Edukhabar
बुधबार, ०७ कार्तिक २०८१
गतिविधि

तेश्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, निजी क्षेत्रलाई सार्वजनिक शिक्षाको चिन्ता !

सामुदायिक विद्यालयका ५० भन्दा धेरै प्रधानाध्यापकहरुलाई सहभागी गराउने योजना

सोमबार, ०५ कार्तिक २०८१

काठमाडौं - निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनले तेश्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । आउँदो मंसिर १४ र १५ गते गर्ने सम्मेलनमा सार्वजनिक शिक्षा सुधारको विषयलाई पनि समेटिएको छ । सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका महासचिव आरबी कटवालले जारी गरेको विज्ञप्तिमा पनि सार्वजनिक शिक्षाको विषय उल्लेख गरिएको छ । 

'विशेष रुपमा, सामुदायिक विद्यालयका शिक्षकहरुलाई समेत सहभागी गराईने छ, जसले नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन योगदान पुर्याउने छ' विज्ञप्तिमा भनिएको छ । 

सम्मेलनका बारेमा थप जानकारी दिदैं अध्यक्ष डिके ढुङ्गानाले आफूहरुले निजी क्षेत्रको मात्रै नभई समग्र शिक्षा उन्नयनको चिन्ता गरेको दावी गरे । 

'सामुदायिक शिक्षाको स्तर उन्नती गर्न सरकारले बजेट छुट्याएन, त्यसैले शिक्षा क्षेत्रमा निजी क्षेत्रलाई सरकारले आह्वान गर्यो' उनले भने 'तर निजी क्षेत्रलाई घेरा भित्र राखिएको छ । निजी क्षेत्रलाई हतोत्साहि बनाएको छ ।'

पूँजी निर्माण गर्नेहरुलाई गलत हुन् भन्ने भाष्य बनाईएको भन्दै उनले आफूहरुले नीति निर्माताहरुलाई बुझाउन चाहिरहेको बताए । 

'शिक्षाको निजी क्षेत्रलाई नियन्त्रित गर्ने हो की राज्यले सहजीकरण गर्ने हो भन्ने बारेमा हामी सम्मेलनमा छलफल गर्ने छौं' उनले भने 'नेपालको निजी शिक्षा कता जाने भन्ने विषयमा हामी छलफल गर्ने छौं ।' 

शिक्षा क्षेत्रमा शैक्षिक व्यक्तिकै नेतृत्व हुनु पर्ने बताउँदै उनले सम्मेलनमा गत बर्ष सामुदायिक विद्यालयका ३५ जना प्रधानाध्यापकलाई सहभागी गराएकोमा यस बर्ष ५० भन्दा धेरैलाई सहभागी गराउने योजना रहेको बताए । शिक्षाको विश्वब्यापी दृष्टिकोण बुझाउन सम्मेलनमा काठमाडौं र ललितपुर महानगरलाई पनि सहभागी गराउने बारेमा छलफल भईरहेको उनले बताए । 

विद्यालयको स्तर उन्नती, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास र शिक्षक विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सम्मेलनमा छलफल हुने महासचिव कटवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

'विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण र शैक्षिक नेतृत्वको सुदृढिकरणमा महत्वपूर्ण सुझावहरु प्रस्तुत गरिने छन्' विज्ञप्तिमा भनिएको छ, 'अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तब्य बनाउनु पनि सम्मेलनको उद्देश्य हुने छ ।' 

सम्मेलनमा फिनल्याण्ड र बेलायत जस्ता शिक्षामा अग्रणी देशहरुबाट आएका वक्ताहरुले आफ्ना अनुभव र शैक्षिक मोडल सुनाउने जनाईएको छ । शिक्षा मन्त्रालयको अनुमोदनमा हुने उक्त सम्मेलन ब्रिटिश काउन्सिलले सहजीकरण गर्ने प्याब्सनले जानकारी दिएको छ । भुटान, पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत र भियतनामबाट सहभागिताको सुनिश्चित भईसकेको बताईएको छ । १२ भन्दा धेरै सेसनमा सञ्चालन हुने सम्मेलनमा शैक्षिक छलफलका साथै नीतिगत बहस, विद्यालय सुधारका लागि प्रभावकारी उपायहरुको खोजी गरिने बताईएको छ । सम्मेलनमा सहभागिताका लागि कात्तिक २५ गते भित्र अनलाईन आवेदन गर्नु पर्ने प्याव्सनका अध्यक्ष ढुङ्गानाले जानकारी दिए । 

प्रतिक्रिया