मित्र एवं सिकाइ समूहका प्रवन्धक सुदर्शन घिमिरेजीले एक दिन एउटा पुस्तक थमाउनु भयो !
मैले उहाँलाई शिक्षक मासिकको प्रारम्भताकादेखि नै एक अध्ययनशील शिक्षा पत्रकारका रूपमा चिनेको । गिजुभाईले लेखेको तथा ज्ञान विज्ञान शैक्षिक सहकारी संस्थाले प्रकाशन गरेको नेपालीमा अनुदित कृति 'दिवास्वप्न' उहाँकै प्रेरणामा मैले पढेको थिएँ । त्यो समयमा म सिन्धुपाल्चोकमा जिल्ला शिक्षा अधिकारीका रुपमा कार्यरत थिएँ । यो पुस्तक विद्यालयमा शिक्षण गर्दा उपयोगी हुने लाग्यो । त्यसैले जिल्लाका हरेक विद्यालयमा कम्तीमा एउटा पुस्तकको प्रबन्ध गरिएको थियो । विद्यालयकै खर्चमा पठाइएको यो पुस्तक पढेर समीक्षा गर्ने र पठनपाठनमा उपयोग गर्ने अभ्यासबढाउने कामको संयोजन गर्न सबै स्रोतकेन्द्रलाई जिम्मेवारी दिईएको थियो ।
११ वर्ष पछि उहाँले दिनुभएको पुस्तकको नाम 'अमर पुस्तक' रहेछ !
संयोगले, आज सरस्वती पूजाको दिन, मलाई यस पुस्तक भित्र छिर्न मन लाग्यो र यसको उपयोगिता बारे केही लेख्न मन लाग्यो ।
भारतीय लेखक मनोज दासद्वारा लिखित र मोहनकुमार दाहालद्वारा पुनर्लेखन सहित अनुदित ६६+१० पृष्ठको यो पुस्तक २०७४ मा प्रकाशन गरी २०८१ मा सिकाइ समूहबाट दोस्रो संस्करण प्रकाशन भएको रहेछ । पाण्डुलिपिलाई अन्तिम रूप दिन लेखक एवं भाषाविद् शरच्चन्द्र वस्तीको योगदान रहेको छ । विद्वान् प्रदीप गिरीले पनि छाप्न प्रेरणा दिनु भएको रहेछ ।
यस पुस्तकमा अमर पुस्तक, वेद, उपनिषद्, पुराण, रामायण, महाभारत, गीता, पञ्चतन्त्र, जातक र अर्थशास्त्र गरी १० शीर्षकमा विषयवस्तु प्रस्तुत गरिएको छ।
पुस्तकको शीर्षपाठ अमर पुस्तकले अमर पुस्तकको कहानी र महत्वको सन्दर्भ स्थापित गरेको छ । यसमा पुरानो जमानामा ठूला ठूला ग्रन्थ, महाकाव्यहरू समेत कण्ठस्थ पार्ने चलन भएको र हजारौं पङ्क्तिका पद्य सामग्री मुखाग्रै हुने कैयन् व्यक्तिहरू भेटिन्थे, भनेर हाम्रो पठनशैली र अध्ययनशील विगतलाई सम्झाइएको छ । संसारका सबैभन्दा पुराना पुस्तकहरू मध्ये एक रहेको वेदमन्त्र पनि लामो समयसम्म लिखित रूपमा थिएन । पिताले पुत्रलाई र गुरुले शिष्यलाई कथ्य रूपबाट नै सिकाउँदै आएको र लेखन कला आएपछि लिपिबद्ध गर्न र छापाखानाको आविष्कार भएपछि प्रकाशन गर्न सम्भव भएको तथ्य उजागर गरिदिएको छ ।
निरक्षर व्यक्तिहरू हजारौं वर्ष कथा कहानी एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न सफल भए, पनि प्रविधिको विकाससँगै मनुष्यको त्यस्तो स्मरण शक्तिको प्रयोग कम हुँदै गएको छ । करीब तीन हजार वर्ष पुराना इलियड र ओडिसी जस्ता महाकवि होमरका महाकाव्य पनि व्यावसायिक गायकहरूले कण्ठस्थ पारेर जोगाएको, एक लाख श्लोकको महाभारतमा पनि स्मरण शक्तिका बलमा बचेको साथै लोकमा कथाहरू हाम्रा पुर्खाले पछिल्लो पुस्तालाई सुनाउँदै आएको विगत प्रति हामी कृतज्ञ बन्नुपर्छ भन्ने सन्देश रहेको छ ।
नालन्दा विश्वविद्यालयको प्रगति छैटौं शताब्दीमा नै शिखरमा पुगेको थियो । चिनियाँ यात्री ह्वेन त्सांगले त्यहाँ अध्ययन गरेका थिए । आक्रमणकारीहरूले १२औं शताब्दीमा त्यो विश्वविद्यालयमा रहेको ऐतिहासिक विशाल पुस्तकालयका सबै खण्डलाई जलाइदिए । पूर्वीय सभ्यतामा यो क्षति निकै महङ्गो मानिन्छ । अहिले संरक्षित खण्डहर मात्र रहेकोमा भर्खरै पठनपाठन प्रारम्भ भएको छ ।
