ने र स्वरोजगारको ढोका खोल्न सक्ने ज्ञान तथा सीपको अभाव भएकोले प्रमाणपत्रहरु दराजमा थन्काएर सीप रहित शिक्षित व्यक्तिको रुपमा अन्तराष्ट्रिय बजारमा कामको खोजीमा विदेसिएका छन् । त्यसैले पढे लेखेको शिक्षित जनशक्तिले देश भित्र कुनै पनि पेशा, खोज्न, रोज्न र टिकाउन सक्ने व्यवसायिक ज्ञान तथा सीप आर्जन गर्नु पर्दछ ।
विद्यालयदेखि विश्वविद्यालयहरुका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुमा देश भित्र पर्याप्त प्राकृतिक स्रोत र साधनहरु छन् भन्ने बिषयबस्तुको समावेश गरिएको छ । नेपालमा अनेक प्रकारका औषधि जन्य वनस्पतिहरु पाइन्छन् भन्ने बिषय पढाइन्छ । हाम्रो देश कृषि प्रधान देश हो । कृषि तथा पशुपालन प्रणाली परम्परागत शैलीको छ भन्ने बिषयबस्तु घोकाइन्छ । यति मात्र होइन, हाम्रो देशमा प्रशस्त मात्रामा खानी खजानाहरु छन् । सुन, चाँदी, फलाम, तामा, हिरा, मोति, युरेनियम, पेट्रोलियम पदार्थ, कोइला लगायतका खनिज पर्दाहरु छन् भन्ने सूचनात्मक शिक्षाले कसरी शिक्षितहरुमा उल्लेखित खनिज पदार्थहरुको खोज, अनुसन्धान, अन्वेषण, उत्खनन् तथा उपयोग गर्न सक्ने ज्ञान तथा सीप आर्जन हुन सक्दछ ? सक्दैन । यस कोणबाट हेर्दा हाम्रो देशको अवैज्ञानिक शिक्षा प्रणालीलाई बदलेर वैज्ञानिक तथा व्यवहारिक बनाउनु पर्दछ ।
हाम्रो देशमा प्राकृतिक स्रोत र साधनको कमी छैन । देश कृषि प्रधान छ । हिमाल, पहाड तराइको जैविक विविधता छ । कृषि उत्पादनको ठुलो संभावना छ । विद्यालय तथा विश्वविद्यालयको वरिपरि अत्यन्त अमूल्य औषधिजन्य वनस्पतिहरु छन् । खानी, खजनाहरु छन् । परन्तु हाम्रो शिक्षाले न त कृषि तथा पशुपालनको क्षेत्रलाई आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रीकीकरण तथा व्यवसायिकिकरण गर्न सकेको छ, न त वनस्पतिहरुको पहिचान र उपयोग ? यस अर्थमा शिक्षा गरीखाने हुन सकेन । सूचनात्मक ज्ञानको स्रोतको रुपमा सञ्चालित शिक्षाले व्यक्ति र समाजलाई समृद्ध बनाउन सक्दैन । देश विकास हुन सक्दैन ।
आजका विकासित राष्ट्रहरुले विकासमा फड्को मार्न सफल हुनको पछाडि ती देशहरुले अबलम्बन गरेको गुणस्तरीय एवम् वैज्ञानिक शिक्षा प्रणाली हो । उनीहरुले शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, अनुसन्धान, कृषि, पशुपालन, अर्थशास्त्र, राजनिति लगायतका क्षेत्रहरुमा चमत्कारिक विकास गरेका छन् । आज हाम्रा शिक्षित जनशक्ति अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण कोरिया, खाडीमुलुक लगायतका देशहरुमा कामदारको रुपमा गईरहेका छन् । शिक्षितहरु विदेश पलायन हुनुको पछाडि देशको शिक्षा प्रणाली उत्पादनशील, गरी खाने सीपमा आधारित नहुनु हो ।
देशका विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने कार्य शिक्षाको हो । साधारण, व्यवसायिक तथा प्राविधिक क्षेत्रमा आवश्यक दक्ष तथा व्यवसायिक जनशक्ति उत्पादनगरी व्यक्तिको समृद्धि र देशको आर्थिक विकासमा टेवा पुराउने काम नै शिक्षाको भएकोले राज्यले तदनुरुपको शिक्षा नीति, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, शिक्षण सिकाइ लगायतका क्षेत्रलाई आधुनिक, वैज्ञानिक, व्यवहारिक तथा जीवन उपयोगी बनाउनु पर्दछ ।
शिक्षाले शिक्षितहरुलाई जागरुक, चेतनशील, व्यवसायिक, आत्मविश्वासी तथा कर्मशील बनाउनु पर्दछ । शिक्षामा पेशागत ज्ञान र सीपको अभाव भएकोले देशमा शैक्षिक बेरोजगार ठूलो समस्याको रुपमा रहेको छ । अहिले विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकास र यसको प्रभावले समाजमा परम्परागत रुपमा चली आएका पेशा, व्यवसाय तथा आयआर्जनका शैलीहरु बदलिएका छन् । विज्ञान र प्रविधिले ल्याएको परिवर्तनसंग अपडेट हुन र यिनीहरुको उपयोगगरी व्यबसायिक सीप आर्जन गर्नको लागि वैज्ञानिक तथा प्रविधिमैत्री शिक्षा आवश्यक हुन्छ ।
नेपाल कृषि प्रधान मुलुक हो । कृषि क्षेत्रमा श्रमगर्ने किसानहरुलाई यस क्षेत्रमा आवश्यकपर्ने कृषि शिक्षाको जरुरत हुन्छ । यसैगरी पशुपालन, फलपूmल खेति लगायतका अन्य कृषिजन्य उत्पादनगरी यस क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायिकिकरण गर्न सक्ने सक्षम जनशक्तिको उत्पादन आजको आवश्यकता हो । शिक्षाले हाम्रो देशमा उपलब्ध जल, जमिन, जडीबुटी, जंगल, खनिज पदार्थको खोज, अनुसन्धान, उत्खनन एवं उपयोग गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक मात्र होइन, अनिवार्य शर्त हो । यसको लागि राज्यले देशको शिक्षा नीति, उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, तथा शिक्षण विधि लगायतमा संशोधन, परिमार्जन तथा परिवर्तन गरी शिक्षालाई व्यवसायिक, प्रविधिमैत्री बनाउन जरुरी छ ।
प्रतिक्रिया