Edukhabar
विहीबार, १३ मंसिर २०८१
विचार / विमर्श

तराईको विहानी कक्षामा लगातार गुञ्जिरहन्छ - 'माइ कमिन सर'

शुक्रबार, २५ मंसिर २०७२

- नारायण अधिकारी / विहानको सात बजे कक्षा सुरु भएको घण्टी बज्छ । घण्टी बजाउन रामसिकिल दाइ बिरलै सम्झनु हुन्छ । मेरो पहिलो घण्टी कक्षा दशमा अनिवार्य गणित । करिब १०–१५ जना विद्यार्थी आई पुगेका हुन्छन् । यो बर्ष नियमित तर्फ ८९ जनाले एस.एल.सि को परिक्षा फारम भरेका छन् । म जिल्ल पर्छु, यत्ति विद्यार्थीलाई पढाउने कि पर्खिने !

आँखाहरु विद्यार्थी आउने बाटोतर्फ पुर्याउँछु । डम्म हुस्सुमा बेजोडले शितलहर चल्दै छ । म शुन्य सोचमा पुग्छु । एक्कासि ढोकामा माधवी आएर सोध्छिन् – दाइ म हजुरको क्लास अब्जर्ब गरौं ?
उनको कक्षा ९ मा पहिलो घण्टी अङ्ग्रेजी हो । 'के भयो र तपाईंको क्लास ?' मैले प्रतिप्रश्न गरेँ । 'मेरोमा कोहि पनि विद्यार्थी आएका छैनन् ।' उनको आवाज बडो बिस्मयपुर्ण थियो ।
बस्नुस् न त्यसो भए

मैले 'चक्रीय ब्याज' पढाउन सुरु गरेँ ।
विद्यार्थी आउने क्रम जारी रहिरह्यो । माइ कमिन सर ?...........माइ कमिन सर ?.......
मानौं, मेरो यो घण्टी उनिहरुको स्वागतको लागि हो ।

विद्यार्थी आउन थालेको देखेर माधवी उठेर गइन् ।

निरन्तरको विद्यार्थी आउने क्रमले मेरो कक्षा अबरोधपुर्ण भैरह्यो ।
सुरुमा भुकम्प, त्यस पछि बर्षाको बिदा र लगत्तै लामो बन्दले यो बर्ष पढाई खासै राम्रो भएकै छैन । बल्ल खुलेको स्कुल, बिहानीमा मात्र खुल्छ, त्यो पनि यो शीतलहरको बेला ।
'नखाउँ भने दिन भरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार' भनेझैं भएको छ ।

आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो – ठुलो आदर्शको भाषण दिएँ । एस.एल.सि को महत्व भट्याएँ र विद्यार्थीको अल्छिपना प्रती गुनासो गरेँ, अनि चेतावनी पनि दिएँ – 'भोलि देखि घण्टी लाग्दा नआइ पुग्ने विद्यार्थीले कक्षामा प्रवेश पाउँदैन ।'

यसो उसो गरेर पहिलो घण्टी १० कक्षामा र दोस्रो घण्टी कक्षा ९ मा सकियो । तेस्रो घण्टी खाली थियो । मनमा चैन थिएन । अफिसबाट यसो बाहिर हेरें, प्राथमिक कक्षाहरु–छानो मात्र भएको टहरोमा न त कक्षा छुट्याउने पर्खाल छ, न डेस्क बेन्च, न त कालो पाटी नै ! असाध्यै कम विद्यार्थीको उपस्थिति देखिन्छ, आफैंले बोकेर आएका धोत्रो ओछ्याएर चिसो सिमेन्टमा बसेका छन्, आधा बाहुले सर्ट लगाएका, नाङ्गो खुट्टामै आएका, जाडोले लुग्लुग् कामिरहेका । त्यो दृश्य देखेर नपग्लने कुन हृदय होला र यो मानव जगतमा ?

मधेस आन्दोलन जारी छ । पहिले विद्यार्थी मलाई देखेपछी 'प्रणाम सर' भन्थे । अहिले धेरैले देख्ने बित्तिकै 'जय मधेस' सर भन्छन् । यो आन्दोलनको निष्कर्ष के हुन्छ मलाई थाहा छैन ।

तर हरेक तह र तप्कामा यसको दुरगामी प्रभाव रहि रहनेछ, यो मेरो आफ्नै बुझाई प्रतिको बिश्वास हो । आन्दोलनकै कारणले निम्त्याएको बिहानी कक्षा र यसले भोग्न बाध्य पारेको मर्महरु न कसैले बुझ्छ न त कसैले बुझाउन नै सक्छ !

चौथो घण्टी कक्षा ८ मा सकिए पछि सिधै कक्षा ६ मा गएँ, नियमित घण्टी छ भने म कहिल्यै अफिसमा जान्न । अहिले मात्र हैन, म आफैं कक्षा ११ पढ्न सुरु गर्दा आफैंले पढेको स्कुलमा केही समय पढाउँदा पनि यहि बानी थियो । सम्झिँदा यस्तो लाग्छ, मैले आफ्नो कर्तव्य प्रतिको इमान्दारीता गर्भ मै सिकेँ ।

'सर केबारी (ढोका) बन्द गर, जाडो लागिरहेछ ।'

एउटा विद्यार्थीले भने । मैले 'तिमी' भनेको सुनेर उनिहरुले मलाई 'तिमी'नै भन्न जाने । आजकल म 'तपाईं' भन्छु, उनिहरु पनि सिक्दै छन् । मैथिली मात्रै जान्ने यी केटाकेटी भेटेपछी म आफुलाई 'उत्कृष्ट' सम्झने तन्नेरी 'केही नजान्ने' भएर शुन्यमा झरेको थिएँ । आजकल अलि अलि सिक्दै छु कि जस्तो लाग्छ । एउटा ठुलो हुल अगाडि उभिएर कसैलाई केही बुझाउन नसक्दा, सबैले त्यस्तै महसुस गर्लान् वा नगर्लान् कम्तिमा मैले चाहिँ गरेँ ।
मैले ढोका बन्द गरें, उनले आफैंले खिट्की (झ्याल) बन्द गरे । अब अन्धकार...कसरी पढ्ने ?

