भक्तपुर - विद्यार्थीलाई स्थानान्तरण गर्न नचाहने विद्यालयहरुलाई कारवाही गरी आफैंले स्थानान्तरण गरी विवरण अद्यावधिक गरिदिन शिक्षा तथा मानव श्रोत विकास केन्द्रले स्थानीय तहहरुलाई आग्रह गरेको छ । विभिन्न कारणले एउटा विद्यालयबाट अर्को विद्यालयमा जान वाध्य विद्यार्थीलाई सम्बन्धित विद्यालयहरुले स्थानान्तरण अनुमति नदिने एवं विवरण अद्यावधिक नगरिदिए पछि मर्का परेको विद्यार्थी एवं अभिभावकहरुको गुनासो आईरहेका बेला केन्द्रले स्थानीय तहलाई यस्तो परिपत्र गरेको हो ।
आफ्नो विद्यालयमा पढेका विद्यार्थी अरु विद्यालय जानबाट रोक्ने मनसायले कतिपय निजी विद्यालयहरुले विद्यार्थीको विवरण स्थानान्तरण गर्न अनिच्छा देखाउँदै आएको गुनासो बढ्दो छ । यही गुनासोलाई सम्बोधन गर्दै केन्द्रले गत शुक्रबार गरेको परिपत्रमा कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पनि स्मरण गराएको छ ।
एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली ईमिसमा गत साउन ७ गते भित्रै विद्यार्थी विवरण अद्यावधिक गर्न भनिएको थियो । तर, कक्षा ११ र १२ मा भर्ना बाँकी रहेको भन्दै विद्यालय र स्थानीय तहहरुले समय थप गर्न गरेको आग्रह अनुसार केन्द्रले उक्त विवरण यही पुस २२ गते भित्र अद्यावधिक गर्न भनेको छ । यसरी अद्यावधिक गर्दा स्थानान्तरण हुन बाँकी विद्यार्थीलाई ईमिस प्रणाली मार्फत् नै स्थानान्तरण भएकै विद्यालयमा अद्यावधिक गर्न भनिएको छ ।
वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका, बिचमा विद्यालय छाडि फेरी भर्ना हुन आएका, विगत बर्षहरुमा ईमिसमा विवरण नभएका, विदेशी नागरिकका बालबालिकाहरुको विवरण विद्यालयमा प्रविष्ट गर्ने काममा सहजीकरण गर्न केन्द्रले स्थानीय तहहरुलाई आग्रह समेत गरेको छ । यस अघि नै ईमिस प्रणालीमा समय भित्रै तथ्याङ्क प्रविष्ट नगरेका कारण शैक्षिक सत्र २०८० को कक्षा ११ मा विवरण नदेखिएका विद्यालयहरुले कक्षा १२ मा विद्यार्थी अपडेट गर्न नसकेको अवस्था आयो भने स्थानीय तहले आफ्नै युजर मार्फत् सुविधा दिई अपडेड गराउन पनि केन्द्रले आग्रह गरेको छ ।
प्रतिक्रिया