Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

प्याडको व्यवस्थापछि छात्रा विद्यालय आए 

शनिबार, २६ मंसिर २०७२

काठमाडौँ, २६ मङ्सिर । म्याग्दीका विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्रा नियमित कक्षा कोठामा उपस्थित हुन थालेका छन् । 

महिनावारी भएका बेला छात्रा विद्यालय आउन नसक्दा उनीहरुको पढाइ प्रभावित बनेपछि सेनेटरी प्याडको व्यवस्था गरिएको हो । विद्यालयमा सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई महिनावारी भएको अवस्थामा पनि पढ्नका लागि सजिलो भएको छ । 

विद्यालयमा सेनेटरी प्याड राखिएपछि रजस्वला हुँदा कक्षा छाड्नुपर्ने समस्या हटेको जनप्रिय उच्चमावि दरवाङकी छात्रा लक्ष्मी विकले बताइन् । “महिनामा तीन–चार दिनसम्म कक्षा छुट्दा पढाइमा समस्या थियो”, विकले भन्नुभयो, “अहिले छात्रालाई धेरै सजिलो भएको छ ।” 

प्लान नेपालको सहयोगमा सहमति संस्थाद्वारा सञ्चालित बालिका शक्ति परियोजनाले म्याग्दीका २० गाविसका सामुदायिक विद्यालयमा सेनेटेरी प्याडको व्यवस्था गरेको छ । यसबाट एक हजार दुई सयभन्दा बढी छात्रा लाभान्वित भएका छन् । 

महिनावारी भएपछि साथीले जिस्काउने, घृणा गर्ने र अप्ठ्यारो महसुस हुँदा कक्षा कोठामा बस्न नसक्ने अवस्था भएपछि विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिदिन छात्राले माग गरेका थिए । विद्यालयमा महिनावारी भएको अवस्थामा छात्राले महिला शिक्षकसँग सम्पर्क गरेर सेनेटरी प्याड लिने व्यवस्था मिलाइएको किशोरी तथा युवा महिला सञ्जालकी जिल्ला सदस्य घनित्रा पुनले बताए ।

राष्ट्रिय मावि रुमकी छात्रासमेत रहेकी पुनले सेनेटरी प्याडको व्यवस्था भएपछि छात्रा नियमित विद्यालयमा उपस्थित हुने गरेको बताए ।

 विद्यालयमा कक्षा छोड्नुपर्ने समस्या हटेपछि छात्राको पढाइ पनि राम्रो हुन थालेको छ । दरवाङ, रुम, झीँ, देवीस्थान, ओखरबोट, निस्कोट, ताकम, मुदी, दाना, बेग, चिमखोला, दग्नाम, कुइनेमङ्गले, कुहूँलगायत गाविसमा रहेका मावि, निमावि र उच्च माविमा परियोजनाले सेनेटरी प्याड उपलब्ध गराएको छ । 

यसैगरी विद्यालयमा अध्ययन गर्ने छात्रा र समुदायका महिला मिलेर युवा महिला सञ्जाल गठन गरी किशोरीमैत्री विद्यालय अभियान पनि सञ्चालन गरेका छन् । 

छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गर्नका लागि विद्यालय प्रशासन र व्यवस्थापन समितिसँग पहल गरिएको सञ्जालकी प्रमिला पुनले बताए । पुनका अनुसार परिवारमा छोरा र छोरीमाथि गरिने विभेद, विद्यालयमा हुने हिंसा र बालविवाह न्यूनीकरणका लागि सञ्जालले अभियान सञ्चालन गरेको छ । 

पढ्ने उमेरमा विवाह गर्दा स्वास्थ्य, शिक्षा र सामाजिक रुपमा महिला पछाडि परेकाले उनीहरुले बिहेवारी २० वर्ष पारी भन्ने अभियान चलाएका हुन् । 

(रासस) 

 

प्रतिक्रिया