फकाई फुलाई गरेर त्यो कक्षा पनि पढाएँ ।

म निस्केर कक्षा ७ मा जाँदै थिएँ, एउटा विद्यार्थी दौडदै आएर सोध्यो – म घर जान्छु, पेट दुखि सक्यो भोकले । उ पेट मिचिरहेको थियो । म आफैंलाई यस्तो भोकको महसुस भैरहेको थियो कि म विद्यार्थी भैदिएको भए भागिदिन्थेँ । पदीय मर्यादाको पालना गर्दा यति सुन्दर प्राकृतिक पन पनि गुमाउनु पर्दो रहेछ । मैले आफ्नै भोक देखाएर उसलाई सम्झाएँ । के को बिश्वास ले हो कुन्नि उनिहरु मैले भनेको मान्छन् ।

एउटा मा.बि.स्कुल सञ्चालन शैली हेर्दा लाग्छ, यत्तिको संग त खहरे खोलाबाट टिपेर ल्याएको गुह्य ढुङ्गाको मुर्तिले पनि चलाईदिन्छ । मैले यति अपमानजनक शब्द गहिरो सोच र विवेकपुर्ण विश्लेषणबाट मात्र प्रयोग गरिन, यसमा मेरो लगाव युक्त अनुभव पनि छ ।

यो कल्पनामा बगेको शब्द लहरी होइन । विद्यालय सञ्चालन हुने प्रशासनको ढाँचामा भएको यावत बिषयबस्तुको बारेमा म राम्रोसंग बहस गर्न तयार छु । हो म आजित भैसकेँ तर हार्न जान्ने प्राणी म हुँदै होइन । इमान्दारीता माथिको बर्बर अन्याय मेरो सङ्घर्षको मुख्य निशाना हो । म कुनै हालतमा पनि छोड्दिन ।

म बिहान ११ः३० सम्म स्कुलमै हुन्छु र दिउँसोको ३ः०० बजे फेरि स्कुल मै पुग्छु, निःशुल्क थप कक्षा पढाउन, परीक्षाको लागि तयारी गराउनु पर्ने छ । खाना र आराम भन्दा बढी मलाई कर्तव्य प्रतिको प्रेम र प्राप्ति छ । म यो प्रमाणित गर्न चाहन्छु कि – सिक्ने किताब मात्र होइन, जिन्दगी जिउने शैली पनि हो, प्राप्ति एउटा सर्टिफिकेट मात्र होइन, असल आचरण र व्यबहार पनि हो ।

मलाई थाहा छ, मेरै आँखा अगाडी अफिस कोठामै कति निर्दोष विद्यार्थीको हात र जीउमा बज्रेर भाँचिएका बलिया लाठिहरु कहिल्यै जोडिने छैनन्, न त उनिहरुको मन नै ? अनन्त पीडाले बर्बर झरेका विद्यार्थीको आँशु उठेर आउने छैन न त पिट्ने शिक्षक प्रतिको उसको श्रद्धा नै ।
धेरैलाई थाहा छैन, धेरैले देखेकै छैनन्, कि रमाइलो र प्रेमिल बुझाई र सिकाइको यहाँ एउटा छुट्टै बाटो पनि छ ।

धेरै कुराहरु मनमा खेलिरहँदा विभिन्न रिस, गाली र आवेगहरु आफ्नो आफ्नो आकृती लिएर अगाडि आउँछन्, म संग बोल्छन्, हाँस्छन् अनि फेरि म मुस्कुराउँछु ।
यति ठुलो अधिकारको लडाइँ चलिरहँदा यी मसिना बालबालिकाहरुको सानो–सानो अधिकारको पक्षमा बहस कसले गर्छ ? सुनुवाइ कसले गर्छ ? यदि हामी सार्थक र समुन्नत समाजको परिकल्पना गर्दैछौं भने, यहि समाजको अकाट्य हिस्सा यी बालबालिकाहरु किन सदैब कुण्ठित भइरहनु पर्छ ?

म सपना देखेर हिंड्छु भलै कहिँ नपुगुँ,
म सत्यता टेकेर हिंड्छु, भलै सफलता नभेटुँ !

(अधिकारी टिच फर नेपाल http://www.teachfornepal.org/ द्धारा सञ्चालित सामुदायिक शिक्षा सुधार अभियान अन्र्तगत धनुषाको सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षकका रुपमा कार्यरत छन् । संस्थाले धनुषा बाहेक ललितपुर र सिन्धुपाल्चोक जिल्लाका विभिन्न विद्यालयमा स्वयंसेवक परिचालन गरी सिकाई स्तर सुधार्ने प्रयास गरिरहेको छ । )

प्रकाशित मिति २०७२ मंसिर २५ गते

प्रतिक्रिया