Edukhabar
बुधबार, ०७ कार्तिक २०८१
गतिविधि

जनकलाई कक्षा थप, निजीको दायरा खुम्चियो

कक्षा पाँचसम्म  पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको निजी प्रकाशनहरूको दायरा हरेक वर्ष खुम्च्याइदै छ भने जनक शिक्षा सामाग्री केन्द्रको बढाउँदै लगिएको छ ।

मंगलबार, ०६ कार्तिक २०८१
जनक शिक्षा सामाग्री केन्द्रले अघिल्लो वर्ष छपाई गरेर बिक्रि नभएपछि गोदाममा रहेको कक्षा तीनको पाठ्यपुस्तक ।

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी प्रकाशनलाई दिँदै आएको पुस्तक छपाईको दायरा खुम्चाउँदै ल्याएको छ ।  अघिल्लो वर्ष कक्षा चार सम्मको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको निजी प्रकाशनले यस वर्ष तीन कक्षाको मात्रै पुस्तक छपाई गर्न पाउने भएको छ । 

मन्त्रालयका अनुसार निजी प्रकाशनले एक, दुई र चार कक्षाको मात्रै पाठ्यपुस्तक छपाई गर्न पाउने निर्णय भएको हो । कक्षा पाँचसम्म  पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको निजी प्रकाशनहरूको दायरा हरेक वर्ष खुम्च्याउँदै लगिएको छ भने जनक शिक्षा सामाग्री केन्द्रको बढाउँदै लगिएको छ । 

शैक्षिक सत्रको सुरुमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेपछि सरकारले निजी प्रकाशनलाई छपाईको जिम्मेवारी दिँदै आएको थियो । गत वर्ष जनकले कक्षा तीनको पुस्तक छपाई थालेको थियो । उक्त पुस्तक बिक्री हुन सकेको थिएन । यस वर्ष त्यही पुस्तक ‘स्टक’ देखाएर केन्द्रले मन्त्रालयसँग तीन कक्षाको पनि पुस्तक छपाई आफै गर्ने प्रस्ताव गरेको हो । निजी प्रकाशनलाई एक, दुई र चार कक्षाको जिम्मेवारी दिएको भए पनि जनक शिक्षाले एक देखि १२ कक्षासम्म नै छपाई गर्न भने पाउँछ । निजी प्रकाशनले भने सरकारले ताकेका कक्षाको मात्रै छपाई गरेर बिक्री वितरण गर्नु पर्ने हुन्छ । 

मन्त्रालयले आउँदो शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पुर्‍याउन छपाई कसले गर्ने भन्ने बेलैमा निर्णय गरेको हो । अघिल्लो वर्ष पुसमा मात्रै निजी र जनकले कुन कक्षाको पाठ्यपुस्तक छपाई गर्ने भन्ने निर्णय भएको थियो । यस वर्ष भने दसैँअघि नै निर्णय भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले बताए ।

‘बेलैमा निर्णय भए पछि कसले कति छाप्ने हो भने ढुक्क भएर काम गर्न पाउँछन्,’उनले भने,‘निजी प्रकाशनको पनि क–कसले छपाई गर्ने भन्ने हो दर्खास्तको लागि सूचना जारी भइसकेको छ । निजी प्रेस पनि चाडै टुङ्ग्याउँछौ ।’ 

 

प्रतिक्रिया