Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

एसएलसी दिनेले ‘प्लस टु’ पढ्न पायो 

आइतबार, २७ मंसिर २०७२

काठमाडौं, २७ मंसिर । यस वर्षको एसएलसी परीक्षामा सहभागी हुने सबैले ०७३ सालमा उच्च माध्यमिक विद्यालयहरूमा भर्ना हुन पाउने भएका छन् ।  यस वर्षदेखि उत्तीर्ण वा अनुत्तीर्ण उल्लेख नगरी एसएलसीको मूल्यांकन अक्षरांकन पद्धतिमा हुने भएपछि सबैले उमाविमा भर्ना पाउने भएका हुन् । 

सबैले प्लस टुमा भर्ना पाउने भए पनि कमजोर नतिजा ल्याउनेले रोजेको ‘स्ट्रिम’मा जान भने पाउने छैनन् । उच्च माध्यमिक शिक्षा परिषद्का सदस्यसचिव नारायण कोइरालाले भर्ना हुन कसैलाई नरोक्ने, तर भर्नाका लागि आधार तय गरिने बताए । 

परिषद्ले पाठ्यक्रम, पाठ्यपुस्तकलगायत विषयमा अध्ययन गर्न शिक्षाविद् प्रा. मनप्रसाद वाग्ले, प्रा. वासुदेव काफ्लेसहित चारजनाको प्राविधिक कमिटी बनाएको छ ।  कमिटीले प्रतिवेदन बुझाएपछि औपचारिक रूपमा निर्णय गरिने सदस्यसचिव कोइरालाले बताए । 

एसएलसीमा कमजोर नतिजा भएकालाई सफ्ट स्किलका कार्यक्रममा भर्ना हुने व्यवस्था गर्ने तयारी हुँदै छ । त्यस्ता विद्यार्थीलाई होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजमजस्ता क्षेत्रमा अध्ययनका लागि बाटो खुला गर्न सकिने कोइरालाको भनाइ छ । 

कोइरालाले भने, ‘कक्षा ११ र १२ मा कस्ता विद्यार्थीले कुन विषय पढ्न पाउने भन्ने विषयमा पुस मसान्तसम्ममा आधार निर्धारण गर्छौँ ।’ विज्ञानलगायतका ‘स्ट्रिम’ विषय पढ्नका लागि इन्ट्रान्सलगायतको व्यवस्था हुने उनको भनाइ छ ।

(आजको नयाँ पत्रिकामा दैनिकमा प्रकाशित समाचार) 

प्रतिक्रिया