Edukhabar
मंगलबार, २० कार्तिक २०८१
गतिविधि

टङ्कप्रसाद आचार्यको पालादेखि चीनमा नेपालीलाई छात्रवृत्ति, हरेक वर्ष २० जना भन्दा बढीले पाउँछन्

चीनले २०१४ सालमा चिनियाँ साहित्य अध्ययन गर्न एक जनाबाट सुरु गरेको छात्रवृत्ति अहिले एमबिबिएस, इन्जिनियरिङ र कृषिमा स्नातक र स्नातकोत्तर गरी २३ जनालाई प्रदान गर्दै आएको छ ।

मंगलबार, २० कार्तिक २०८१
तस्विर : बिराट अनुपमको फेसबुकबाट

काठमाडौँ–टङ्कप्रसाद आचार्य प्रधानमन्त्री भएको बेलादेखि चीनले नेपाललाई छात्रवृत्ति दिएको पाइएको छ । 

सुधीर शर्माले लेखेको भिक्षु, व्यापार र विद्रोह पुस्तकमा वासुदेव शर्मा ‘तूफान’ लाई चीनले पहिलो पटक छात्रवृत्ति उपलब्ध गराएका उल्लेख छ । 

बेइजिङस्थित एसियन स्टुडेन्ट सेनिटेरियममा टीबी रोगको उपचार गराएर २०१४ सालमा नेपाल फर्के लगत्तै तूफानलाई चीनमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको थियो । पुस्तकमा भनिएको छ,‘त्यसरी नेपाली विद्यार्थीलाई चीनमा छात्रवृत्ति दिन थालिएको टङ्कप्रसाद आचार्यकै प्रधानमन्त्री कालदेखि हो ।’ 

तूफान पेकिङ युनिभर्सिटीबाट चिनियाँ भाषा–साहित्यमा एमए गर्ने सम्भवतः पहिलो नेपाली भएको लेखक शर्माको दाबी छ । तूफानलाई चीनको विज्ञको रूपमा लिइन्छ । 

तूफानभन्दा एक वर्षपछि २०१५ मा निरञ्जन भट्टराईले पेकिङ युनिभर्सिटीमै छात्रवृत्ति पाएको पुस्तकमा उल्लेख छ । बनारस हिन्दू युनिभर्सिटीमा चिनियाँ भाषा सिकेका भट्टराइले बेइजिङमा अरू दुई वर्ष चिनियाँ भाषा साहित्य पढेका थिए । 

प्रधानमन्त्री आचार्यले माओ चाउ एनलाई लेखेको पत्र बोकेर भट्टराई बेइजिङ गएका थिए । भट्टराइले चीनमा पढेपछि जनस्तरमा सम्बन्ध जोड्ने कार्य गरेको शर्माले पुस्तकमा उतारेका छन् । विश्वभाषा क्याम्पस खोल्न समेत भट्टराईको योगदान रहेको पुस्तकमा उल्लेख छ । पुस्तकको पाना नम्बर १४१ मा भनिएको छ,‘स्वदेश फर्केपछि उनले चिनियाँलगायतका विदेशी भाषा सिकाउने अन्तर्राष्ट्रिय स्कुल खोले, जसलाई २०१८ सालमा विश्वभाषा क्याम्पसमा परिणत गरियो जो अझै सञ्चालनमा छ । चीन सरकारले उनकै अनुरोधमा विश्वभाषामा चिनियाँ पढाउने शिक्षक र नेपाली पढ्ने विद्यार्थीहरू पठाइदियो ।’

चिनियाँ प्रधानमन्त्री चाउ एनलाई २०२६ सालमा बेइजिङस्थित नेपाली दूतावासको रात्रिभोजमा आउँदा कार्यवाहक राजदूत रहेका भट्टराईले विश्वभाषामै नेपाली पढेका एक चिनियाँ विद्यार्थीलाई चाउको इन्टरप्रेटरका रूपमा पाएको पुस्तकमा उल्लेख छ । 

चीनमा पढेका भट्टराई परराष्ट्र सेवामा आबद्ध भएपश्चात् बेइजिङ दूतावासमा दुई कार्यकाल काम गरेका थिए । भट्टराईको चिनियाँसँगको सम्बन्ध कस्तो थियो भन्ने २०६८ सालको घटनाले पुष्टि गर्छ । चीनको पोलिटब्युरो स्थायी समितिका तत्कालीन नौ सदस्यमध्येका चु योङखाङ नेपाल भ्रमणमा आउँदा औपचारिक कार्यक्रम छाडेर उनीसँगै आएका तीन मन्त्रीलाई लिएर ललितपुरको सानेपा स्थित भट्टराईको घरमा गएका थिए । 

२०१४ सालबाट सुरु चीनले नेपाललाई दिन सुरु गरेको छात्रवृत्ति अहिलेसम्म निरन्तर छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार स्नातक र स्नातकोत्तर गरी हरेक वर्ष चीनले कम्तीमा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा मेडिसिनमा १०, पिएचडीमा दुई, स्नातक तर्फ इन्जिनियरिङमा एक, कृषिमा एक जना छन् । त्यस्तै स्नातकोत्तरमा इन्जिनियरिङ गर्न सात, कृषिमा दुई जनाले छात्रवृत्ति पाएका थिए । ‘चिनियाँ दूतावासले हामीलाई कुन विषयका लागि कति चाहिने हो कोटा पठाएको हुन्छ । सम्बन्धित आयोग, परिषद्मा दिएको इन्ट्रान्सको मेरिट लिस्टको आधारमा विद्यार्थी छनोट गरेर मन्त्रालयमा लिस्ट पठाउँछन् त्यही विवरण हामीले छात्रवृत्ति लागि चिनियाँ दूतावासमा सिफारिस गर्छौ,’मन्त्रालयका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले भने । 

 

प्रतिक्रिया