Edukhabar
बुधबार, ३० असोज २०८१
गतिविधि

३९ पालिकाका शिक्षकले दसैँमा तलब र चाडपर्व भत्ता पाएनन्

शिक्षा नियमावली २०५९ को नियम १००, १०१ मा शिक्षकले प्रत्येक महिना तलब , भत्ता पाउने व्यवस्था भए पनि मधेस प्रदेशका ३३, वाग्मतीमा दुई, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा एक पालिकाले दसैंमा समेत शिक्षकलाई तलब भत्ता दिएका छैनन् ।

शनिबार, २६ असोज २०८१

काठमाडौँ–सरकारले यस वर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब दिने उद्घोष गरे पनि ३९  पालिकाका शिक्षकले दसैँमा समेत तलब र चाडपर्व भत्ता पाएका छैनन् ।  

संगठनका अनुसार चाडपर्वमा पनि तलब निकासा नदिनेमा मधेस प्रदेशका ३३ वटा पालिका छन् । वाग्मतीमा दुई, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा एक पालिकाले शिक्षकलाई तलब भत्ता दिएका छैनन् ।

शिक्षा नियमावली २०५९ को नियम १००, १०१ मा शिक्षकले आफ्नो पदमा बहाल गरेको मितिदेखि प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउने व्यवस्था छ  । यही व्यवस्था कार्यान्वयन गर्न सरकारले यस वर्षको नीति तथा कार्यक्रममा शिक्षकलाई मासिक तलब भत्ता खुवाउने घोषणा गरेको थियो । संघीय सरकारले उपलब्ध गराइसकेको तलब भत्ता समेत स्थानीय तहले निकासा दिन नसकेको हो । 

विद्यालय तहको शिक्षक तलब भत्ता संघीय सरकारले सशर्त अनुदान उपलब्ध गराएको हुन्छ । ‘संघीय सरकारबाट उपलब्ध सशर्त अनुदान अनुसार स्थानीय तहहरूले समयमा नै तलब भत्ता वितरण गर्नुपर्नेमा दसैँ, तिहार, छठ र नेपाल सम्वत लगायतका चाडपर्वमा समेत शिक्षकहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता निकासा नगरिँदा आम शिक्षक कर्मचारीहरू समयमा नै तलब भत्ता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुने वातावरण सिर्जना भएका छन्,’ नेपाल राष्ट्रिय शिक्षक संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यस असामान्य परिस्थितिले संगठन राष्ट्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

संगठनका अनुसार सप्तरीको राजविराज, तिरहुत, कञ्चनपुर, छिन्नमस्ता, विष्णुपुर, अग्निसार कृष्ण सावर, रुपनी, हनुमान नगर कंकालनी, राजगढ, बोदे बर्साइनले दसैँमा तलब भत्ता निकासा नदिएको हो । 

त्यस्तै सिराहाको कल्याणपुर, धनुषाको जनकपुर उमनपा, कमला, क्षिरेश्वर, सबैला, नगराईन नपा, लक्षमनिया, धनौजी, बटेश्वर, जनकनन्दनी गापा, रौतहटको बृन्दावन, माधवनारायण, गुजरा, फतुवा बिजयपुर, बौधिनी, पर्साको बहुदरमाई नपा, विन्दवासनी गापा, पकहामैनपुर गापा, धोबिनी गापा,  महोत्तरीको बल्वा नपा, सम्सी नपा, सोन्मा नपा, एकडाडा गापा, रामेछापको सुनपती गापा, काभ्रेपलान्चोकको धुलिखेल नगरपालिकाले चाडपर्वमा पनि तलब निकासा नदिएको संगठनले जनाएको छ ।

त्यस्तै सल्यानको बनोगाड कुपिण्डे नगरपालिका, कालिकोटको शुभकालिका गापा, अछामको पञ्चदेल विनायक, दैलेखको भैरवी गाउँपालिकाले तलब भत्ता खुवाउन नसकेको हो ।  

 

 

 

प्रतिक्रिया