Edukhabar
सोमबार, २१ असोज २०८१
गतिविधि

१८ विद्यार्थीको मृत्यु, २४ वटा विद्यालय भवन पूर्ण रुपमा क्षति

बाढी पहिरोमा परेका ५० जना शिक्षक र विद्यार्थीको उद्धार भएको मन्त्रालयले जनाएको छ ।

आइतबार, २० असोज २०८१

काठमाडौँ–एकसाता अघि आएको बाढी र पहिरोले १८ जना विद्यार्थीको मृत्यु भएको शिक्षा मन्त्रालयले जनाएको छ । 

जिल्लाबाट संकलन गरिएको विवरण अनुसार बाढी र पहिरोले विद्यालयका २४ वटा भवन पूर्ण रूपमा क्षति भएको सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बताए । बाढीले सबैभन्दा बढी क्षति काभ्रेमा परेको छ ।  

मन्त्रालयका अनुसार मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाको वात्सल्यदेवी माध्यमिक विद्यालयका ६ जना, ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गोठभन्याङ माविका एक जना, काभ्रेको बनेपा नगरपालिकाको आशापुरेश्वर आधारभूत विद्यालय एक, तिमाल गाउँपालिकाको कुशेश्वर माविका एक, सर्वोद्वार माविमा अध्ययनरत  दुई जना विद्यार्थीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

school 1

त्यस्तै रोशी गाउँपालिकाको ज्वालादेवी आधारभूत विद्यालयका दुई जना, पनौती नगरपालिकाको श्रीराम माविका एक, बुटवलको कालिका माविको दुई जना, दोलखा भीमेश्वर नगरपालिकाको अल्पाइन माविका एक, भक्तपुर सूर्यविनायक नगरपालिकाको ज्योति माविका एक जना विद्यार्थीको बाढी र पहिरोमा परेर ज्यान गुमाएको विवरण प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी पोखरेलले बताए । 

मन्त्रालयका अनुसार ललितपुरको ज्ञान ज्योति आवि, गोदावरीको जन विकास मावि, बुद्ध मावि बाडे गाउँ, गणेश आवि, हिमाली आवि, गोदावरी आवासीय, नागदह आविको भवनमा क्षति भएको छ । त्यस्तै काभ्रेपलान्चोकको नवज्योति आवि, कालिकादेवि, सिमभञ्ज्याङ, पञ्चकन्या मावि, भुमेस्थान मावि, फुल्चोकी, बाल कल्याण, ग्रामोदय आवि, भालेश्वर माविको भवनमा क्षति भएको मन्त्रालयले जनाएको छ । त्यस्तै काभ्रेको कौशिक वैदिक गुरुकुल, कालीदेवी आविको एक/एक भवनमा पूर्ण क्षति भएको छ । 

बाढीले सुर्खेतको भगवती माविको दुई, चितवनको मालपुर माविको एक, तनहुँको कालिका देवी आवि, चन्द्रज्योति माविको एउटा भवनमा क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आठ कोठे भवन दुई वटामा पूर्ण क्षति भएको छ । यस मध्ये पहिरोले पुरिएको १३ वटा रहेको छ । बाढी पहिरोमा परेका मध्ये ५० जना शिक्षक र विद्यार्थीको उद्धार भएको मन्त्रालयले तथ्याङ्क संकलन गरेको छ । 

प्रतिक्रिया