Edukhabar
सोमबार, २१ असोज २०८१
गतिविधि

विद्यालय शिक्षा विधेयकको दफावार छलफल तिहारपछि

प्रदेश स्तरमा सुझाव संकलन गरेर दफावार छलफल सुरु गर्ने कि सिधै दफावार प्रवेश गर्ने भन्ने प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्योलमा छ ।

सोमबार, २१ असोज २०८१

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकको छलफल तिहार पछि हुने बताएकी छिन् । अघिल्लो वर्ष भदौमा संसद्मा दर्ता भएको विधेयक एक वर्षमा संशोधनकर्तासँग छलफल सकिएको छ । 

सरकारले ०८० भदौ २७ मा संसद्मा दर्ता गरेको विधेयकमा एक सय ५४ जना सांसदले संशोधन हालेका थिए । विधेयक माथि संशोधन हाल्ने मध्ये ४० जना सांसद अनुपस्थित भए पछि प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक छलफल टुङ्ग्याएको हो । छलफलमा सहभागी सांसदहरूले सरकार र शिक्षक महासंघ बिच भएको सम्झौता अनुसार नै शिक्षा ऐन बनाउनु पर्ने बताएका छन् । दफावार छलफल टुङ्गो नलगाएसम्म संशोधनकर्तासँगको छलफलको खासै अर्थ हुँदैन । 

विधेयकमा धेरै संशोधन भएकोले छलफलमा समय लागेको मन्त्री भट्टराईले बताएकी हुन् । दसैँ तिहारको बिचमा विधेयकको छलफल कसरी अघि बढाउने भन्ने छलफल गरेर तिहारपछि निष्कर्षमा लैजाने गरी अघि बढ्न लागेको उनले बताएकी हुन् । ‘संशोधन धेरै भएकोले अलमल जस्तो भयो । अब समिति र मन्त्रालय एउटा निष्कर्षमा पुगेका छौ । संशोधनकर्तासँगको छलफल सकिएको छ,’ एमाले निकट निजामती कर्मचारी संगठन शिक्षा मन्त्रालयको विभागीय कार्य समितिले आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री भट्टराईले भनिन,‘अब विधेयक कसरी अघि बढाउने भन्ने बाटो पहिल्याएका छौ । समितिले देखाएको सहज वातावरणले समिति र मन्त्रालय बिच विश्वासको वातावरण बनेको छ ।’ 

विधेयक माथि संशोधन हाल्ने संशोधनकर्तासँगको अन्तिम छलफल असोज ४ सकिएको हो । प्रदेश स्तरमा सुझाव संकलन गरेर दफावार छलफल सुरु गर्ने कि सिधै दफावार प्रवेश गर्ने भन्ने प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्योलमा रहेको छ । मन्त्री भट्टराईले निजामती विधेयक र शिक्षा विधेयक पारित गरेपछि सरकारप्रति हुने गुनासो हल हुने बताइन । 

उच्च शिक्षा विधेयक र प्राविधिक शिक्षा सम्बन्धी विधेयक भने व्यापक छलफल गरेर मात्रै अघि बढाउने उनले बताइन । विधेयक अघि बढाउँदा सडक आन्दोलन गर्ने भन्दा पनि सबैले स्वीकार गर्ने गरी संसद्मा लैजाने उनले बताइन । ‘उच्च शिक्षाको बारेमा काठमाडौँ विश्वविद्यालय, त्रिवि, मदन भण्डारी विश्वविद्यालय बिच मत भिन्नता छन् । मत ऐक्यता भएपछि मात्रै यो विधेयक अघि बढाउँछौ,’मन्त्री भट्टराईले भनिन् । 

शिक्षाका कर्मचारी सरुवामा 'त्याग'

कर्मचारी सरुवामा विधि बसाल्न त्याग गरेर योगदान दिएको भन्दै शिक्षा मन्त्री भट्टराईले पार्टी निकट कर्मचारीलाई धन्यबाद् दिएकी छिन् । 

कर्मचारी सरुवामा विधि बसाल्न आफ्नो पार्टी निकटका कर्मचारीले सहयोग गरेको भन्दै उनले प्रशंसा गरेकी हुन् । ‘सरुवामा तपाईँहरूले त्याग गर्नु भयो । विधि बसाल्न सुझाव दिनु भयो । यहाँहरूले सिस्टम बनाउन भूमिका खेल्नु भएको । तपाईँहरूले जुन योगदान दिनु भयो सम्झनेछु । राम्रो कामको सुरुवात आफैबाट पर्नुपर्छ,’उनले भनिन् । 

मन्त्रालयले एकसाता अघि २१८ कर्मचारीको सरुवा गरेको थियो । १५ वर्ष भन्दा एउटै कार्यालयमा रहेका कर्मचारीलाई पनि मन्त्रालयले अन्यत्र सरुवा गरेको छ । मन्त्रीले सरुवालाई विधि बसाल्न प्रयास गरेको दाबी गरे पनि केही कर्मचारीले भने शिक्षा मन्त्रालयले आफ्नो क्षेत्राधिकार मिचेर सरुवा गरेको भन्दै विरोध गरेका छन् । सरुवा चित्त नबुझाउने कर्मचारीले मन्त्री र निजी सचिवको नातेदार, सत्ता निकटका कर्मचारीलाई १८ वर्षसम्म एउटै कार्यालयमा रहँदा पनि सरुवा नगरेको आरोप लगाएका छन् । ती कर्मचारीले सरुवा गर्दा अन्तर मन्त्रालयका कर्मचारी गरेर विधि भत्काएको भन्दै मन्त्रालय नेतृत्वको विरोध गरेका छन् । असन्तुष्ट एक कर्मचारीले भने,‘अन्तर मन्त्रालयको सरुवा सामान्य प्रशासन मन्त्रालयबाट मात्र गर्ने गरी निजामती सेवा ऐनमा व्यवस्था भएता पनि शिक्षा मन्त्रालयले अधिकार क्षेत्रभन्दा बाहिर गएको छ । रक्षा मन्त्रालयको सरुवा स्थानीय तहमा गरिएको छ, शिक्षा मन्त्रालयका कर्मचारीको सरुवा सूचना तथा सञ्चार मन्त्रालयमा गरिएको छ भने, बन तथा वातावरण मन्त्रालयका कर्मचारीको सरुवा शिक्षा मन्त्रालयमा गरिएको छ ।’ 

सरुवामा यसरी असन्तुष्टि जनाउने कर्मचारी भए पनि मन्त्री भट्टराईले भने विधि बसाल्न आफूले गरेको प्रयास सफल भएको बताइकी हुन् । 

 

 

 

 

प्रतिक्रिया