Edukhabar
विहीबार, २४ असोज २०८१
खबर/फिचर

शिक्षक किताबखानाको सेवा चुस्त पार्न सूचना प्रणाली व्यवस्थित बनाउन माग

सत्तारुढ दलका कर्मचारी संगठनले शिक्षा सुधार गर्न दिएको सात सुझाव

मंगलबार, २२ असोज २०८१

काठमाडौँ–एमाले निकट निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा मन्त्री विद्या भट्टराईलाई शिक्षामा सुधार गर्न सात वटा सुझाव दिएको छ  । 

कर्मचारी संगठनका अध्यक्ष शिवराज पोखरेलले मन्त्री भट्टराईलाई लिखित रूपमा सुझाव दिएका हुन् । संघीय शिक्षा ऐन जारी गर्न मन्त्रालय नेतृत्वको पहिलो प्राथमिकता हुनु पर्ने सुझाव दिइएको छ । 

मन्त्रालयले २०८० भदौ २७ संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकको संशोधनकर्तासँग छलफल मात्रै सकिएको छ । दफावार छलफल तिहार पछि हुने बताइएको छ । 

दोस्रो सुझावमा उच्च शिक्षा, प्राविधिक शिक्षा ऐन ल्याउन पहल गर्नु पर्ने उल्लेख छ । मन्त्रालयले उच्च शिक्षा विधेयकको मस्यौदा सुझावको लागि सार्वजनिक गरेको थियो । सर्वसाधारण र सरोकारवालाले दिएको सुझावको आधारमा मन्त्रालयले विधेयक तयार गरेर संसद्मा दर्ता गर्न सकेको छैन । विश्वविद्यालय अनुदान आयोगले प्रा.डा. उपेन्द्र कोइरालाको संयोजकत्वमा छुट्टै कार्यदल बनाएर विधेयकको मस्यौदामा सुझाव प्रतिवेदन समेत मन्त्रालयमा बुझाइसकेको छ । 

त्यस्तै प्राविधिक शिक्षा विधेयकको मस्यौदा समेत तयार भइसकेको छ । यो विधेयक भने सार्वजनिक भएको छैन । विधेयकको मस्यौदा सार्वजनिक हुँदा सरोकारवालाले हरेक दफामा सुझाव दिन सक्थ्यो । उच्च शिक्षा विधेयकमा सार्वजनिक गरेर सुझाव मागे जस्तै प्राविधिक शिक्षा विधेयक टुङ्ग्याउन सहज हुन्थ्यो । 

संगठनले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्र सुधार गर्न सुझाव दिएको छ । प्राविधिक शिक्षा र व्यावसायिक तालिमको क्षेत्राधिकार सीटीइभीटीलाई दिएको भए पनि निजी संस्था सम्बन्धनमा केन्द्रित रहेको आरोप खेप्दै आएको छ । छोटो अवधिको तालिम पनि दाताको सहयोगमा विभिन्न परियोजनाबाट सञ्चालन हुँदै आएको छ । यसलाई व्यवस्थित गर्न मन्त्रालयले हस्तक्षेप नै गर्नु पर्ने अवस्था रहेको संगठनको बुझाई छ । संगठनले कक्षा १०, १२, विश्वविद्यालयको परीक्षा प्रणाली सुधार गर्न सुझाव दिएको छ । त्यस्तै एनओसी, प्रमाणीकरण शाखाको सेवा प्रवाह प्रणालीका लागि संरचना  तथा प्रक्रियामा सुधार गर्नु पर्ने, शिक्षक निवृत्तिभरण व्यवस्थापन र प्रमाणपत्र प्रमाणीकरण गर्ने  व्यवस्थामा आइटीको प्रयोग गरी छिटो र छरितो बनाउनु पर्ने संगठनको माग छ । 

संगठनले शिक्षक सेवा निवृत्तिभरण व्यवस्थित गर्ने माग गरे पनि अवकाश पाएका शिक्षकको पेन्सन पट्टा बनाउन होस् वा अन्य जुनसुकै काममा पनि किताबखानामा घुस खुवाउनु पर्ने शिक्षकहरूको गुनासो छ । किताबखानाका सेवा लिन आर्थिक लेनदेन विना गाह्रो भएको शिक्षकहरूको गुनासो छ । केही महिना अघि कर्मचारीलाई एक शिक्षकले ५० हजार दिएको आरोप छ । पीडितले कर्मचारीको नामै तोकेर मन्त्रालयमा गुनासो दिएको भए पनि कर्मचारीलाई कारबाही गर्न नसकेको आरोप छ ।

संगठनले शिक्षा सेवाका कर्मचारीको वृत्ति विकासको पाटो प्राय ठप्पै भएकोले अन्य सेवा समूह समान बनाउनु पर्ने माग राखेको छ । शिक्षा सेवाबाट समायोजन भै गएका कर्मचारीहरू अन्य सेवाका तल्लो तहको कर्मचारी मातहतमा बस्नु पर्ने र कार्यसम्पादन मूल्याङ्कन पनि उनीहरूबाटै हुने व्यवस्थाको सुधार हुनु पर्ने सुझाव संगठनले मन्त्री भट्टराईलाई दिएका छन् । 

 

प्रतिक्रिया