Edukhabar
बुधबार, ०२ माघ २०८१
खबर/फिचर

शिक्षा विधेयकमा विज्ञको सुझाव : शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राखौं

शिक्षामा व्यापार निषेध गर्नु पर्ने

बुधबार, २६ मंसिर २०८१

काठमाडौं - सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सामुदायिक विद्यालयका शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्नु पर्ने शिक्षाविद्ले सुझाव दिएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले बुधबार शिक्षाविद्हरुसँग गरेको छलफलमा शिक्षाविद् केदारभक्त माथेमाले दलगत राजनीतिक आवद्धताका कारण सार्वजनिक शिक्षा धरासायी भएको दावी गरे । शिक्षकलाई तलब भत्ता, पेन्सन जस्ता सुविधाहरु राज्यले उपलब्ध गराउँदा पनि शिक्षकले नतिजा मुलक कार्य गर्न नसक्नुको कारण दलगत आवद्धताले नै भएको उनको तर्क छ । 

'शिक्षकलाई सुविधा छ तर उसले परफरमेन्स किन दिन सकिरहेको छैन ?' प्रश्न गर्दै उनले भने 'नतिजा ननिकाल्दा पनि प्रधानाध्यापकले केही गर्न सक्दैन, किन भने उसको राजनीतिक पहुँच छ, माथिबाटै प्रेसर आउँछ ।'

कुनै पनि नागरिकले राजनीीतक आस्था राख्न पाउने तर शिक्षण पेशामा लाग्नेले दल त्याग्नै पर्ने उनको सुझाव छ । आफू त्रिभुवन विश्वविद्यालयमा उपकुलपति हुँदा नरहरी आचार्य, मंगलसिद्धि मानन्धरहरुले पेशा छाडेर राजनीति गर्न गएको स्मरण गर्दै उनले राजनीतिक आवद्धताले शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव परेको बताए । 

अति नै राजनीतिले गर्दा सार्वजनिक विद्यालयहरुबाट विद्यार्थीको भागाभाग भएको बताउँदै उनले संसविधानले समाजवाद उन्मुख समाज निर्माण गर्ने भनेकाले सार्वजनिक शिक्षाको स्तर सुधारेर मात्रै त्यो सम्भव भएको बताए । ऐन बन्दा यस विषयमा ध्यान दिनु पर्ने सुझाव दिदैं उनले सार्वजनिक शिक्षा सुधार गर्न 'गर्भनिङ् बडि' बनाउनु पर्ने सुझाव दिए । विद्यालयहरु प्रति समाजको अपनत्व वृद्धि गर्नका लागि पनि यो मोडल अपनाउनु पर्ने उनको सुझाव छ । 

'गाउँघरमा पुराना शिक्षक होलान्, पूर्व विद्यार्थी होलान्, उनीहरुको वनरसीप सहितको संरचना बनाउनु पर्छ' उनले भने ।

विद्यालय शिक्षामा जारी नाफामुलक लगानीलाई नाफा वितरण नगर्ने गरी सञ्चालन गर्न दिनु पर्ने बताउँदै उनले शिक्षामा व्यापार निषेध गर्नु पर्ने बताए । 

छलफलको विस्तृत बिवरण सहितको खबर पढ्नुहोस् : शिक्षा विधेयक माथि पाँच घण्टा लामो छलफल, विज्ञका सुझावै सुझाव 

प्रतिक्रिया