प्राचीन नगरी अलेक्जेण्ड्रियामा रहेको ठूलो पुस्तकालयमा अनेकौं देशबाट जम्मा गरिएका पाण्डुलिपि थिए । थुप्रै देशबाट अध्ययन गर्न जाने गरिएको त्यस प्रसिद्ध पुस्तकालयलाई पनि सातौं शताब्दीमा जानाजान जलाइयो । पुस्तकालय जलाउनेहरूको तर्क थियो : त्यहाँका धेरै ग्रन्थहरूमा उनीहरूको धर्मको पवित्र पुस्तकमा लेखिए भन्दा फरक भएकाले पढ्नु आवश्यक छैन र पवित्र पुस्तकमै लेखिएका कुरा उनीहरूसँग भएकै पढे भइहाल्छ, पुस्तकालय चाहिन्न ।
डेनिश पादरी बेन जोसेफ अकिबालाई दोस्रो शताब्दीमा उनको पुस्तकसँगै जलाउँदा 'कागज मात्र जल्ने हुन्, शब्द त उड्छन्' भनेका थिए रे । शत्रुहरूले नष्ट पारे पनि ती पुस्तकहरू सधैंका लागि नष्ट भएनन् । त्यसैले आज हामीसँग अनमोल ग्रन्थहरू छन् । त्यसैले ग्रन्थहरूको सङ्कलन, संरक्षण गर्ने र यिनमा भएका अनमोल ज्ञान आर्जन गरी लाभान्वित हुन वर्तमान पुस्ता चुक्नु हुँदैन ।
अझ पूर्वीय सभ्यता विश्वको सर्वाधिक प्राचीन सभ्यतामध्ये एक भएकाले यसका अनेक आयाममध्ये शिक्षा प्रणाली र पुस्तक एक हो । हाम्रा ऋषि महर्षिले लामो समयसम्म तपस्या अर्थात् मेहनत गरेर तयार गरेका र हजारौं वर्षदेखि पढिँदै आएका त्यस्ता पुस्तकहरू उपनिवेशकालमा ओझेलमा पारिए । पाश्चात्य शिक्षा प्रणालीले पूर्वको ज्ञानको धरोहर त्यस्ता ग्रन्थहरू उपेक्षित प्रायः बनाउदै ल्याएको छ । पुर्खाले जोगाएर छोडिदिएको यस्तो ज्ञानको भण्डारलाई हामीले उपयोग गर्न सके हरेक दृष्टिकोणबाट जीवन सफल बनाउन सहज हुन्छ ।
त्यसैले पुस्तकको भूमिका खण्डमा भनिएको छ, नेपालको स्कूल कलेजको आजको पाठ्यक्रम र पाठ्यपुस्तकमा हाम्रा पुराना ग्रन्थहरूले यथोचित स्थान नपाउनु त्यसैको परिणाम हो । हाम्रो आफ्नै ज्ञान भण्डारबाट नयाँ पुस्ता सर्वथा विमुख हुन पुग्नुलाई पक्कै पनि सुखद मान्न सकिन्न । आज पनि यी ग्रन्थहरूको सान्दर्भिकता उत्तिकै रहेकोमा कुनै सन्देह छैन ।
पुस्तकमा रहेको वेद शीर्षकको लेखले ऋषिमुनिहरुको आन्तरिक अनुभवको विवरण रहेकोले यो निकै उपयोगी रहेको चर्चा गरिएको छ । उनीहरूले मनुष्यमा शरीर र मस्तिष्कका साथै आत्मा पनि हुने बताउँछन् । वेद र वेदका रचयितासँग हाम्रो निकै गहिरो सम्बन्ध रहेको छ ।
उपनिषद् शीर्षकको लेखले १०८ ओटा उपनिषद् रहेका र यी सबै वेदकै अङ्ग रहेको मानेको छ । उपनिषद्ले दिने मुख्य सन्देश व्यक्तिले आफूले आफूलाई चिन्नु र बुझ्नुपर्छ भन्ने रहेको छ ।
पुराण शीर्षकको लेखले जो पुराना भएर पनि सदा नयाँ प्रतीत हुने ज्ञानका रुपमा पुराणलाई ग्रहण गरेको छ । पुराणहरू १८ ओटा छन् । पुण्य कमाउनलाई परोपकार गर्नु पर्ने र परपिडा दिनाले पाप हुने तथ्य नै पुराणको मूल दर्शन रहेको मानिन्छ ।
रामायण शीर्षकको लेखमा विश्व साहित्यकै सुप्रसिद्ध बाल्किमीद्वारा रचित र नेपाली भाषामा भानुभक्तद्वारा रचित महाकाव्य रामायणको परिचय दिएको छ । यसमा श्रीरामचन्द्रको आज्ञाकारिता, भातृप्रेम, पत्नीव्रत, जनवोलीको सम्मान, वीरता, साहस र दयालुपन र आदर्श जीवन जस्ता सदगुणहरू सिक्न सकिने चर्चा गरिएको छ ।
