Edukhabar
शनिबार, ०६ बैशाख २०८२
गतिविधि

कार्यरत प्राविधिकलाई प्रशिक्षक बनाइने

व्यावसायिक तालिमको हकमा तीन महिना र प्राविधिक शिक्षाका कार्यक्रमको हकमा न्यूनतम ६ महिनाको पाठ्यक्रम बनाउने, शैक्षिक प्रमाणपत्रको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षाका ग्रयाजुयटलाई ऋण उपलब्ध गराउने

शुक्रबार, २३ कार्तिक २०८१

भक्तपुर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले उद्योगमा कार्यरत दक्ष प्राविधिकलाई प्रशिक्षक बनाउने योजना अघि सारेको छ । उद्योगका काम गर्दा सिकेको सीप अरु कामदार उत्पादन गर्न प्रशिक्षक बनाउन लागेको हो । सीटीइभीटीको १० औँ सभाको बैठकले भावी कार्यदिशा तय गर्ने क्रममा यो नीति स्वीकृत गरेको हो । सीटीइभीटीले प्राविधिकलाई गुणस्तर परीक्षक र प्रशिक्षकको रुपमा तयार गर्न लागेको हो । 

प्रशिक्षकको क्षमता विकासका  कार्यक्रमहरुमा उद्योग व्यवसायको अनुभव, भ्रमण तथा सिप सिक्ने अवसर दिने कार्यक्रम पनि सीटीइभीटी सभाले स्वीकृत गरेको छ । त्यस्तै प्रशिक्षकको क्षमता परीक्षण र प्रमाणिकरणको प्रारुप विकास गरी कार्यान्वयन गर्ने योजना पनि अघि सारेको छ । 

सीटीइभीटीले उद्योगसँगको लागत साझेदारीमा व्यवसायिक तालिम कार्यक्रमहरु सञ्चालन गर्ने, औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमलाई बिस्तार गर्ने, उत्पादन क्षेत्र समेतको सहभागितामा सिक्दै कमाउँदै कार्यक्रम कार्यान्वयन गर्ने कार्ययोजना बनाएको हो । 

श्रम बजारका लागि दक्ष जनशक्ति तयारीका साथै उच्च प्राविधिक तथा व्यवसायिक शिक्षाको आधारशिलाको रुपमा राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपसँग तादाम्य मिलाई कार्यान्वयन गर्ने, राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यान्वयन गर्दा साधार शिक्षासँगको पारगम्यता तथा वृति पथ, बहु प्रवेश तथा बहु बहिर्गमन, मोडयुलर पाठ्यक्रम, क्रेडिट ट्रान्सफर प्रणाली लागु गर्ने सभाले निर्णय गरेको छ । 

त्यस्तै सीटीइभीटीको पाठ्यक्रम समय अनुकुल परिमार्जन गरी व्यावसायिक तालिमको हकमा तीन महिना र प्राविधिक शिक्षाका कार्यक्रमको हकमा न्यूनतम ६ महिनाको बनाउने भावी कार्यदिशा स्वीकृत गरेको सीटीइभीटीले जनाएको छ । 
सीटीइभीटी सभाले प्राविधिक ऐन निर्माण र परिषद्को पुनर्संरचनामा सहजीकरण गर्न अन्तरक्रिया र छलफल गर्ने, गुणस्तर सुनिश्चितताको लागि शिक्षण संस्थाको स्तर निर्धारण गर्ने, प्रशिक्षकहरुको क्षमता विकास तथा प्रशिक्षण अनुमतिपत्र सम्बन्धी कानुनी व्यवस्था गर्ने नीति लिएको छ । त्यस्तै टीभेटको राष्ट्रिय प्रारुप निर्माण गर्ने, राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप कार्यान्वयन गर्ने, राष्ट्रिय गुणस्तर सुनिश्चितता प्रारुप विकास गरी कार्यान्वयन गर्ने भावी योजना पनि सभाले स्वीकृत गरेको छ । 

सीटीइभीटी सभाले शैक्षिक प्रमाणपत्रको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षाका ग्राजुएटलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने र प्राविधिक शिक्षाको १० वर्षे रणनीतिक योजना कार्यान्वयन गर्ने कार्यदिशा समेत स्वीकृत गरेको हो ।

प्रतिक्रिया