Edukhabar
सोमबार, २१ असोज २०८१
शिक्षामा गत साता

बाढीको चपेटामा विद्यार्थी !

बाढीपहिरोबाट शैक्षिक क्षेत्रमा भएको क्षति, विद्यालयका शिक्षकहरूलाई मासिक रूपमा तलब दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ताकेता, एसईईको मौका परीक्षामा उत्तीर्ण विद्यार्थीको पढाइ सुरु गर्न कठिनाइ भएका समाचारलाई गत साता सञ्चार माध्यमले प्राथमिकता दिए ।

सोमबार, २१ असोज २०८१

काठमाडौं - अविरल वर्षा पछिको बाढीपहिरोले एक सय १५ विद्यालयमा क्षति पुगेको समाचार छ । विद्यालयका कक्षा कोठा, शौचालय, खानेपानी, खेलमैदान लगायत पूर्वाधारमा क्षति पुगेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी नारायण पोखरेललाई उद्धृत गरी कान्तिपुरमा समाचार आएको छ  । समाचार अनुसार काभ्रेको रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिकाका विद्यालयमा बढी क्षति पुगेको छ । त्यस्तै बाढीपहिरोका कारण देशभर १७ जना विद्यार्थीको मृत्यु भएको र १२ जिल्लाका १० हजारभन्दा बढी विद्यार्थी प्रभावित बनेको समाचारमा उल्लेख छ । 

त्यस्तै सर्लाहीमा बाढीले विद्यालय र वस्ती डुबानमा परेपछि  बालबालिकाको पढाइमा बाधा पुगेको समाचार छ । विपन्न परिवारका बालबालिकाको घरमा भएका स्कुले पोशाक, पाठ्यपुस्तक बगाउँदा स्कुल जान नपाइने हो कि भन्ने विद्यार्थीको पीडा समाचारमा समेटिएको छ । सर्लाहीको रामनगर गाउँपालिका र बलरा नगरपालिकाका दुई दर्जन बढी विद्यालयमा पानी पसेर क्षति गरेको समाचारमा उल्लेख छ । बाढीको पानीले कक्षाकोठा र विद्यालय परिसर डुबाउँदा केही समय विद्यालय सञ्चालन हुन नसक्ने अवस्था रहेको पनि समाचारमा जनाइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा भएको क्षतिको विवरण टिपाउन सूचना अधिकारी र प्रवक्ताको सम्पर्क नम्बर सार्वजनिक गरेको छ । मन्त्रालयले प्राप्त विवरण सार्वजनिक पनि गर्ने गरेको छ  । तर, आफ्नो संयन्त्र परिचालन गरेर क्षतिको यकिन विवरण संकलन गर्न नसक्दा पुननिर्माणको लागि योजना बनाउन झन् ढिलाई हुने देखिएको छ । गृह मन्त्रालयसंग समन्वय गरेर भएपनि क्षतिको विवरण यकिन गरी क्षति पुगेका विद्यालयमा तत्काल शैक्षिक गतिविधि नियमित बनाउन शिक्षा मन्त्रालय अग्रसर हुनुपर्ने देखिन्छ । बाढीले असर पारेका विद्यालयका विद्यार्थीको सिकाइमा परेको क्षती न्युन बनाउन मन्त्रालयले तत्काल योजना बनाइ लागू गर्न आवश्यक देखिन्छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न देशभरका सबै पालिकाहरुलाई ताकेता गरेको समाचार छ । सात सय ५३ वटै स्थानीय तहहरूलाई संघीय सरकारले पठाएको शिक्षकको तलब विद्यालयलाई निकासा दिन र विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलबभत्ता भुक्तानी हुने व्यवस्था मिलाउन सूचना जारी  गरेको समाचारमा उल्लेख छ ।

कक्षा १० को अन्तिममा हुने विद्यालय शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा (ग्रेड वृद्धि) मा उत्तीर्ण परीक्षार्थीको पढाइ सुरु गर्न समस्या देखिएको गोरखापत्रमा समाचार छ ।  असार तेस्रो साता सार्वजनिक भएको एसईईको नियमित नतिजामा उत्तीर्ण भएका विद्यार्थी साउनमा नै भर्ना भइ २५ प्रतिशत भन्दा बढी कोर्स पढिसेकेका भन्दै समाचारमा ग्रेड वृद्धिबाट उत्तीर्ण भएका विद्यार्थीका लागि भने बल्ल कक्षा ११ मा भर्नाको प्रक्रिया सुरु भएकोले दुवैको पढाइमा समायोजनको समस्या हुने उल्लेख छ । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक विद्यालय सुधार योजना (एसआइपी) कार्यान्वयनमा निकै कमजोर रहेको समाचार छ । ती विद्यालयले सरोकारवाला सबै पक्षको सहभागितामा आफ्नो यथार्थ अवस्था ख्याल नगरी तथा कानुनी प्रकृया पुर्याउनको लागि मात्र हचुवाको भरमा योजना बनाउँदा ती योजनाको कार्यान्वयन कमजोर रहेको पाइएको समाचारमा उल्लेख छ । 

मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक कम्पनीहरूसँग छलफल गरी नवीकरण प्रक्रियालाई छिटो टुङ्याउने जनाउँदै ती कम्पनीहरुलाई शैक्षिक गतिविधि र आर्थिक हरहिसाब पारदर्शी बनाउन निर्देशन गरेको समाचार छ । मन्त्रालयले परामर्श कम्पनीहरुको नियमनलाई नियमित बनाउने तयारी गरेको पनि समाचारमा उल्लेख छ । 

मन्त्रालयले उपसचिव देखि सुब्बा सरहका दुई सय १८ कर्मचारीको सरुवा गरेको अर्को समाचार छ । लामो समय देखि मन्त्रालयमा नै रहेका कर्मचारी पनि यसपटक सरुवा हुनेमा परेका छन् ।  

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदका लागि १३ जनाको आवेदन परेको समाचार छ । रजिष्ट्रार नियुक्तिको लागि विश्वविद्यालयले गत भदौ ३० गते खुला दरखास्त आह्वान गरेको थियो ।

प्रेमबहादुर थापाले नमुना विद्यालय समीक्षाको आधार भनेर गोरखापत्रमा एक लेख लेखेका छन् ।  नमुना विद्यालयले प्राज्ञिक पक्षसँगै व्यक्तिको चौतर्फी विकासमा विशेष जोड दिए/नदिएको समीक्षा गर्नु पर्ने लेखमा उल्लेख छ । नमुना विद्यालयमा सूचना तथा सञ्चार प्रविधिका लागि उपयुक्त भौतिक संरचना, वैकल्पिक ऊर्जाको व्यवस्था, इण्टरनेट सञ्जालको पहुँच, भर्चुअल कक्षा कोठा, शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग र पूर्णकालीन कम्प्युटर शिक्षक तथा प्राविधिक भए/नभएको हेर्नु पर्ने उनले लेखमा उल्लेख छ । उनको लेखमा नमुना विद्यालयको लागि प्रविधिलाई जोड दिइएको छ तर शिक्षण विधि, विद्यार्थीकोे सिकाइलाई वेवास्ता गरिएको छ ।

साताभरीका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी वस्तुपरक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभि र नेपाल टेलिभिजनलाई समेटिएको छ । यस पटक असोज १२ देखि १८ गते सम्मका विषयवस्तु समेटिएका छन् – सम्पादक ।

माथि प्रयोग गरिएको विद्यालयको फोटो : शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेबाट प्राप्त । 

गत साताका शिक्षा समीक्षा पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् : शिक्षामा गत साता 

प्रतिक्रिया