महाभारत शीर्षकको लेखमा १८ पर्व र एक लाख श्लोक भएको द्वापरकालीन पौराणिक कहानी भएको महाकाव्यको चर्चा छ । वेदव्यास रचित यस माहकाव्यले राज्य सञ्चालन साथै जीवन जिउने अनन्त कलाहरू सिकाएको बताइन्छ ।
गीता शीर्षकको लेखले महाभारत भित्र युद्धका सन्दर्भमा सारथी श्रीकृष्णले धनुर्धारी अर्जुनलाई दिएका दिव्य ज्ञानको चर्चा छ । यहाँ भगवत् गीताले दिने सन्देशमध्ये कर्म योगको सिद्धान्त सर्वाधिक लोकप्रिय रहेको बताइएको छ । हामीले कर्तव्यच्यूत बन्न नहुने र भ्रममुक्त भई कर्तव्यपथमा अग्रसर हुन दिएको सन्देश यसमा वर्णन गरिएको छ ।
पञ्चतन्त्र शीर्षकको लेखले जीवनोपयोगी र नैतिक शिक्षाले भरपूर कथाहरूको भण्डार पञ्चतन्त्रको चर्चा गरेको छ । एकजना राजाका पढ्न मनै नगर्ने तीन राजकुमारहरूलाई शिक्षा दिन विष्णु शर्माले पशुपङ्षी बोल्ने कथाका माध्यबाट उनीहरुलाई सिकाए । निस्वार्थ रहने र सावधानी अपनाउन सके राम्रो फल दिने सन्देश यो कथा श्रृङ्खलामा रहेको उल्लेख छ ।
जातक शीर्षकको लेखमा गौतम बुद्ध र बद्ध दर्शनसँग सम्बन्धित जीवनोपयोगी कथाहरूको चर्चा गरिएको छ । आफूले पाएको मन्त्र दिक्षा बारे झुट बोलेकोले प्रभाव हराएको नैतिक सन्देशमूलक कथाको प्रसङ्ग पनि यसमा रहेको छ ।
पुस्तकको अन्तिम लेख अर्थशास्त्र लेखमा चाणक्यद्वारा लिखित अर्थशास्त्र पुस्तक आध्यात्मिक, दार्शनिक वा साहित्यिक नभई राजनीति, कानुन, कुटनीति, समाजशास्त्र र अर्थशास्त्र सम्बन्धि ग्रथ भएको चर्चा गरिएको छ । मगधका सम्राट चन्द्र गुप्तले चाणक्यको मार्ग दर्शनमा सिंहासन प्राप्त गरेको र मौर्य शासन सञ्चालन भएको बताईएको छ । स्वार्थीपन र हिंसा जस्ता गलत आचरणलाई असल शिक्षकहरूको रेखदेखमा पालनपोषण गर्नु नै सबैभन्दा उपयुक्त समाधान हुने चाणक्यको मार्गदर्शन रहेको छ ।
यसरी यो पुस्तकले नौ ओटा विश्वप्रसिद्ध पुस्तकहरूको संङक्षिप्त गरिचय दिएर जिज्ञासु पाठकमा ज्ञानको भोक जगाउने काम गरेको छ । यसका साथै अमर पुस्तक शीर्षकबाट हाम्रो ज्ञान प्राप्ति र ज्ञान सङ्ग्रहको विगत अनि त्यो समयमा नष्ट भएका तर दुखले जोगाएर ल्याएका अमूल्य ज्ञान भण्डारका बारेमा मन छुने सन्दर्भ र जानकारी प्रदान गरेको छ ।
अहिले छापा र विद्युतीय सामग्री तथा इण्टरनेटमा अधिक आश्रित बनेर हामीले पठनसीप घटाएका छौँ । परेका बेला खोजे भैहाल्छ नि भनेर ज्ञानलाई भर्चुअल वा छापिएका सामग्रीमा सिमित गर्न थालेका छौँ । अध्ययन गर्ने, मुखाग्र गर्ने र परेका बेला सन्दर्भ पुस्तक नहेरी फरर बताउन सक्ने सिप कमजोर बन्दै आएको छ । नयाँ नयाँ ज्ञानको खोजी गर्ने वहानामा पूर्वीय सभ्यता र हाम्रा पुर्खाले दिएको ज्ञान भण्डारको उपेक्षा समेत भइरहेको गुनासो रहने गरेको छ । तसर्थ यो कृति अमर पुस्तक आकारमा सानो छ तर गुणात्मक रूपमा बृहत छ । यस्ता सामग्री नेपाली पाठक, अझ विद्यालय र महाविद्यालयका शिक्षार्थी र शिक्षा प्रदायक सबैका लागि उपयोगी देखिन्छ । यति सरल र उपयोगी सामग्री खोजेर, मेहनत गरेर पुनर्लेखन गराएर र छपाएर नेपाली पाठक समक्ष ल्याउने सिकाइ समूह र सुदर्शन जीलाई विशेष धन्यवाद ।
शिक्षा मन्त्रालयका उपसचिव गौतम, हाल शिक्षक सेवा आयोगमा कार्यरत छन् ।
प्रतिक्रिया