Edukhabar
आइतबार, १४ पुस २०८१
गतिविधि

१४ हजार धेरै विद्यार्थी दीक्षित

प्राप्त ज्ञान प्रति कुनै घमण्ड नगरी विनयशील हुन विद्यार्थीलाई प्रधानमन्त्री एवं कुलपतिको आग्रह

शनिबार, १३ पुस २०८१

काठमाडौ - आफ्नो स्वर्ण दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयले  १४ हजार तीन सय आठ विद्यार्थीलाई दीक्षित गरेको छ । शनिबार दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा स्नातक तर्फ नौ हजार ६८, स्नातकोत्तरमा पाँच हजार ५५, एमफिलमा ६३ र विद्यावारिधि (पिएचडी) गर्नेहरु एक सय २२ जना दीक्षित भएका विश्वविद्यालयले जनाएको छ । 

एकैपटक धेरै विद्यार्थी दीक्षित गर्नेमा त्रिभुवन विश्वविद्यालय अग्रस्थानमा छ । गत बर्ष ४९ औँ दीक्षान्त समारोहमा एकै पटक धेरै विद्यार्थी दीक्षित गराएको भन्दै अफिसियल वर्ल्ड रेकर्डले  विश्वविद्यालयलाई प्रमाणपत्र दिएको थियो । यस बर्ष गत वर्ष भन्दा करिब दुई हजार बढी विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । गत बर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका थिए । 

गत बर्षको यो समाचार पनि पढ्नुहोस् : योग्य मध्ये ८३ प्रतिशत विद्यार्थी सहभागि नगराउँदा पनि वर्ल्ड रेकर्ड !

अर्थशास्त्री डा.रामप्रकाश यादवको प्रमुख आतित्थ्यमा भएको ५० औं दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई विभिन्न पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा सम्बाधेन गर्दै ओलीले प्राप्त ज्ञानप्रति कुनै घमण्ड नगरी विनयशील हुन विद्यार्थीलाई आग्रह गरे । उपाधि प्राप्त गरे पनि अध्ययन पुरा नहुने भन्दै उनले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि आग्रह गरे । 

'भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम छैन' उनले भने  'मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।'

tu_50_kp

नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै उनले पूर्खाको ज्ञानप्रति कृतज्ञ भएर थप सिक्नुपर्नेमा जोड दिए । प्रमुख अतिथि यादवले जीवनमा संघर्ष र इमानदारितालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताए ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले विश्वविद्यालयको व्यवस्थापकीय सुधारका लागि एक आपसमा क्याम्पसहरु गाभ्ने नीति लिइएको बताए । 

विश्वविद्यालयको विभिन्न तह / विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थी र उनीहरुले प्राप्त गरेको पदक 

१. हीरा श्रेष्ठ, व्यवस्थापन संकाय त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक 

२. सुधा काफ्ले, स्कुल अफ म्यानेजमेण्ट, श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक 

३. सुशील पोखरेल, रसायनशास्त्र त्रिवि, अमृत पदक 

४. रिकिता भण्डारी, वातावरण विज्ञान त्रिवि, मदन विद्या वातावरण विज्ञान पुरस्कार 

५. रेविका भण्डारी, काठमाडौँ मोडल कलेज, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार 

६. सुदीक्षा घिमिरे, रत्नराज्यलक्ष्मी क्याम्पस, नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्णपदक 

७. सञ्जीवकुमार सिंह, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, शान्ति–नारायण मिश्र पदक 

८. प्रतीकराज जोशी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग, डा. दुबसु क्षेत्री स्वर्ण पदक 

९.श्रीणा क्षेत्री, नस्पति शास्त्र केन्द्रीय विभाग, इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक 

१०. चेतना कुँवर, आमसञ्चार केन्द्रीय विभाग, नारायण शान्ति मिश्र पदक 

११. श्रीज्या काफ्ले, अर्थशास्त्र केन्द्रीय विभाग, तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार

१२. सीताकुमारी श्रेष्ठ, शिक्षाशास्त्र केन्द्रीय विभाग शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार 

फोटो : प्रधानमन्त्रीको सचिवालय 

प्रतिक्रिया