काठमाडौं - निजी कलेज सञ्चालक प्रा.डा.वेदराज केसीलाई कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका छन् । एमाले निकट प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसीलाई ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन् ।
केसी, पोखरा विश्वविद्यालयबाटै सम्बन्धन प्राप्त कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्ट र अल्पाइन मेनेजमेण्ट कलेजका सञ्चालक हुन् । उपकुलपतिको लागि उनी सहित १५ जनाको आवेदन परेको थियो । तीन जनाको आवेदन नाम छनोट सिफारिस समितिले अस्वीकृत गरे पछि अन्तिम प्रतिष्पर्धामा १२ जना थिए । ती मध्ये समितिले उपकुलपतिका लागि नेपालगञ्ज १० बाँकेका केसी सहित प्रा.डा. केदार घिमिरे र प्रा.डा. सरोज कोईरालाको नाम सिफारिस गरेको थियो ।
उपकुलपतिमा नियुक्त केसीले पहिला कलेजमा लगानी गरेको भए पनि अहिले नभएको दावी गरे ।
‘मेरो अहिले कुनै पनि कलेजमा लगानी छैन’ उनले भने ।
सुमना श्रेष्ठ शिक्षामन्त्री भएको बेला ओलीले केसीलाई त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार बनाउन दबाब दिएका थिए । उपकुलपति प्रा.डा. केशरजंग बराल र श्रेष्ठले दलका कार्यकर्तालाई रजिष्ट्रार बनाउन नहुने अडान लिएपछि केदारप्रसाद रिजाललाई नियुक्त गरिएको थियो ।
पोखरा विश्वविद्यालयको उपकुलपति छनोट गर्न कातिक २७ मा सूचना प्रकाशित भएको थियो ।
यसैगरी ओलीले नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाललाई नियुक्त गरेका छन् । नेपाल उक्त विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक तथा वाल्मीकि विद्यापीठको सिद्धान्त ज्योतिष विषयका विभागीय प्रमुख हुन् । यस विश्वविद्यालयको उपकुलपति हुन नेपाल सहित १३ जनाले आवेदन हालेका थिए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ओलीले प्रा.डा. शारदा थपलियालाई उपकुलपतिमा नियुक्ति गरेका छन् । थपलिया २०७५ सालमा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगकी सदस्य समेत थिईन् । कृषि विश्वविद्यालयको उपकुलपतिका लागि थपलिया सहित प्रा.डा. अर्जुन कुमार श्रेष्ठ, प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, प्रा.डा. पुष्करबहादुर पाल, प्रा.डा. बलराम कुमार भट्ट र प्रा.डा. होमबहादुर बस्नेतले आवेदन दिएका थिए ।
प्रतिक्रिया