Edukhabar
बुधबार, ०९ माघ २०८१
गतिविधि

प्रधानमन्त्री कार्यालयको शिक्षा यूनिटलाई शिक्षा मन्त्रीको 'सदाशयताका साथ प्रसंशा'

शिक्षा मन्त्रालयले गर्दै आएको समान प्रकृतिको काममा प्रधानमन्त्रीसँको सम्बन्धकै आधारमा निजी कम्पनीलाई सहभागि गराउनु पर्नाको कारणका बारेमा सोधिएको प्रश्नमा शिक्षा मन्त्रीले उक्त कम्पनीको नाम भने उच्चारण नै गरिनन् ।

विहीबार, २९ कार्तिक २०८१

काठमाडौं - प्रधानमन्त्रीका आईटी विज्ञको कम्पनीको प्रवर्द्धन गर्न प्रधानमन्त्री कार्यालयमा खडा गरिएको शिक्षाको यूनिट प्रति शिक्षा मन्त्री विद्या भट्टराईले 'सदाशयताका साथ प्रसंशा' गरेकी छन् । विद्यालय तहका बालबालिकाको सिकाइका लागि शिक्षा मन्त्रालय मातहत राज्यको करोडौं लगानीमा सञ्चालित कार्यक्रमलाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओलीका आईटी विज्ञ असगर अलीको निजी कम्पनीबाट उत्पादित सामग्रीलाई सरकारलेनै प्रवर्द्धन गर्न थालेको विषयमा एडुखबरले खबर प्रकाशन गरेको थियो । 

बिहीबार शिक्षा पत्रकार समूहले गरेको कार्यक्रममा सहभागी मन्त्री भट्टराईसँग एडुखबरले यस विषयमा औपचारिक धारणा माग गर्दा उनले यस्तो प्रतिकृया दिएकी हुन् । अमेरिकी राष्ट्रपतिको उदाहरण दिदैं शिक्षा सुधारका लागि प्रधानमन्त्रीले काम गर्न खोज्दा अन्यथा लिन नहुने उनको तर्क छ । 

'प्रधानमन्त्री कार्यालयमा किन (शिक्षाको यूनिट) प्रश्न आउनु स्वभाविक हो, मैले अस्ति भर्खर ट्रम्पको पनि सुनेको थिएँ, शिक्षा कस्तो भन्ने कुरा प्रधानमन्त्रीले आफ्नो विचार राख्न पाईयो' उनले भनिन् 'शिक्षामा म केही योगदान गर्छु भनेर प्रधानमन्त्रीले गर्ने कुरालाई हामीले एप्रिसियट गर्नु पर्छ ।' 

यस्तै प्रकृतिको काम शिक्षा मन्त्रालयले गर्दै आएको तर, शिक्षाको दरबन्दी नै नभएको प्रधानमन्त्री कार्यालयमा शिक्षा यूनिट राखेर प्रधानमन्त्रीसँको सम्बन्धका आधारमा निजी कम्पनीलाई सहभागि गराउनु पर्नाको कारणका बारेमा प्रश्न सोधिएको थियो । तर, उत्तर दिने क्रममा  उनले प्रधानमन्त्रीका आईटी विज्ञ अलीको कम्पनीको बारेमा भने उच्चारण नै गरिनन् । 

'पीएम अफिसले गरेको कृरालाई हामीले भन्नु भन्दा पनि हाम्रो आफ्नो कुरालाई हामी व्यापक प्रचार गर्ने, उहाँले (प्रधानमन्त्रीले) गर्नु भएको, उहाँले दिन खोज्नु भएको योगदानलाई पनि सदाशयताका साथ प्रसंशा गरौं' 
हाँस्दै उनले भनिन् ।

राज्य कोषबाट हुँदै आएको काम र शिक्षा मन्त्रालयको आफ्नै  संयन्त्रलाई कमजोर बनाएर प्रधानमन्त्रीका आइटी विज्ञको कम्पनीले तयार पारेको सामग्रीको प्रवर्द्धन गर्नु नीतिगत भ्रष्टाचार भएको विज्ञहरुको निश्कर्ष छ । 

पढ्नुहोस् उक्त खबर : सिकाइ सुधार्ने नाममा प्रधानमन्त्रीका विज्ञको कम्पनीको प्रवर्द्धन

तर, शिक्षा मन्त्री भट्टराईले त्यसो भन्दै गर्दा शिक्षा मन्त्रालय चुप लागेर नबस्ने पनि बताईन् । श्रव्य दृष्य शाखा र युट्युवको प्रचार कम भएको बताउँदै उनले यसलाई व्यापक प्रचार प्रसार गर्ने काम मन्त्रालयले जिम्मा लिनु पर्ने पनि बताईन् । 

'मन्त्रालयसँग भएको जति पनि अनलाईनमा हामीले तयार गरेका पाठ्य सामग्री छन् त्यसको व्यापक प्रचार गर्नु पर्छ भन्ने कुरालाई हामीले अव योजनावद्ध रुपमा अघि लैजानु पर्छ' उनले भनिन्,  'एउटा अवधारणा बनाएर जानु पर्छ भनेर हामीले हिजो मात्रै छलफल गरेका छौं । पालिकालाई पनि पोर्टलका बारेमा परिपत्र गर्नु पर्यो सहकार्य गर्नु पर्यो, दोश्रो विद्यालयलाई पनि जोड्न हेड टिचरहरुलाई भन्ने कुरामा पुगेका हामी पुगेका छौं ।'

प्रतिक्रिया