काठमाडौं - हालै नियुक्त तीन विश्वविद्यालयका उपकुलपतिलाई कुलपतिका हैसियतमा प्रधानमन्त्री केपी ओलीले शुक्रबार सपथ खुवाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम पछि उनले उपकुलपतिहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत आईतबार कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीले पोखरा विश्वविद्यालयमा निजी कलेज सञ्चालक प्रा.डा. वेदराज केसीलाई कुलपति नियुक्त गरेका थिए । एमाले निकट प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसीलाई ओलीले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार बनाउन चाहे पनि सकेका थिएनन् । आफू सत्ताको नेतृत्वमा आएपछि उनले केसीलाई उपकुलपति बनाएका हुन् ।
यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियालाई ओलीले संगै सपथ खुवाएका हुन् । सो अवसरमा विश्वविद्यालयकी सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्च कर्मचारी लगायत उपस्थित थिए ।
प्रतिक्रिया