काठमाडौं - शिक्षक सेवा आयोगको रिक्त रहेको दुई जना सदस्य बन्नको लागि आवेदन हाल्नेहरुमा सामुदायिक र निजी विद्यालयका शिक्षकहरुको संख्या धेरै छ । आयोगको सदस्य हुन ३१ जनाले आवेदन दिएकोमा ११ जना शिक्षक छन् । यसमा निजी र सामुदायिक विद्यालयका प्रधानाध्यापक समेत छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको छनोट समितिले सार्वजनिक गरेको विवरण अनुसार आयोगका सदस्य हुनको लागि आवेदन हाल्नेमा शिक्षाका पूर्व सहसचिवहरु पनि छन् । शिक्षाका पुर्व सहसचिवहरु केशवप्रसाद दाहाल, डा.भोजराज काफ्ले, रामशरण सापकोटा, युवराज सुवेदीले आवेदन दिएका छन् । त्यस्तै अन्य सेवाका पूर्व सहसचिव हिरामणी शर्मा, थानेश्वर गौतम, नवराज सापकोटा, दिपक खनालले पनि निवेदन दिएका छन् ।
शिक्षकहरुबाट खड्गप्रसाद खरेल, चन्द्रप्रसाद मैनाली, पवित्रा सुवेदी, भवानी प्रसाद पन्त, यादवकुमार तिमल्सिना, विष्णुप्रसाद भण्डारी, डा.लाक्पा शेर्पा, कृष्णप्रसाद नेपाल, डा. जानुका नेपाल, रामनारायण शाह, गिता गिरी छन् । शेर्पा किर्तिपुरको ल्याबरोटरी स्कुलका प्रिन्सिपल हुन भने नेपाल कालिमाटी स्थित नीलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक हुन् ।
शिक्षा मन्त्रालयका पूर्व उपसचिवहरु सुकदेव सापकोटा, अर्जुन रायमाझी, टंकप्रसाद गौतम, खेमनाथ पोखरेलले आयोगको सदस्यको लागि आवेदन दिएका छन् ।
गैर सरकारी संस्थामा काम गरेका डा. मीनबहादुर शाही, भगवती भण्डारी शर्मा, निजी विद्यालय सञ्चालक बबिता लाभ कायस्थले आवेदन दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका पूर्व सदस्य सचिव दुर्गा अर्याल, बोर्डकै पूर्व उपसचिव डा. रामचन्द्र पाण्डेले पनि आयोगको सदस्यको लागि आवेदन दिएका छन् ।
लोक सेवा आयोगका अध्यक्ष संयोजक रहेको छनोट समितिले माघ १ मा दर्खास्त आव्हान गरेको थियो । समिति सदस्यमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दिपक काफ्ले छन् ।
दरखास्त स्विकृत भएका ३१ जनाको नामावली हेर्नुहोस् :
दरखास्त स्वीकृत भएका उम्मेदवारले अवधारणा पत्र सहित व्यवसायिक कार्ययोजना पेश गरेका छन् । उनीहरुले पेश गरेको कार्ययोजना कोडिङ गरेर मुल्याङ्कको काम सुरु भइसकेको समितिले जनाएको छ । अवधारणापत्र सहितको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवर्ताबाट सदस्य छनोट हुनेछ । मुल्याङ्कन गर्दा सहसचिव वा सो सरहको अनुभव बापत प्रतिवर्ष २ अकं र शाखा अधिकृत वा सो सरह, उपसचिव र सो सरहको पदको पदको अनुभव बापत प्रतिवर्ष एक अंकको दरले बढीमा २० अंक पाउने छन् । त्यस्तै शैक्षिक योग्यतामा १० अंक, अवधारणापत्र सहितको व्यवसायिक कार्ययोजनामा ४० अंक, अवधारणा पत्र सहितको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा १० अंक, अन्तरवार्तामा २० अंक दिने गरी मुल्याङ्कनको आधार बनाइएको छ ।
२०७७ पुषमा नियुक्ति गर्न सिफारिस गरिएका जनसेवा मावि काठमाडौं, कीर्तिपुरको प्रधानाध्यापकबाट अवकास भएकी नन्दकुमारी महर्जन र शिक्षा मन्त्रालयका पूर्व सहसचिव डा. डिल्लिराम रिमालको अवधि सकिएपछि नयाँ सदस्य नियुक्तिको प्रकृया शुरु गरिएको हो । महर्जन गत असोजमा अवकास भईसकेकी छन् भने रिमाल यही माघ अन्तिममा ६५ बर्षे उमेर हदका कारण अवकास हुँदै छन् । यीनै दुई पदका लागि दरखास्त आह्वान गरिएको हो ।
तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थका कारण सिफारिस भएको सात महिना पछि बल्ल उनीहरुको नियुक्ति भएको थियो ।
पढ्नुहोस् : शिक्षक आयोगका पदाधिकारी नियुक्तिमा शिक्षा मन्त्रीको 'रहस्यमय' ढिलाई !
प्रतिक्रिया