काठमाडौँ–निजी विद्यालयका शिक्षक र विद्यार्थीलाई ‘एआई एक्सपेरियन्स’ कार्यक्रम सुरु हुने भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले डिजिटल एन्ड बियोन्डसँग सहकार्य गरेर एआईको कक्षा सञ्चालन गर्न लागेको हो ।
काठमाडौँ महानगरसंग सम्झौता गरेर सामुदायिक विद्यालयमा निःशुल्क एआईको कक्षा सञ्चालन गर्दै आएको गुगलको स्थानीय साझेदार कम्पनी बियोन्डले निजी विद्यालयका विद्यार्थी र शिक्षकलाई पनि कक्षा चलाउन लागेको हो ।
प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले निजी विद्यालयका शिक्षकलाई प्रविधिमैत्री बनाउने प्रयासको सुरुवात भएको बताए । पहिलो चरणमा दुई सय शिक्षक र १४ हजार विद्यार्थीलाई एआईको कक्षामा सहभागी गराइने उनले बताए । सात महिना भित्र काठमाडौँ उपत्यका दुई सय विद्यालय छनोट गरेर कार्यक्रम पुरा गर्ने लक्ष्य रहेको उनले बताए ।
एआईको कक्षा लिए बापत विद्यार्थी र शिक्षकले कुनै शुल्क तिर्न नपर्ने डिजिटल एन्ड बियोन्डका प्रमुख कार्यकारी अधिकृत सगुन ढुङ्गानाले बताए । कक्षा लिए बापत शिक्षकलाई उल्टै खाजा खर्च दिने योजना रहेको उनले बताए । यो कार्यक्रम बिस्तार गरेर थप तीन हजार शिक्षकलाई एआईको कक्षामा सहभागी गराइने ढुङ्गानाले बताए ।
प्रतिक्रिया