Edukhabar
सोमबार, १९ फागुन २०८१
खबर/फिचर

६ देखि १० कक्षा सम्म अध्ययनरत छात्राहरुका लागि टिकटक प्रतिष्पर्धा

विभिन्न चार क्षेत्रमा केन्द्रित भएर टिकटक भिडियोको मूल्याँकन गरिने

बुधबार, ०९ माघ २०८१

धनगढी - पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको प्रचार प्रसार गर्न ६ देखि १० कक्षा सम्म अध्ययनरत छात्राहरु बिच टिकटक प्रतिष्पर्धा गराईने भएको छ । स्वास्थ्य कार्यालय कैलालीले जिल्ला भित्रका सबै पालिकाहरुलाई यस बारेमा जानकारी दिन आफ्ना क्षेत्रका विद्यालयहरुमा परिपत्र गर्न पत्राचार गरेको छ । 

विभिन्न चार क्षेत्रमा केन्द्रित भएर टिकटक भिडियोको मूल्याँकन गरिने कार्यालयले जनाएको छ । भिडियो रचनात्मक हुनु पर्ने मूल्याँकनको पहिलो आधार हो । मौलिक रुपमा रचनात्मक भिडियो हुनु पर्ने, खोपको बारेमा र यसको महत्वका बारेमा स्पष्ट रुपमा बुझाउन सक्ने हुनु पर्ने, भिडियो हेर्ने दर्शकको संख्या उल्लेख्य हुने पर्ने, भिडियोमा हुने लाईक, शेयर र कमेण्ट मूल्याँकनको अर्को आधार मानिएको छ । यसैगरी उक्त भिडियोले लक्षित उमेर समूहका किशोरीहरुलाई खोप प्रति उत्प्रेरणा जगाउने खालको हुनु पर्ने छ । 

परिवारसँग बसेर हेर्न मिल्ने ाखलको भिडियो बनाउनु पर्ने एवं भिडियोको शुरुमै आफ्नो नाम, विद्यालयको नाम र आफू अध्ययनरत कक्षा एवं आफ्नो पालिकाको नाम भन्नु पर्ने छ । यो प्रतियोगिता कैलाली जिल्ला भित्रका विद्यालयहरुमा अध्ययनरत छात्राका लागि मात्रै हो ।  

पहिलो पुरस्कार हेल्थ किट, प्रमाणपत्र र पुरस्कार हुने छ भने दोश्रोमा प्रमाणपत्र र पुरस्कार एवं तेश्रोमा प्रमाणपत्र हुने कार्यालयले जनाएको छ । माघ २२ गते सम्म भिडियो स्वास्थ्य कार्यालय कैलालीको फेसबुक पेजमा ट्याग गर्नु पर्नेछ । नतिजा माघ २२ गते बेलुका चार बजे सोही फेसबुक पेज मार्फत् घोषणा गरिने जनाईएको छ ।

विद्यालय जाने छात्राको हकमा कक्षा ६ देखि १० सम्म र विद्यालय नजानेको हकमा १० बर्ष देखि १४ बर्ष उमेरका किशोरीलाई यो खोप दिईन्छ । वायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र खोप दिईन्छ ।

महिलाहरुमा सबैभन्दा बढी हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर दोश्रो स्थानमा पर्दछ । एचपीभि नामक भाईरसबाट हुने क्यान्सरको संक्रमणबाट सुरक्षित हुन खोप अभियान शुरु हुँदै छ । उक्त अभियानमा सिकोलिन खोप दिईने स्वास्थ्य कार्यालयले जनाएको छ । 

फागुन ६ गते सम्म सञ्चालन हुने खोप अभियानको प्रचार प्रसारको लागि टिकटक प्रतिष्पर्धा गर्न गईरहेकोले विद्यालयमा अध्ययनरत छात्राहरुलाई जानकारी गराईदिनु हुन भन्दै धनगढी उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र बहादुर चन्दले गत माघ ३ गतेको मितिमा उपमहानगर भित्रका सबै विद्यालयहरुमा पत्राचार गरेका छन् । 

फोटो : गुगल 

प्रतिक्रिया