Edukhabar
विहीबार, ०६ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्रीको प्रगति विवरणमा हुँदै नभएको काम

शिक्षा मन्त्रीको सय दिने उपलब्धिको बुँदा नम्बर १६ मा शिक्षकको विषय उल्लेख, तर अहिले सम्म उक्त काम नै भएको छैन !

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौं - आफू नियुक्त भए पछिको सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्दा शिक्षा मन्त्री विद्या भट्टराईले कामै नभएको विषयलाई पनि प्रगति विवरणमा समेटिएको फेला परेको छ । गत असार ३१ गते सोमबार पदभार ग्रहण गरेकी शिक्षा मन्त्री भट्टराईले गत बिहीबार सार्वजनिक गरेको सय दिनको ४२ बुँदे उपलब्धिमा  शिक्षकहरुको विषयगत योग्यता निर्धारण गरिएको विषय समेटिएको छ । तर अहिले सम्म उक्त काम नै भएको छैन । 

प्रगति विवरणको बुँदा नम्बर १६ मा प्राविधिक धार कक्षा (९–१२ ) मा अध्ययन गराउने शिक्षकहरुको विषयगत योग्यता निर्धारण गरिएको उल्लेख छ । जुन काम शिक्षा मन्त्रालय र मातहतको निकायबाट भएकै छैन । योग्यता निर्धारण भएको विवरणमा समेटिए पछि मन्त्रालयका विभिन्न निकायका प्रमुखहरुले खोजी गरेका थिए । तर फेला नपरे पछि उक्त विषय जानकारीमा आएको मन्त्रालय श्रोतले बताएको छ । मन्त्रीको प्रगती विवरणमा उल्लेख भए पछि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक सेवा आयोग र मन्त्रालयको विद्यालय शिक्षा, प्राविधिक शिक्षा महाशाखा प्रमुखले उक्त कामको विवरण खोजी गरेका थिए । तर, कामै नभएको पुष्टि भएको हो । 

काम नै नभएको विषय कसरी मन्त्रीको प्रगति विवरणमा समेटियो ? जिज्ञासा राख्नेहरुलाई मन्त्रालयमा विभागीय प्रमुखहरुले उल्टै सोध्ने गरेका छन् । 

‘मन्त्रीज्यूको सय दिनको प्रगतिमा योग्यता निर्धारण भएको जानकारी आयो तर, मलाई थाहा छैन’ एक सहसचिवले भने ‘यो के भएको हो बुझ्न बाँकी नै पो छ ।’ 

मन्त्रालयका प्रवक्ता लक्ष्मी भट्टराईले प्राविधिक शिक्षकको विषयत योग्यता निर्धारणको लागि केन्द्रका उपमहानिर्देशको संयोजकत्वमा कार्यदल गठन गरिएको बताए । 

‘प्रतिवेदन आउन बाँकी छ,’उनले भने । 

के हो प्राविधिक शिक्षकको समस्या ? 

सामुदायिक विद्यालयका अन्य तहमा कार्यरत शिक्षकको योग्यताको विषय कानुनमा प्रष्ट छ । तर,  कक्षा ९ देखि १२ सम्म र पछिल्लो समय थपिएको प्राविधिक धार पढाउने शिक्षकको योग्यता स्पष्ट छैन । माध्यमिक तहमा प्राविधिक पढाउने पाँच प्रकारका शिक्षक छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको परिपत्रका आधारमा मात्रै उनीहरुको योग्यता तय गरिएको छ । 

प्राविधिक तर्फ फिजिक्स, केमेस्ट्री, बाइलोजी पढाउने प्राविधिक शिक्षक छन् । त्यस्तै ११ र १२ को प्राविधिक विषय पढाउने प्राशिक्षक छन् । ११ र १२ पढाउन स्नातकोत्तर पढेको हुनु पर्ने भए पनि प्राविधिक जनशक्ति नपाउने भए पछि स्नातक गरेर एक वर्ष काम गरेको अनुभव हुनु पर्ने प्रावधान राखिएको छ । स्नातक मात्रै गरेकालाई नौ र १० कक्षाको प्राविधिक विषय पढाउने व्यवस्था छ ।  उनीहरुलाई पनि प्राविधिक प्रशिक्षकको दर्जा दिइएको छ । नौ र १० पढाउन काम गरेको अनुभव नभए पनि हुन्छ । त्यस्तै प्रशिक्षकलाई सघाउन सीटीइभीटीबाट तीन वर्षे डिप्लोमा गरेका सहायक प्रशिक्षक छन् । त्यस्तै सीटीइभीटी बाटै १८ महिनाको टीएसएलसी गरेकालाई प्रशिक्षण सहायक पदमा नियुक्ति गरिएको छ ।  

शिक्षकको माग 

प्राविधिक विषय पढाउने शिक्षकहरुको संगठनले अनुवभलाई समेत आधार मान्ने गरी योग्यता तोक्नु पर्ने तर्क गरेको छ । 

‘प्राविधिक शिक्षकको योग्यता कति हुने भन्ने कानुनी व्यवस्था छैन । ११ र १२ पढाउने शिक्षकको स्नातकोत्तर राख्दा सबै ठाउँमा शिक्षक नपाउन सक्छ । अनुवभलाई प्राथमिकता दिनुपर्छ,’ प्राविधिक शिक्षक एशोसियनका अध्यक्ष केदारनाथ दाहालले भने ‘काम गरेको अनुभव नभएसम्म उसले कक्षामा पढाउन सक्दैन । फिल्ड अनुभव भएको शिक्षकले पढाउँदा पाठ्यक्रमले खाजेको कुरा विद्यार्थीले पाउन सक्छ । जस्तै बिल्डिङ कन्सट्रक्सन पढाउने शिक्षकले भवन बनाएकै छैन । साइटको अनुभव छैन भने जतिसुकै राम्रो पढाउँछु भन्दा पनि सक्दैन । पढाईको अनुभव त छदैछ तर, साइटको ज्ञान पनि हुनैपर्छ ।’  

यी शिक्षकहरुलाई शिक्षक सेवा आयोगले अध्यापन लाइसेन्स भने दिइसकेको छ । स्थायीको प्रक्रिया शुन्य छ ।  उनीहरुको योग्यता के हुने भनेर कानुनी आधार नभए पछि मन्त्रालयले छलफल अघि बढाएको हो । यही छलफल पछि कार्यदल बनेको विषयलाई मन्त्रीले सय दिने प्रगतिमा सत प्रतिशत मानेर समेटेकी हुन् । 

प्रतिक्रिया