काठमाडौं - शिक्षकको पेन्सनपट्टा बनाउन घुस मागेको अभियोगमा पक्राउ परेका शिक्षाका कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पेन्सनपट्टा बनाईदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले नगद तीन लाख रुपैंया सहित राष्ट्रिय किताब खाना (शिक्षक), छाउनीमा कार्यरत अधिकृत धनेश्वर प्रसाईंलाई गत पुस १४ गते पक्राउ गरेको थियो ।
पढ्नुहोस् : शिक्षकको पेन्सनपट्टा बनाउन घुस मागेको अभियोगमा रकम सहित कर्मचारी पक्राउ
३६ दिन लामो अनुसन्धान सकेर आईतबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अनुसन्धानको शिलसिलामा अधिकृत प्रसाईं सहित कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपाने समेतको मिलोमतो देखिएको पुष्टि भएको अख्तियारको दावी छ ।
'सेवाग्राहीको नियमानुसार पेन्सन पट्टा (निबृत्तभरण अधिकार पत्र) बनाई दिनको लागि बिभिन्न बहाना बनाई तीन लाख रुपैयाँ घुस/ रिसवत माग गरी लिएको पुष्टि भएको'ले शाखा अधिकृत प्रसाईं र कार्यालय सहयोगी भवानी अधिकारीलाई तीन लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय हुने अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
यस्तै बिचौलिया न्यौपानेलाई पनि तीन लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजायको माग सहित अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
अभियुक्त प्रसाईं शिक्षा मन्त्रालयका उच्च अधिकारीहरुकै संरक्षणमा रहेको खुलेको छ ।
यो पढ्नुहोस् : शिक्षा मन्त्रालयका उच्च अधिकारीकै संरक्षणमा थिए घुस काण्डमा मुछिएका प्रसाईं
प्रतिक्रिया