Edukhabar
सोमबार, २१ असोज २०८१
खबर/फिचर

आफ्नै अस्पताल नभएकालाई नर्सिङ कार्यक्रम सञ्चालन अनुमति

नर्सिङ कार्यक्रम सञ्चालन गर्न आफ्नै एक सय शैय्याको अस्पताल हुनु पर्ने नियम छ ।

आइतबार, १३ असोज २०८१

काठमाडौँ–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले आफ्नै एक सय शैय्याको अस्पताल नभएको तीन वटा संस्थालाई नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ । 

परिषद्को असोज ७ मा भएको २०३ औ बैठकले यस वर्षदेखि कक्षा चलाउने गरी  निर्मल लामा बहुप्रविधिक शिक्षालय, बर्दिबास महोत्तरी, सहिद कृष्ण सेन इच्छुक वहुप्राविधिक शिक्षालय घोराही, दाङ र कर्णाली प्राविधिक शिक्षालय, जुम्लालाई नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो । यी तीन वटै संस्था परिषद्को आंगिक शिक्षालय हुन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसख्या मन्त्रालयबिच समन्वय गरी परिषद् अन्तर्गत देशभरका आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम तथा स्वास्थ्य सम्बन्धी अन्य कार्यक्रमहरू जिल्ला, संघीय र प्रादेशिक अस्पतालसँग समन्वय गरी सञ्चालन गर्ने निर्णय गरेको हो । 

निजी शिक्षण संस्थाको भने आफ्नै एक सय शय्याको अस्पताल हुनु पर्ने नियम छ । परिषद्को आंगिकको हकमा भने सरकारी अस्पताल देखाएर पनि नर्सिङ कार्यक्रम पढाउन सकिने निर्णय गरेको हो । 

‘द्विपक्षीय सम्झौता भएका १०० शैय्याका सरकारी अस्पतालसँग समन्वय गरी प्रमाणपत्र तहका नर्सिङ कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगसँग समन्वय गरी परिषद्का शिक्षालयहरूमा चालू शैक्षिक सत्र २०८१/०८२ देखि कार्यक्रम सञ्चालन गर्ने,’निर्णयमा भनिएको छ । 

सीटीइभीटीको उपाध्यक्षको अधिकार कटौती 

परिषद् बैठकले यसअघि उपाध्यक्ष माथि प्रत्यायोजित अधिकार कटौती गरेको छ । शिक्षामन्त्री विद्या भट्टराई अध्यक्ष हुने परिषद् बैठकले ठाउँसारी, कार्यक्रम हस्तान्तर, ठाउँसारी, स्वामित्व हस्तान्तरण र मनसाय दिने अधिकार कटौती गरेको हो । परिषद् ऐन, २०४५ को दफा १२ मा ‘परिषद्ले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार आवश्यकताअनुसार परिषद्को समिति, उपसमिति, कार्य टोली वा कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । यही दफामा टेकेर परिषद्को ०७७ माघ १५ गतेको १८४ औँ बैठकको निर्णय नम्बर १०८८ बाट परिषद्का उपाध्यक्षलाई अधिकार प्रत्यायोजन भएको थियो । यसअघि प्रत्यायोजन भएको अधिकार परिषद्मा रहने निर्णय गरेको हो । सीटीइभीटीको उपाध्यक्ष छनोटको चरणमा रहेको छ । 

निर्णयमा भनिएको छ,‘हालसम्म भए गरेका काम कारबाहीका लागि आभार ज्ञापन गरी अब उप्रान्त सो प्रत्यायोजित अधिकार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५ को दफा १२ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्मा नै निहित रहने ।’

प्रतिक्रिया