Edukhabar
बुधबार, ०९ माघ २०८१
विचार / विमर्श

शैक्षिक प्रमाणपत्रको जन्ममिति, नाम र जात सच्याउन सकिन्छ कि सकिदैन ?

प्रवेशपत्र र रजिष्ट्रेशन स्लिप अनुसार नाम¸थर वा जन्ममिति कुनै पनि विवरण कुनै पनि वर्षको संशोधन गर्न सकिन्छ

शुक्रबार, २३ कार्तिक २०८१

कक्षा १० को शैक्षिक प्रमाणपत्र संशोधन सम्बन्धमा धेरै व्यक्तिहरुमा द्विविधा देखिएकोले केही जानकारीहरु यहाँ साझा गरेको छु । 

१. त्रुटी सच्याउने

विद्यार्थीले रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फाराम ठीक भरेको छ तर अन्य कुनै प्राविधिक कारणले शैक्षिक प्रमाणपत्रमा विवरण फरक भएको अवस्थामा सक्कलै प्रवेश पत्र र रजिष्ट्रेशन स्लिप अनुसार प्रमाणपत्रको विवरण संशोधन हुन्छ । तर प्रतिलिपि प्रवेशपत्रका आधारमा अभिलेश संशोधन हुँदैन । प्रवेशपत्र र रजिष्ट्रेशन स्लिप अनुसार नाम¸थर वा जन्ममिति कुनै पनि विवरण कुनै पनि वर्षको संशोधन गर्न सकिन्छ ।

प्रवेशपत्र र रजिष्ट्रेशन अभिलेख भन्दा फरक विवरण हुने गरी संशोधन आवश्यक हो भने त्यो पाँच वर्ष भित्र संशोधन गर्न सकिन्छ तर त्यसका लागि जन्मदर्ता गरेको वडाको सिफारिस¸ विद्यालयको सिफारिस र उमेर, नाम र जात सच्याउने नियमहरु २०१७ अनुसार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको संशोधन सम्बन्धी फैसला पर्चा सहित निवेदन दिनु पर्दछ ।

२. उमेर, नाम र जात सच्याउने नियमहरु २०१७ ले गरेको व्यवस्था

क. नियमित व्यवस्था

५ वर्ष भित्र नियम तीनको उपनियम एक अनुसार प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिने¸ सोही नियमको उपनियम दुई अनुसार प्रमुख जिल्ला अधिकारीले विवरण संशोधनका लागि फैसला पर्चा खडा गरिदिने र सोही अनुसार परीक्षा नियन्त्रकले शैक्षिक प्रमाणपत्र सच्याई विद्यार्थीलाई उपलब्ध गराउने प्रावधान छ (फाराम भर्दा त्रुटी भएको वा बीचमा विवरण संशोधन गराएको अवस्थामा यो कार्यान्वयन हुन्छ) ।

ख. विशेष व्यवस्था

उमेर, नाम र जात सच्याउने नियमहरु २०१७, २०८०।५।१८ गते तेस्रो पटक संशोधन भयो । संशोधनले नियम ६ को उपनियम १ संशोधन गरी ६ महिनाभित्र भन्नेमा ५ वर्ष भित्र भन्ने शब्द संशोधन गर्यो भने नियम ६ को उपनियम ३ को थप व्यवस्था गरी उपनियम २ कार्यान्वयन नहुने कुरालाई संकेत गर्यो । (नियम ६ को उपनियम (२) कार्यान्वयन सम्बन्धमा व्याख्याका लागि शिक्षा विज्ञान तथा प्रविधि मान्त्रालय मार्फत कानुन मन्त्रालयमा पठाइएकोमा हालको अवस्थामा कार्यान्वयन हुन नसक्ने व्यख्या प्राप्त भएको)

कुनै विद्यार्थीले प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानुन बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी वा एसईई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ ।

(२०८०।५।१८ पछि नागरिकता लिएको वा नागरिकतामा विवरण संशोधन गराएको भए सो नागरिकता लिएको वा विवरण संशोधन गराएको दिनदेखि एक वर्ष भित्र निवेदन दिइसक्नु पर्छ । अवधि समाप्त भए पछि प्राप्त निवेदन उपर कार्वाही हुँदैन)

तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुन अघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसईई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्ष भित्र दरखास्त दिन सक्नेछ ।

(२०८०।५।१८ पहिले जारी भएका प्रमाणपत्रका लागि निवेदन दिन सक्ने अवधि २०८०।५।१८ देखि २०८१।५।१७ सम्म - हाल अवधि समाप्त)

यो उपनियम अनुसार नाम¸थर वा नामथर संशोधन हुन सक्ने भए पनि पाँच वर्ष भन्दा पुराना शैक्षिक प्रमाणपत्रहरुको जन्ममिति भने प्रमुख जिल्ला अधिकारीको फैसला पर्चा अनुसार पनि संशोधन गर्न सकिने अवस्था छैन ।

३. माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन¸ नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि

दफा ९ नतिजा प्रकाशनमा प्राविधिक कारणबाट कुनै त्रुटी भएमा वा नतिजा स्थगित भएमा वा नतिजा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिस सहित नतिजा प्रकाशन भएको मितिले ३५ दिन भित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिनु पर्नेछ । त्यसरी निवेदन संकलन गरी इकाइहरुले परीक्षा नियन्त्रण कार्यालयमा पठाउनु पर्नेछ र परीक्षा नियन्त्रणकार्यालयले अभिलेख अनुसार आवश्यक कार्वाही गर्नुपर्नेछ भन्ने व्यवस्था छ ।

२०७६ र २०७७ सालको एसईईको नतिजा खुलाउने अवधि पहिले नै समाप्त भईसकेकोले त्यो कार्य अहिले हुँदैन । आफ्नो वा बाबु आमाको नाम¸ थर वा नामथर संशोधन हुन सक्छ ।

पौडेल राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक हुन् ।

प्रतिक्रिया