Edukhabar
विहीबार, १५ कार्तिक २०८१
गतिविधि

विज्ञान विषयका विद्यार्थी लक्षित अनलाइन पत्रिका

कुनै पनि विषयलाई व्यापक रूपमा बुझ्न पाठकको मातृभाषामा अध्ययन सामग्री उपलब्ध हुनु अत्यावश्यक ।

सोमबार, १२ कार्तिक २०८१

काठमाडौ - विज्ञान विषयका विद्यार्थीलाई लक्षित गर्दै नेपाली र अंग्रेजी दुबै भाषामा केन्द्रित रहेर सम्सारा सोसियल (https://samsara.social) अनलाइन पत्रिका सञ्चालनमा आएको छ । विज्ञान शिक्षाको प्रवर्धनलाई सीमित पार्ने मुख्य कारकहरू मध्ये भाषा पनि एक भएको ठहर गर्दै उक्त अनलाईन पत्रिका शुरु गरेको सञ्चालक विश्व किरण गिरीले बताए ।

नेपाली भाषामा सामान्य विज्ञानका विषयवस्तुको सीमित उपलब्धता महशुस गरे पछि यो कामको खाँचो देखेको उनले बताए । नेपाली भाषीहरूलाई लक्षित गर्ने र नेपाली सामाजिक सन्दर्भलाई सम्बोधन गर्ने कुनै विज्ञानका अध्ययन सामाग्री सुलभ रूपमा उपलब्ध नभएकोले विषय केन्द्रित पत्रिका सञ्चालन गरेको उनको भनाई छ । 

उच्च शिक्षाको लागि सन् २०११ मा अमेरिका गएका उनले सन् २०२० बाट एकल रूपमा काम शुरु गरेका थिए । पछिल्लो समय नेपालमा ८ जनाको पूर्णकालिन टीम बनाएर काम भैरहको प्रधान सम्पादक उपदेश भट्टले बताए । मूलतः अंग्रेजीमा प्रकाशित सामाग्रीलाई नेपालीमा पनि प्रकाशित गर्दै संस्थाले दुबै भाषामा अडियो भिडियो सामग्री बनाउने गरेको छ ।

कुनै पनि विषयलाई व्यापक रूपमा बुझ्न पाठकको मातृभाषामा अध्ययन सामग्री उपलब्ध हुनु अत्यावश्यक रहेछ, भन्ने बोध भएकोले यो काम गरेको गिरीले बताए । 

'नेपालमा एउटा धारणा छ कि बोर्डिङ स्कुलमा अँग्रेजी पढ्नेहरूले सजिलैसँग सबै कुरा बुझ्छन् र विज्ञान पनि उत्तिकै राम्रोसँग बुझेका हुन्छन् तर त्यो सत्य रहेनछ' अमेरिकाको द युर्निर्भसिटी अफ नर्थ क्यारोलिना एट ग्रीन्सबोरोबाट जीव विज्ञानमा विद्यावारिधी गरेका गिरीले भने 'कुनै पनि समाजको दैनिक संवादको भाषामा नयाँ र जटिल विषयवस्तु पढ्न, सुन्न, र छलफल गर्न अवसर पाएनौं भने, हाम्रो त्यो विषयको बारेमा रहेको ज्ञानमा धेरै त्रुटिहरू उत्पन्न हुने रहेछन् ।'

नेपालमा वन विज्ञानमा स्नातकसम्मको अध्ययन पश्चात अमेरिका पुगेका उनले आफ्नो अध्ययनको क्रममा जीव विज्ञानको क्षेत्रमा अनुसन्धान गर्दै 'लाइफ हिष्ट्रि इभोलुसन' अर्थात् 'जीवन इतिहास विकास' मा अध्ययन तथा अनुसन्धान गरेका छन् । इभोलुसन विषयमा गरेको अध्ययन र योगदानको कारण गिरी 'सोसाइटी फर स्टडी अफ इभोलुसन'  (एस.एस.ई) अमेरिकाको सदस्य समेत छन् । 

प्रतिक्रिया