Edukhabar
विहीबार, २७ मंसिर २०८१
खबर/फिचर

२१ रोपनी जग्गा गायब हुँदा पनि बेखबर छन् त्रिविका कलेज

पुल्चोकमा २१ रोपनी १३ आना १ पैसा जग्गा जग्गाधनीले खोजी नगरेपछि अर्कैले प्रयोग गरिरहेको छ तर, त्रिविका कलेज आफ्नो जग्गा कहाँ कसले भोगचलन गरिरहेको छ भन्ने समेत बेखबर छन् ।

शुक्रबार, २१ मंसिर २०८१

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले आफ्नो सम्पत्तिको संरक्षणमा लापरबाही गरेको नौलो विषय होइन । २०१३ सालमा चार सय रुपैयाँ रोपनीमा मुआब्जा दिएर अधिग्रहण गरेको कीर्तिपुरको तीन हजार सात सय रोपनी जग्गा मध्ये  एक हजार रोपनी  शैक्षिक प्रयोजन भन्दा फरक विभिन्न संघ संस्थालाई बाँडचुँड गरेको सरकारले गठन गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

विश्वविद्यालयको जग्गामा धार्मिक संस्था, कृषि मन्त्रालय मातहतको कार्यालय बागवानी, बसपार्क, पेट्रोल  पम्प, खानेपानीको ट्याङ्की लगायत रहेको छ । 

विश्वविद्यालयका पदाधिकारीले आफ्नो संस्थाको सम्पत्ति संरक्षणको सट्टा एक हजार रोपनी बाँडचुँड मै सकाए । विश्वविद्यालयको आगिंक क्याम्पसलाई त झन् आफ्नो जग्गा कहाँ छ ? भन्ने समेत थाहा नभएको पाइएको छ ।  बानेश्वरको नेपाल कमर्स क्याम्पसको नाममा लालपुर्जा भएको २१ रोपनी १३ आना एक दाम जग्गाको बारेमा क्याम्पस प्रशासनलाई जानकारी समेत छैन । 

min bhawan campus

मालपोत कार्यालय ललितपुरको ढड्डामा क्याम्पसको नाममा लालपुर्जा छ । क्याम्पसको बानेश्वरमा २१ रोपनी बाहेक पुुल्चोकमा पनि २१ रोपनी जग्गा छ । क्याम्पस प्रशासनलाई यस बारेमा कुनै जानकारी छैन ।

‘पाटनमा पनि क्याम्पसको नाममा जग्गा छ भन्ने सुनेको हो तर, कहाँ छ थाहा छैन,’ क्याम्पस प्रमुख ध्रुव सिलवालले भने ‘पुरानो कर्मचारी नभएकोले नयाँलाई जानकारी छैन ।’ 

क्याम्पस प्रशासनको सम्पत्तिको लगतमा पुल्चोकको जग्गाको हिसाब समेत राखिएको छैन । 

एडुखबरले क्याम्पसको जग्गा खोजी गर्ने क्रममा पुल्चोक इञ्जिनियरिङ कलेज भित्र २१ रोपनी जग्गा फेला परेको हो । उक्त जग्गामा इञ्जिनियरिङ कलेजले कुनै भौतिक संरचना बनाएको छ कि छैन ? भन्ने खुलेको छैन । इञ्जिनियरिङ कलेजले भने कम्पाउण्ड भित्रको जग्गा सबै आफ्नै भएको दाबी गर्ने गरेको छ । 

नापी कार्यालयको ढड्डामा भने कमर्स क्याम्पसकै नाममा छ । एडुखबरले क्याम्पसको नाममा रहेको नक्सा देखाएपछि मात्रै कमर्स क्याम्पसका कर्मचारीहरू पुल्चोकमा पनि जग्गा छ र ? भन्दै अचम्म मानेका छन् । 

तिहार अघि नै नक्सा सहितको विवरण कलेज प्रशासनलाई एडुखबरले जानकारी गराउँदा पनि आफ्नो जग्गा खोजी गर्न चासो देखाएकै छैन । जग्गा भेटिएको सूचना पाएपछि कलेजले केही पहल थाल्यो कि थालेन भनेर एडुखबरले निगरानी गरिरहेको छ ।

‘कलेजले मेरो जग्गा कहाँ छ भनेर खोजी गर्न कोही पनि आएको छैन,’नापी कार्यालय ललिपुरका फाँटवाला कर्मचारीले भने । 

सरकारले गठन गरेको त्रिविको जग्गा खोजविन समितिले काठमाडौँ उपत्यकाको कलेजहरुको जग्गा प्रयोगको खोजी गरेको थियो । मिनभवन क्याम्पसले बानेश्वरको जग्गामा सटर निकालेर भाडामा लगाएको भए पनि भाडा उठाउन नसकेको, मिलेमतोमा न्यून भाडा रकम तय गरेको, भाडा नतिर्नेलाई हटाउन नसकेको निष्कर्ष निकालेको छ ।

त्यस्तै पुल्चोकमा रहेको २१ रोपनी जग्गाको खोजी नगरेको समितिले आफ्नो प्रतिवेदनमा औँल्याएको छ । समितिले कलेजको २१ रोपनी जग्गा फेला पारेको भन्दै उपलब्धिको रूपमा प्रस्तुत गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया