Edukhabar
विहीबार, १० माघ २०८१
खबर/फिचर

नैकपाको एक सय २५ रोपनी जग्गाबाट त्रिविले बाली मात्रै पाउने

मोही कायम रहेकोले व्यक्तिको पनि हक लाग्ने

मंगलबार, २५ मंसिर २०८१

काठमाडौं - त्रिभुवन विश्वविद्यालयलाई दाताले दान दिएको एक सय २५ रोपनी जग्गा विश्वविद्यालयले एकलौटी भोचलन गर्न नपाउने भएको छ । यसअघि संरक्षण नहुँदा व्यक्तिले भोचलन गरिरहेको जग्गामा मोही कायमै रहेकोले विश्वविद्यालयले बाली मात्रै लिन सक्ने सरकारले गठन गरेको छानविन समितिले निष्कर्ष निकालेको हो । जग्गा संरक्षण नगर्ने विश्वविद्यालयका पदाधिकारी माथि छानविन गरी कारबाही गर्न खोजविन समितिले सिफारिस गरेको छ । 
चन्द्रागिरी नगरपालिका नैकाप नयाँगाउँ भञ्ज्याङ क्षेत्रमा एक सय २५ रोपनी जग्गामा व्यक्तिले पक्की संरचना बनाएर अतिक्रमण गरेका छन् । 

बडाकाजी पुष्पराज राजभण्डारी र केशवराज राजभण्डारी सहित १२ जनाले २०२३ सालमा काठमाडौंको साविक नैकाप र नैकाप नयाँ भञ्ज्याङ गाविस वडा नम्बर १, ५ र ६ को एक सय २५ रोपनी जग्गा त्रिभुवन विश्वविद्यालयलाई दान दिएका थिए । विश्वविद्यालयले जग्गा संरक्षण गर्न नसकेकै कारण जग्गा किनबेच भएर तीन सय भन्दा बढी घर निर्माण भइसकेका छन् ।

विश्वविद्यालयको जग्गा खोजविन समितिका पदाधिकारी यो जग्गाको अवस्था बुझ्न स्थलगत अनुगमनमा गएका थिए । स्थानीयबासीले जग्गाको बारेमा खुलेर बोल्नै नचाहेको र सूचना दिने व्यक्तिलाई पनि गाउँबाटै निकाल्ने धम्की समेत दिएको एक सदस्यले बताए । ‘विश्वविद्यालयको जग्गामा पक्की भवन बनेका छन् । सरकारी लगानीमा अन्य पूर्वाधार पनि छ’ अनुगमनमा गएका ती सदस्यले भने,‘जग्गा विश्वविद्यालयको भए पनि मोही कायमै भएकोले त्रिविले बाली मात्रै लिन मिल्ने देखिन्छ ।’

विक्रम संवत २०२१ सालमा जारी भएको भूमिसुधार ऐनले हदबन्दी तोकेकाले राजभण्डारी परिवारले जग्गा सरकारलाई सुम्पेको थियो । मन्त्रिपरिषद्ले राजगुठीमा लगत कायम गर्ने, बाली त्रिविले खाने र पोत त्रिविले बुझाउने निर्णय गरेको थियो ।

त्रिविको अतिक्रण भएको जग्गाबारे छानविन र खोजबिन गर्न सरकारले जेठ दोस्रो साता पूर्व सचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा तीन सदसीय समिति गठन गरेको थियो । महेन्द्रकुमार थापा, जानकीबल्लभ अधिकारी, प्रा.डा. प्रेम सागर चापागाईँ सदस्य रहेको समितिले यसै साता खोजबिन पुरा गरेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाईसकेको । छ महिना काम गरेर समितिले त्रिविको तीन हजार सात सय २२ रोपनी जग्गा मध्ये एक हजार रोपनी जग्गा विभिन्न संघ संस्थालाई बाँडेको निष्कर्ष निकालेको छ । 

यस विषय सँग सम्बन्धित अन्य खबर पनि पढ्नुहोस् :

भट्टीदेखि पेट्रोल पम्पसम्म सञ्चालन भएको त्रिविको जग्गा खोजविन गर्न समिति

त्रिविको जग्गा बाँड्ने पदाधिकारी माथि छानविन गर्न सिफारिश, एक हजार रोपनी जग्गा बाँडचुँड भएको निष्कर्ष

२१ रोपनी जग्गा गायब हुँदा पनि बेखबर छन् त्रिविका कलेज

ल्याब्रोटरी स्कूललाई जरिवाना सहित २४ वर्षको भाडा असुल्न सुझाव, विद्यालय हटाउने विषयमा समिति मौन

 

प्रतिक्रिया