Edukhabar
शनिबार, ०६ पुस २०८१
खबर/फिचर

विधेयक पारित भएको तीन महिना पछि पहिलो कुलपति चयन

देशका खुला बाहेकका विश्वविद्यालयमा प्रधानमन्त्री कुलपती र शिक्षा मन्त्री उपकुलपति रहने व्यवस्था छ । शैक्षिक एवं प्राज्ञिक थलोमा राजनीतिक व्यक्ति कुलपति हुँदा राजनीतिक स्वार्थ हावी हुने भन्दै यस विश्वविद्यालयमा संरक्षक परिषद्को परिकल्पना

शुक्रबार, ०५ पुस २०८१

काठमाडौं - नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन भएका छन् । एसियाली विकास बैंकको पूर्व उपाध्यक्ष रहेका लोहनीलाई संरक्षक परिषद्को पहिलो बैठकले कुलपति चयन गरेको विश्वविद्यालयले जनाएको छ । परिषद् विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय हो । 

भारतको बिरला इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनियरिङमा स्नातक लोहनी अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङमा स्नातकोत्तर हुन् । नेपालको निजामती सेवामा समेत कार्य गरेका उनले एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कुलपतिको कार्यकाल चार बर्षको हुने नेपाल विश्वविद्यालय ऐन २०८१ मा व्यवस्था छ । 

गत भदौ अन्तिम साता प्रतिनिधि सभा बैठकले विधेयक पारित गरेसँगैं १४ औं विश्वविद्यालयका रुपमा नेपाल विश्वविद्यालय अस्तित्वमा आएको थियो । देशमा रहेका १३ वटा मध्ये खुला बाहेकका विश्वविद्यालयमा प्रधानमन्त्री कुलपती र शिक्षा मन्त्री उपकुलपति रहने व्यवस्था छ । खुलामा शिक्षा मन्त्री कुलपति हुने व्यवस्था छ । विश्वविद्यालय जस्तो शैक्षिक एवं प्राज्ञिक थलोमा राजनीतिक व्यक्ति कुलपति हुँदा राजनीतिक स्वार्थ हावी हुने भन्दै यस विश्वविद्यालयमा संरक्षक परिषद्को परिकल्पना गरिएको हो । विश्वविद्यालयमा संरक्षक, प्राज्ञिक र कार्यकारी परिषद् हुने छन् । अनुसन्धान केन्द्र, स्कुल र कलेज जस्ता संरचनात्मक संगठन हुने छन् । कुलपति, उपकुलपति, रजिष्टार, डीन, निर्देशक, प्रिन्सिपल लगायतका पदाधिकारी हुने ऐनमा परिकल्पना गरिएको छ । 

अन्तर विधात्मक अवधारणामा आधारित बहुविषयगत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धान मार्फत् दक्ष , सृजनशील र प्रतिष्पर्धी मानव श्रोतको उत्पादन गर्न, नवीनतम ज्ञानको सिर्जना र नवप्रर्वतन गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याउन विश्वविद्यालय स्थापना गरिएको विश्वविद्यालय ऐनमा उल्लेख छ । 

प्रतिक्रिया