काठमाडौं - प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकमा विद्यालय शिक्षा विधेयक माथि छलफल गर्ने कार्यसूची थियो । दिउँसो दुई बजेलाई बैठक निर्धारण गरेर समितिले शुक्रबार सूचना जारी गरेको थियो । तर, निर्धासित समयमा समितिमा भएका २४ सदस्य मध्ये १० जना मात्रै उपस्थित भए पछि बैठक नै स्थगित भएको छ ।
कोरम नपुगेर बैठक स्थगित गरिएको समिति सभापति अम्मरबहादुर थापाले बताए ।
‘बैठकमा कोरम पुग्न १३ जना सांसद आवश्यक पर्नेमा १० जना मात्रै उपस्थित भएकोले आजको बैठक स्थगित गरिएको छ’ उनले भने ।
विद्यालय शिक्षा विधेयकको दफावार छलफल गर्न बोलाइएको बैठकमा अधिकाँश पुरुष सांसद अनुपस्थित थिए । पुरुष सांसदहरु नै बैठकमा आए पछि केही बेर खोजी भएको थियो । सभापति थापाले बैठक स्थगित भएको जानकारी गराउँदा महिला सांसदहरुले पुरुष सांसद नआएकै कारण स्थगित भएको बताएका थिए । समितिका अनुसार कालुराम राई, चन्द्रकान्त भण्डारी, छविलाल विश्वकर्मा, डिगबहादुर लिम्बु, देवेन्द्र पौडेल, धनराज गुरुङ, प्रभु हजारा, राम प्रकाश चौधरी बैठकमा अनुपस्थित थिए ।
२४ जना सांसद मध्ये ९ जना पुरुष सांसद छन् । बैठकमा ईश्वरी घर्ती, दिपा शर्मा, महेन्द्रकुमार राय, रेखा शर्मा, बिनिता कुमारी सिंह, सरिता भुषाल, सुमना श्रेष्ठ, संगिता मण्डल धानुक, ज्ञानु सुवेदी बस्नेत र महेन्द्र राय यादव मात्रै सहभागि थिए । यादव पनि आँखामा समस्या भएको भन्दै बैठक कक्षबाट बाहिरिएका थिए । महिला सांसदहरुमा तोसिमा कार्की, बिना जैसवाल, लिलादेवी बोखिम लिम्बु अनुपस्थित थिए । अरु महिला सांसद उर्मिला थेवे र मनोरमा शेरचन बिरामी छन् ।
प्रतिक्रिया